काठमाडौं । आज बिहीबारदेखि मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा नपाइने भएको छ । चुनावको अन्तिम नतिजा घोषणा नभएसम्म मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा नपाइने भएको हो । उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले मतदानको मितिभन्दा सात दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
मतदानको दिन फागुन २१ गते अत्यावश्यक सेवाका सवारीसाधनहरू, कूटनीतिक नियोगका सवारीसाधनहरू र निर्वाचनको दिनमा प्रयोग गर्ने गरी पास प्राप्त गरेका सवारीसाधन बाहेक अन्य सार्वजनिक तथा निजी सवारी साधनहरू सञ्चालनमा गर्न पाइने छैन । फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते साँझ मतदान सम्पन्न नभएसम्म यो नियम पालना गर्नुपर्ने छ ।
एम्बुलेन्स, दमकल, शव वाहन, रक्तसञ्चार सेवाका साधन, सुरक्षा निकायका सवारीसाधन, विद्युत् मर्मत, खानेपानी तथा ढल मर्मत, दूरसञ्चार सेवा मर्मतका लागि प्रयोग हुने सवारी साधन सञ्चालनमा भने कुनै रोक लगाइएको छैन ।