वाणिज्य बैंकको नाफा : खुद नाफामा नबिल बैंक नै अगाडि, ग्लोबल र कुमारी पछि पछि, कुन बैंककाे नाफा कति ?

काठमाडौं । चालु आवको फागुन मसान्तसम्ममा वाणिज्य बैंकको नाफा ४३ अर्ब ८८ करोड ४९ लाख रुपैयाँ पुगेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य वृद्धि हो ।

चालु आर्थिक वर्षको फागुनसम्ममा वाणिज्य बैंकहरुको नाफा गत आर्थिक वर्षको सोही अवधिको भन्दा ०.८९ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको फागुनसम्म बैंकहरूले ४३ अर्ब ४९ करोड ६५ लाख रुपैयाँ नाफा कमाएका थिए । नाफा आर्जनको दौडमा नबिल बैंकले आफ्नो विरासत कायम राख्दै सबैलाई पछाडि पारेको छ । नबिलले यो अवधिमा कुल ६ अर्ब ७ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाउँदै आफूलाई नाफाका हिसाबले सबै भन्दा अघि राख्न सफल भएको छ ।  गत वर्ष यो बैंकको नाफा ४ अर्ब ७८ करोड रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकको नाफा २६.८७ प्रतिशतले वृद्धि भएको हो । नाफामा नबिललाई पछ्याइरहेको ग्लोबल आइएमई बैंकले यो अवधिमा ४ अर्ब ६२ करोड २६ लाख रुपैयाँ नाफा कमाए पनि उसको नाफामा गत वर्षको तुलनामा २.२६ प्रतिशतको गिरावट देखिएको छ ।

चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा कुमारी बैंकले आफ्नो नाफामा २७४.६५ प्रतिशतको बढोत्तरी गर्दै ३ अर्ब ६३ करोड ८ लाख रुपैयाँ पुर्याएको छ, जबकि गत वर्षको यसै अवधिमा यसको नाफा मात्र ९६ करोड ९१ लाख रुपैयाँ थियो । यो अवधिमा सिद्धार्थ बैंकले ६८.३१ प्रतिशत र कृषि विकास बैंकले ६५.५६ प्रतिशतले नाफा बढाएर आफ्नो वित्तीय अवस्थामा बलियो सुधार गरेका छन्। राष्ट्रिय बाणिज्य बैंक र सानिमा बैंकको नाफामा पनि क्रमशः ३५.६८ र २३.२१ प्रतिशतको सम्मानजनक वृद्धि देखिएको छ ।

कुल २० बैंकमध्ये झन्डै आधा अर्थात् ९ वटा बैंकको नाफामा गिरावट आएको छ। विशेषगरी लक्ष्मी सनराइज बैंकको नाफामा ६७.३६ प्रतिशतको ठूलो गिरावट आएको छ भने कुनै समय आक्रामक व्यवसाय गर्ने एनआइसी एशिया बैंकको नाफा पनि ६२.४१ प्रतिशतले खुम्चिएर ३० करोड ८३ लाखमा झरेको छ । नेपाल बैंकको नाफामा पनि ६०.२८ प्रतिशतको पहिरो गएको छ। त्यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, स्ट्याण्डर्ड चार्टर्ड, प्रभु, हिमालयन र सिटिजन्स बैंकको नाफामा पनि दोहोरो अंकको गिरावट देखिएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार