काठमाडौं । दैलेख प्रादेशिक महोत्वस वैशाख ७ गतेदेखि १९ गतेसम्म आयोजना हुने भएको छ । ‘कृषि, उद्यम, पर्यटन र व्यापार समृद्ध दैलेखको आधार’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको महात्वसबको विषयमा आज काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिइएको हो ।
कर्णाली प्रदेशको पहाडी जिल्ला दैलेखका स्थानीय उत्पादन र त्यहाँका पर्यटकीय क्षेत्रका विषयमा जानकारी दिने उद्देश्यका साथ आयोजना गर्न लागिएको महोत्सबमा १८० स्टलहरु रहने नेपाल उद्योग वाणिज्य संघ दैलेखका पूर्व अध्यक्ष एम मल्लले जानकारी दिए । १८० मध्ये ३० वटा स्थानीय उत्पादनका मात्रै स्टलहरु रहने र करिब ५ लाख दर्शकले अबलोकन गर्ने लक्ष्य लिइएको उनको भनाइ छ । दैलेख जिल्लाका विभिन्न कला संस्कृति झल्कने झाँकी तथा नाचहरु र स्थानीय उत्पादन र उत्पाद गर्न सक्ने सम्भावनाका क्षेत्रहरु पहिचान गरेर लगानी भित्र्याउने लक्ष्य पनि लिइएको मल्लको भनाइ छ ।
संघका पूर्व अध्यक्ष शान्ति प्रसाद शर्माले दैलेखको सम्पदा, संस्कृति, परम्परा, पर्यटन, इतिहासका विषयमा जानकारी दिइने बताए । कृषि, जलविद्युत, पर्यटनका हिसावले महत्वपूर्ण जिल्लाका रुपमा रहेको दैलेखको विकासका लागि सबैको साहयोग आवश्यक पर्ने उनको भनाइ छ । जिल्लामा सुन, तामा लगायतका खानी भएकाले त्यसयको उत्खनन गर्न सकिएको खण्डमा जिल्लाको मुहार फेरिने उनको भनाइ छ । अर्को तर्फ पेट्रोलियम खानी भएको पुष्टि भइसकेको अवस्थामा त्यसबाट इन्धन निकालेर प्रयोग गर्ने तर्फ उचित ध्यान दिन पनि उनले सरकारलाई आग्रह गरे ।
जिल्लाका उद्योगी व्यवसायीले मात्रै लगानी गरेर जिल्लाको विकास सम्भव नहुने भएकाले बाह्य लगानी भित्र्याउनका लागि पनि यो महोत्सव महत्वपूर्ण हुने बताए । जिल्लाको पेट्रोेलियम खानी उत्खननका विषयमा अघिल्लो सरकासँग कुरा हुँदा फागुन चैत बाट नै सुरु गर्ने भनिएको भए पनि अहिले अलपत्र परेको भन्दै यसमा पनि सरकारले ध्यान दिनु पर्ने उनको भनाइ छ । यो महोत्वसले दैलेखमा उत्पादन भएका सामानहरुको प्रचार प्रसारमा टेवा पुर्याउने उनको विश्वास छ ।
दैलेखी सेवा समाजका अध्यक्ष प्रताब शाहीले जीवन, भुगोल, भाषा, संस्कृति, भेषभुषाका कारण दैलेख विना देश नै अधुरो हुने धारणा व्यक्त गरे । जिल्लाको विकास गर्नका लागि सबैको हातेमालो आवश्यक रहेको उनको भनाइ छ । जिल्लाको आर्थिक विषयमा उद्योग वाणिज्य संघ बाहेक अरुलाई धेरै जानकारी नहुने भएकाले जिल्लाको आर्थिक विषयमा संघले नेतृत्व गर्नु पर्ने समाजका सचिव सूर्य बस्नेतले बताए । पेट्रोलियम पदार्थ उत्खनन् गर्न सकियो भने मात्रै पनि दैलेख जिल्ला मात्रै नभएर देशले नै काचुली फेर्ने उनले बताए । कोटेश्वर बहुमुखी क्याम्पसका प्रोफेसर विनोद अधिकारीले महोत्सव सफलताको शुभकामना व्यक्त गर्दै पर्यटन, कला संस्कृतिको जर्गेनामा लाग्नु पर्ने धारणा व्यक्त गरे ।
फोटो पत्रकार तथा मनधरी फाउण्डेसनका अध्यक्ष भरतबन्दु थापाले भाषाको उत्पति भएको क्षेत्र राज्यले नै पछि पारेको भन्दै आफ्नो तर्फबाट महोत्वस सफल पार्नका लागि गर्ने सहयोग गर्न तयार रहेको बताए । त्यस्तै राउटे उत्थान प्रतिष्ठानका अध्यक्ष सत्यदेवी खड्काले दैलेख सम्भावना बोकेको जिल्ला भएकाले सबै मिलेर जिल्लाको विकास र समृद्धिमा लाग्नु पर्ने धारणा व्यक्त गरिन् ।