विषादीरहित तरकारी उत्पादन गर्दै बुलिङ्टारका किसान

नवलपरासी। नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को बुलिङ्टार गाउँपालिकाका किसान विषादीरहित तरकारी उत्पादनमा जुटेका छन् । तरकारी तथा अन्नबालीमा विषादीबाट हुने क्षतिका बारेमा जानकारी पाएपश्चात् यहाँका किसान खेतबारीमा रासायनिक विषादीलाई निरुत्साहित गर्दै प्राङ्गारिक खेतीतर्फ अग्रसर भएका हुन् ।

बुलिङ्टार गाउँपालिका-१ की पहलसिं सारु मगरले स्थानीय सामग्रीबाट झोलमल तयार पारेर अन्नबालीमा प्रयोग गर्न थालेको बताउनुभयो । “हामीले झोल मल-१, झोल मल-२ र झोल मल-३ तयार पारेका छौँ”, उनले भने, “तीनवटै झोल मलको प्रयोग फरकफरक काममा लागि हुन्छ ।” मल-१ माटो सुधारका लागि, मल-२ कीराको सङ्क्रमणबाट जोगिन तथा मल-३ कीरा भगाउनका लागि प्रयोग गर्ने गरिएको मगरले जानकारी दिए ।

झोल मल बनाउँदा स्थानीयस्तरमा उत्पादन हुने असुरो, खुर्सानी, लसुन, अदुवा, निमपत्ता, गाईको पिसाबलगायत सामग्री प्रयोग हुने उनको भनाइ छ । यहाँका किसानलाई प्राङ्गारिक खेती गर्न प्रेरित गर्ने उद्देश्यले गाउँपालिकाले विभिन्न सङ्घसंस्थाको सहयोगमा अभिमुखीकरण तालिम सञ्चालन गरेको थियो ।

बुलिङ्टार गाउँपालिकाको कृषि शाखाका प्राविधिक सहायक विष्णु ढकालले पालिकाभित्रका कृषक पछिल्लो समय प्राङ्गारिक खेतीतर्फ अग्रसर भएका बताए । “यहाँका किसानले पहिला अत्यधिक विषादी र रासायनिक मल प्रयोग गरेर अन्नबाली उब्जनी गर्ने गर्नुहुन्थ्यो”, उनले भने, “हिजोआज कृषकमा सचेतना बढेको छ, विषादीले पुर्‍याउने हानिबारे जानकारी पाएपछि उहाँहरू प्राङ्गारिक खेतीतर्फ आकर्षित हुनुभएको हो ।”

पालिकाले कृषकलाई प्राङ्गारिक खेतीतर्फ आकर्षित गर्न विभिन्न समयमा तालिम दिने तथा विभिन्न स्थानीय प्रजातिका तरकारी बालीका बीउ उपलब्ध गराउन विभिन्न संस्थासँग सहकार्य गरिदिने काम गरेको ढकालले बताए ।

यहाँका किसानले उत्पादन गर्ने गरेको तरकारी स्थानीय बजारसँगै कावासोती, गैँडाकोट र नारायणघाटसम्म पुग्ने गरेको छ । स्थानीय खुमसरा आले मगरले आफूहरुले काँक्रो, टमाटर, भिण्डी, करेला, बोडी, फर्सी, काउली, बन्दालगायत तरकारी उत्पादन गरेर बिक्रीवितरण गर्दै आएको बताए । “विषादी प्रयोग नगरी उत्पादन गरिएको तरकारीको माग धेरै छ”, उनले भने, “हामीले उत्पादन गरेको तरकारी बेच्नका लागि बजारको समस्या हुने गरेको छैन ।”

बुलिङ्टारका कृषकले उत्पादन गरेको तरकारी घरबाटै बिक्री हुँदै आएको मगरले बताए । “हामीले थोरै थोरै उत्पादन गरेमा यहाँका होटलमा लैजान्छन्, उत्पादन धेरै भयो भने कावासोती तथा नारायणघाटबाट व्यापारी गाडी लिएर आउँछन्”, उनले भने, “तरकारीले उचित बजार भाउ पाउँदा हामीलाई राम्रो फाइदा हुने गरेको छ ।” तरकारी बिक्रीबाट हुने आम्दानीले दैनिक घरखर्ची चलाउनुका साथै केटाकेटीको शिक्षामा खर्च गर्दै केही रकम सहकारीमा बचत गर्न पुग्ने गरेको उनको भनाइ छ ।

आफूले नमुना प्लट निर्माण गरेर तरकारीखेती गर्दै आएको मगरले जानकारी दिए । “हामीले भक्तपुरे काँक्रो लगाएका छौँ, घरबाटै प्रतिकिलोको रु ५० मा बिक्री हुने गरेको छ”, उनले भने । प्राङ्गारिक खेती गर्न थालेपछि आफूहरूलाई रासायनिक मलको अभावमा पनि समस्या नहुने भन्दै उहाँले विषादीबाट हुने स्वास्थ्यसम्बन्धी समस्याको चिन्ता पनि हराएको बताए ।

विषादीरहित तरकारीखेती सुरु गरेपछि सुरक्षित पर्यावरणसँगै स्वास्थ्य राम्रो भएको भन्दै स्थानीय कृषक खुसी भएकाश न् । स्थानीय कृषक टकबहादुर खण्डलुकले पहिला हाइब्रिड खेती गर्ने गरेकामा अहिले स्थानीय प्रजातिका तरकारी तथा अन्नबाली खेती सुरु गरेको बताए ।

“अहिले हामी पर्यावरणीय कृषि गरिरहेका छौँ, यसबाट पनि हुँदो रहेछ भन्ने कुरा प्रमाणित हुँदै गएको छ”, उनले भने, “हामी आफँैले विषादीरहित तरकारी उत्पादन गर्न थालेपछि बजारबाट ल्याएको तरकारी हाम्रो भान्छामा पाक्न छोडेको छ ।”

स्थानीय कृषकले विषादीरहित तरकारी उत्पादन सुरु गरेपछि बजारबाट ल्याइने विषादीयुक्त तरकारी प्रयोग गर्न नपरेको भन्दै उनले भने, “हामीले पर्यावरणीय हिसाबले लगाएको तरकारी बाली नै हामीले खाएका छौँ, त्यसकारणले अहिले हामी स्वस्थ पनि छौँ, धेरै खुसी पनि छौँ ।”

केही वर्ष अगाडिसम्म नवलपुरको विकट पहाडी क्षेत्रका रुपमा रहेको बुलिङ्टार गाउँपालिकालाई कालीगण्डकी करिडोरले छोएपछि अहिले यहाँ उत्पादन भएका कृषिजन्य सामग्री सहजै बजार केन्द्रसम्म पुग्ने गरेका छन् । यहाँबाट सङ्कलन गरिएका कृषिउपज एकघण्टा भित्रमा नारायणघाट सहितका बजार केन्द्रमा पुर्‍याइने गरेको कृषकहरू बताउँछन् ।

फेसबुक प्रतिक्रिया