काठमाडौं । साहिबजादा फरहानले उत्कृष्ट शतक प्रहार गरे पनि पाकिस्तान टि ट्वान्टी विश्वकपको सुपर एट चरणबाट बाहिरिएको छ पाकिस्तानले श्रीलंकालाई ५ रनले हराए पनि नेट रन–रेटका आधारमा सेमिफाइनलमा स्थान बनाउन सकेन।
फरहानले ६० बलमा ९ चौका र ५ छक्का प्रहार गर्दै १ सय रन बनाए। उनको इनिङ्सको मद्दतले पाकिस्तानले ८ विकेटको क्षतिमा २ सय १२ रन बनायो । जुन टि ट्वान्टी विश्वकपमा पाकिस्तानको अहिलेसम्मकै उच्च योगफल हो। सेमिफाइनल पुग्न पाकिस्तानले श्रीलंकालाई १ सय ४७ रनभन्दा कममा रोक्नुपर्ने अवस्था थियो । त्यो अवस्थामा समूह–२ मा न्युजिल्याण्डको भन्दा पाकिस्तानको राम्रो नेट रन रेट हुने थियो । तर श्रीलंकाले १५.५ ओभरमा ५ विकेट गुमाएर १ सय ४७ रन पार गरेपछि न्युजिल्याण्ड नकआउट चरणमा पुग्यो।
योसँगै न्यूजिल्याण्डको नेट रन रेट +१.३९० रह्यो र टोलीले इङ्ल्यान्ड भन्दापछि दोस्रो स्थान सुरक्षित गर्यो। पाकिस्तानको नेट रन रेट भने –०.१२३ रह्यो। श्रीलंकाले विश्वकप इतिहासकै दोस्रो ठूलो लक्ष्य पछ्याउने प्रयास गरे पनि अन्ततः लक्ष्यभन्दा पछाडि रह्यो। कप्तान दासुन शनाकाले ३१ बलमा अविजित ७६ रन बनाउँदै अन्तिम ओभरमा १ चौका र ३ छक्का प्रहार गरे। अन्तिम ओभरमा २८ रन आवश्यक हुँदा उनले आक्रामक ब्याटिङ गरे। श्रीलंकाले ६ विकेट गुमाउँदै २ सय ७ रन मात्र बनाउन सक्यो।
त्यसअघि फरहान र फखर जमानबीच पहिलो विकेटका लागि १ सय ७६ रनको साझेदारी हुँदा पाकिस्तानले ठूलो स्कोर बनाउने आशा देखाएको थियो। इंग्ल्याण्डविरुद्ध मध्यक्रममा खेलेपछि पुनः ओपनरको रूपमा फर्किएका फखरले ४२ बलमा ८४ रन बनाए। उनले ९ चौका र ४ छक्का प्रहार गर्दै श्रीलंकाका बलरहरूलाई दबाबमा राखे। तर फखर आउट भएपछि पाकिस्तानले लय कायम राख्न सकेन। दिलशान मदुशंकाले ३ विकेट लिएर रनको गति रोके। अन्तिम दुई ओभरमा थपिएको १४ रन पर्याप्त हुन सकेन।