
काठमाडौं । भोटेकोशी–त्रिशुली करिडोर नेपालको एक महत्वपूर्ण पर्यटकीय मार्ग भएकाले गत भदौ १० गतेको विनाशकारी बाढीको समयमा पनि थुप्रै पर्यटक यात्रामा थिए । रसुवागढी, टिमुरे, स्याफ्रुबेँसी हुँदै लाङटाङ राष्ट्रिय निकुञ्ज, गोसाइँकुण्ड, कैलाश मानसरोवर यात्रा र स्थानीय ट्रेकिङ रुटहरूमा समेत नेपालीसहित भारतीय, अमेरिकी, अस्ट्रेलियाली, बेलायती, क्यानेडियन, मलेसियालीलगायत सयौँ पर्यटकहरू अकल्पनीय बाढीमा परेर सम्पर्कविहीन भए ।
बाढीमा परेका कतिपयको शब फेला परेको छ भने अधिकांशको अझै अत्तोपत्तो छैन । यो करिडोरमा बाढीको समयमा कति संख्यामा पर्यटन थिए भन्ने एकिन तीन साता हुन लाग्दासमेत भइसकेको छैन ।
सयौं पर्यटकलाई नेपाली सेना, प्रहरी र सरकारी तथा निजी हेलिकप्टरहरूबाट उद्धार गरिएको छ । भोटेकोशी बाढीले बस्ती, सडक, पुल र जलविद्युत् संरचनाका साथै नेपालको महत्वपूर्ण पर्यटकीय गन्तव्य रसुवा तथा आसपासका क्षेत्रको पर्यटन पूर्वाधार, व्यवसाय र अन्तर्राष्ट्रिय छविमा समेत धक्का लाग्न पुग्यो ।
लाङटाङ, गोसाइँकुण्ड, कैलाश मानसरोवर यात्रासँग जोडिएको करिडोरमा बाढीले बितण्डा मच्याउदा पर्यटक र पर्यटन व्यवसायीको ठुलो संख्या प्रभावित बनेको छ । पर्यटन क्षेत्रमा मात्रै ५० अर्बभन्दा बढीको क्षति पुगेको आकलन छ । प्रत्यक्ष भौतिक क्षति, व्यवसायको आम्दानी घाटा, बुकिङ रद्द र दीर्घकालीन प्रभाव समेटेर क्षतिको आकलन गरिएको पर्यटन मन्त्रालयका अधिकारीहरू बताउँछन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल भोटेकोशी बाढीका कारण पर्यटन क्षेत्रमा अर्बौको क्षति भएको बताउँछन् । ‘पर्यटन क्षेत्रका विभिन्न विधा र भविष्यमा हुने सम्भावित नोक्सानीसमेत जोड्दा प्रारम्भिक रूपमा ५० अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । बाढीका कारण १४२ वटा होटल, ५७ वटा साना रेस्टुरेन्ट र पर्यटन व्यवसायसँग सम्बन्धित १४१ वटा सवारी साधनमा क्षति पुगेको तथ्यांक छ ।’ उनी भन्छन् ।
२७ वटा सम्पदा, गुम्बा, स्तुपा र मन्दिरहरू पनि क्षतिग्रस्त भएका छन् । बेत्रावती सन्धीको ऐतिहासिक साक्षी ‘सन्धीशिला’समेत बगाएको छ । धेरै साना तथा मझौला पर्यटन व्यवसायीहरू विस्थापित भएका छन् । स्थानीय होटल, रेस्टुरेन्ट, गाइड, पोर्टर, ट्याक्सी/जिप चालक, पसल सञ्चालकलगायत सयौं परिवार प्रभावित भएका छन् । यसले स्थानीय अर्थतन्त्रमा गम्भीर धक्का दिएको छ ।
भोटेकोशी बाढीले अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन छविमा पर्न सक्ने असरबारे सरकोकारवाला निकाय बेलैमा सचेत हुन आवश्यक छ । भोटेकोशी बाढीपछि आगामी सिजनका लागि गरिएका कतिपय बुकिङहरू रद्द भएको पर्यटन व्यवसायीहरू बताउँछन् । कैलाश यात्राका करिब ५० प्रतिशत बुकिङ रद्द भएको बताइन्छ । पर्यटन क्षेत्रले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना र स्थानीय विकासमा ठुलो योगदान पुर्याएको छ । रसुवा–लाङटाङ क्षेत्रमा वार्षिक हजारौं आन्तरिक र बाह्य पर्यटक पुग्ने गरेको सरकारी अभिलेख छ । गत वर्ष मात्रै लाङटाङ क्षेत्रमा करिब ३३ हजार पर्यटक पुगेको तथ्यांक छ । जसमध्ये ठूलो हिस्सा विदेशी थिए । यो भूभाग अहिले अवरुद्ध छ ।
शोकलाई शक्तिमा बदल्दै सुरक्षित पर्यटन पूर्वाधार विकासमा सरकार लाग्नुपर्छ । रसुवाको प्राकृतिक सौन्दर्य, लाङटाङ, गोसाइँकुण्डसहित हिमाली पहिचान दीर्घकालीन पर्यटनका आधार हुन् । सुरक्षित पर्यटकीय पूर्वाधार पुनर्निर्माण र पर्यटकको सुरक्षा सुनिश्चित गर्दै रणनीतिक योजनाका साथ सरकार अगाडि बढ्नुपर्छ । जसले छिट्टै रसुवालाई फेरि महत्वपूर्ण हिमाली पर्यटकीय गन्तव्यको विकास विकास गर्नेछ ।
पर्यटनको अर्थ केवल गन्तव्य मात्र होइन, गन्तव्यसम्म पुग्ने मार्ग पनि हो । सडक छैन भने होटल चल्दैन । पदमार्ग छैन भने गाइड र पोर्टरको काम हुँदैन । यातायात छैन भने पर्यटक पुग्दैनन् । त्यसैले पर्यटन पुनर्जीवनमा सरकार गम्भीर बन्नुपर्छ ।
नेपालको हिमाली पर्यटन प्राकृतिक सौन्दर्यमा आधारित छ । तर यही सौन्दर्य कहिलेकाही जोखिमको स्रोत बन्न सक्छ । त्यसतर्फ ध्यान दिँदै सुन्दर गन्तव्यलाई सुरक्षित बनाउने गरी काम थाल्न जरुरी छ ।










समाचार
सुदूरपश्चिम रोयल्स र प्राइम टायल्सको सहकार्य
चाडपर्वमा अत्यावश्यक सामान ढुवानी सहज बनाउन ट्रक व्यवसायी महासंघको सुझाव
रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान
बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने
जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी र कामदारको खोजी तीव्र
त्रिशूली–मुग्लिन करिडोरका १२ झोलुङ्गे पुल मर्मत तीव्र, असोज २० भित्र सञ्चालनमा ल्याइने
ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज
‘राइट टु प्रोटिन रन’ मा १० राष्ट्रका धावक सहभागी हुने
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु
कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन