पाल्युल लिङ गुम्बामा बौद्धदर्शनको उच्चतम छलफल अभ्यास प्रतियोगिता सम्पन्न

काठमाडौं — लुनार पात्रोअनुसार अग्नि अश्व वर्षको गृष्मकालीन वासको शुभ अवसरमा ङाग्युर पाल्युल लिङ गुम्बामा विभिन्न तहका कक्षाबीच बौद्धदर्शनको उच्चतम छलफल अभ्यास प्रतियोगिता सम्पन्न भएको छ।

ङाग्युर पाल्युल लिङका अध्यक्ष खेन्पो छिमे छिरिङ (डा. ल्हारक्याल लामा) को विशेष उपस्थिति तथा वरिष्ठ खेनपो एवं टुल्कु रिन्पोछेहरूको उपस्थितिमा प्रतियोगिता सञ्चालन गरिएको गुम्बाका सचिव लोपेन कर्माले बताउनु भयो।

गुम्बामा प्रत्येक शुक्रबार साँझ नियमित रूपमा आयोजना हुँदै आएको उक्त प्रतियोगितामा विभिन्न तहका कक्षामा अध्ययनरत विद्यार्थीहरूले सहभागिता जनाएका थिए। प्रतियोगितामार्फत विद्यार्थीहरूको बौद्धिक क्षमता, तर्क प्रस्तुत गर्ने कला, शास्त्रीय ज्ञान तथा छलफल गर्ने अभ्यासलाई थप सुदृढ बनाउने उद्देश्य राखिएको पनि आयोजकले जनाएको छ।

बौद्धदर्शनका विषयमा विद्यार्थीहरूबीच प्रश्न–उत्तर, तर्क–वितर्क तथा शास्त्रीय पद्धतिमा आधारित छलफल गराउँदै नियमित रूपमा सञ्चालन गरिएको प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।
मनिच्युडमा अवस्थित पाल्युल लिङ  गुम्बाका विद्यार्थीहरूमा बौद्ध दर्शनको गहिरो अध्ययनसँगै तार्किक विश्लेषण र शास्त्रीय छलफलको संस्कार विकास गर्न यस्ता अभ्यासले महत्वपूर्ण भूमिका खेल्ने पनि जनाइएको छ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट