भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा अर्बौंको क्षति, शोकलाई शक्तिमा बदल्दै पर्यटन क्षेत्रलाई जगाउन रणनीतिक योजनाको खाँचो

काठमाडौं । भोटेकोशी–त्रिशुली करिडोर नेपालको एक महत्वपूर्ण पर्यटकीय मार्ग भएकाले गत भदौ १० गतेको विनाशकारी बाढीको समयमा पनि थुप्रै पर्यटक यात्रामा थिए । रसुवागढी, टिमुरे, स्याफ्रुबेँसी हुँदै लाङटाङ राष्ट्रिय निकुञ्ज, गोसाइँकुण्ड, कैलाश मानसरोवर यात्रा र स्थानीय ट्रेकिङ रुटहरूमा समेत नेपालीसहित भारतीय, अमेरिकी, अस्ट्रेलियाली, बेलायती, क्यानेडियन, मलेसियालीलगायत सयौँ पर्यटकहरू अकल्पनीय बाढीमा परेर सम्पर्कविहीन भए ।
बाढीमा परेका कतिपयको शब फेला परेको छ भने अधिकांशको अझै अत्तोपत्तो छैन । यो करिडोरमा बाढीको समयमा कति संख्यामा पर्यटन थिए भन्ने एकिन तीन साता हुन लाग्दासमेत भइसकेको छैन ।

सयौं पर्यटकलाई नेपाली सेना, प्रहरी र सरकारी तथा निजी हेलिकप्टरहरूबाट उद्धार गरिएको छ । भोटेकोशी बाढीले बस्ती, सडक, पुल र जलविद्युत् संरचनाका साथै नेपालको महत्वपूर्ण पर्यटकीय गन्तव्य रसुवा तथा आसपासका क्षेत्रको पर्यटन पूर्वाधार, व्यवसाय र अन्तर्राष्ट्रिय छविमा समेत धक्का लाग्न पुग्यो ।

लाङटाङ, गोसाइँकुण्ड, कैलाश मानसरोवर यात्रासँग जोडिएको करिडोरमा बाढीले बितण्डा मच्याउदा पर्यटक र पर्यटन व्यवसायीको ठुलो संख्या प्रभावित बनेको छ । पर्यटन क्षेत्रमा मात्रै ५० अर्बभन्दा बढीको क्षति पुगेको आकलन छ । प्रत्यक्ष भौतिक क्षति, व्यवसायको आम्दानी घाटा, बुकिङ रद्द र दीर्घकालीन प्रभाव समेटेर क्षतिको आकलन गरिएको पर्यटन मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल भोटेकोशी बाढीका कारण पर्यटन क्षेत्रमा अर्बौको क्षति भएको बताउँछन् । ‘पर्यटन क्षेत्रका विभिन्न विधा र भविष्यमा हुने सम्भावित नोक्सानीसमेत जोड्दा प्रारम्भिक रूपमा ५० अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । बाढीका कारण १४२ वटा होटल, ५७ वटा साना रेस्टुरेन्ट र पर्यटन व्यवसायसँग सम्बन्धित १४१ वटा सवारी साधनमा क्षति पुगेको तथ्यांक छ ।’ उनी भन्छन् ।

२७ वटा सम्पदा, गुम्बा, स्तुपा र मन्दिरहरू पनि क्षतिग्रस्त भएका छन् । बेत्रावती सन्धीको ऐतिहासिक साक्षी ‘सन्धीशिला’समेत बगाएको छ । धेरै साना तथा मझौला पर्यटन व्यवसायीहरू विस्थापित भएका छन् । स्थानीय होटल, रेस्टुरेन्ट, गाइड, पोर्टर, ट्याक्सी/जिप चालक, पसल सञ्चालकलगायत सयौं परिवार प्रभावित भएका छन् । यसले स्थानीय अर्थतन्त्रमा गम्भीर धक्का दिएको छ ।

भोटेकोशी बाढीले अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन छविमा पर्न सक्ने असरबारे सरकोकारवाला निकाय बेलैमा सचेत हुन आवश्यक छ । भोटेकोशी बाढीपछि आगामी सिजनका लागि गरिएका कतिपय बुकिङहरू रद्द भएको पर्यटन व्यवसायीहरू बताउँछन् । कैलाश यात्राका करिब ५० प्रतिशत बुकिङ रद्द भएको बताइन्छ । पर्यटन क्षेत्रले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना र स्थानीय विकासमा ठुलो योगदान पुर्‍याएको छ । रसुवा–लाङटाङ क्षेत्रमा वार्षिक हजारौं आन्तरिक र बाह्य पर्यटक पुग्ने गरेको सरकारी अभिलेख छ । गत वर्ष मात्रै लाङटाङ क्षेत्रमा करिब ३३ हजार पर्यटक पुगेको तथ्यांक छ । जसमध्ये ठूलो हिस्सा विदेशी थिए । यो भूभाग अहिले अवरुद्ध छ ।

शोकलाई शक्तिमा बदल्दै सुरक्षित पर्यटन पूर्वाधार विकासमा सरकार लाग्नुपर्छ । रसुवाको प्राकृतिक सौन्दर्य, लाङटाङ, गोसाइँकुण्डसहित हिमाली पहिचान दीर्घकालीन पर्यटनका आधार हुन् । सुरक्षित पर्यटकीय पूर्वाधार पुनर्निर्माण र पर्यटकको सुरक्षा सुनिश्चित गर्दै रणनीतिक योजनाका साथ सरकार अगाडि बढ्नुपर्छ । जसले छिट्टै रसुवालाई फेरि महत्वपूर्ण हिमाली पर्यटकीय गन्तव्यको विकास विकास गर्नेछ ।

पर्यटनको अर्थ केवल गन्तव्य मात्र होइन, गन्तव्यसम्म पुग्ने मार्ग पनि हो । सडक छैन भने होटल चल्दैन । पदमार्ग छैन भने गाइड र पोर्टरको काम हुँदैन । यातायात छैन भने पर्यटक पुग्दैनन् । त्यसैले पर्यटन पुनर्जीवनमा सरकार गम्भीर बन्नुपर्छ ।
नेपालको हिमाली पर्यटन प्राकृतिक सौन्दर्यमा आधारित छ । तर यही सौन्दर्य कहिलेकाही जोखिमको स्रोत बन्न सक्छ । त्यसतर्फ ध्यान दिँदै सुन्दर गन्तव्यलाई सुरक्षित बनाउने गरी काम थाल्न जरुरी छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर