तनहुँका १ हजार ५०० जनाको निःशुल्क आँखा जाँच

दमौली । तनहुँको भानु नगरपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा परीक्षण शिविरमा एक हजार पाँच सय जनाको परीक्षण गरिएको छ । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित सो शिविरमा मोतियाविन्दुको समस्या देखिएका ११० जनाको शल्यक्रिया समेत गरिएको छ ।

आइतबारदेखि सुरु भई बुधबार सकिएको शिविर अन्तर्गत भानु–१३, भानु –९, भानु–१ र भानु –३ मा आँखा शिविर सञ्चालन गरिएको थियो । आर्थिक अभावका कारण उपचारबाट वञ्चित स्थानीयवासीका लागि शिविरले सहयोग गरेको बताइएको छ ।

नेत्र विशेषज्ञ डा मारिया गौतम सहितको टोलीले आँखाको शल्यक्रिया गरेका थिए । भानु–२ नारेश्वटारस्थित भानु सामुदायिक स्वास्थ्य केन्द्रमा समस्या भएकाको शल्यक्रिया गरिएको स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिए । उनले भने, “आँखा जस्तो संवेदनशील अङ्गको उपचार समयमै हुनसकेन भने मानिसको जीवनस्तरमा प्रत्यक्ष असर पर्छ ।

भानु नगरपालिकाले यही कुरालाई ध्यानमा राख्दै प्रत्येक वर्ष निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको छ । यसवर्ष पनि उल्लेख्य सङ्ख्यामा बिरामीहरूले सेवा लिनुभएको छ ।” आँखा परीक्षणका लागि सदरमुकाम दमौली, पोखरा वा चितवन जानुपर्ने बाध्यताको अन्त्यका लागि नगरपालिकाले स्थानीयस्तरमै शिविर गरी शल्यक्रिया सेवा प्रदान गरेको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए ।

“स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार हो । त्यसैले टाढाटाढा धाउनुपर्ने अवस्थाको अन्त्य गर्न हामीले आफ्नै नगरभित्र विशेषज्ञ सेवा ल्याएका हौँ,” उहाँले भन्नुभयो, “यसले विशेषगरी आर्थिक रूपमा कमजोर तथा ज्येष्ठ नागरिकलाई प्रत्यक्ष लाभ पुगेको छ ।”

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार