
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ मा रहेको ऐतिहासिक चिनाकोट दरबार क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण भएको छ । गण्डकी प्रदेश सरकार, मङ्गला गाउँपालिका, चिनाकोट आमा समूह र देउराली सामुदायिक वन उपभोक्ता समूहको रु ५० लाखभन्दा बढी लगानीमा पूर्वाधार निर्माण भएको हो ।
चिनाकोट संरक्षण तथा व्यवस्थापन समितिका सचिव प्रकाश पुनले आर्थिक वर्ष २०७६/७७ देखि २०८२/८३ सम्म चिनाकोटको पर्यटन पूर्वाधार निर्माणमा प्रदेश सरकारबाट ४० लाख, मङ्गला गाउँपालिकाबाट रु आठ लाख र आमा समूहबाट दुई लाख लगानी भएको बताए । ‘एक किलोमिटरभन्दा बढी पक्की र करिब दुई किलोमिटर कच्ची पदमार्ग तथा सडक, दृश्यावलोकन स्थल र आश्रयस्थल निर्माण भएको छ’, उनले भने, ‘बरञ्जा गाउँदेखि चिनाकोटसम्म विद्युत् विस्तारमा देउराली सामुदायिक वन उपभोक्ता समूह तथा योजना कार्यान्वयनमा विनियोजन भएको कुल बजेटको १० प्रतिशत स्थानीयवासीले श्रमदान गरेका छौं । खानेपानीको व्यवस्था गरिएको छ ।’
विसं २०७५ अघिसम्म सुनसान चिनाकोटमा पूर्वाधार निर्माण भएपछि आन्तरिक पर्यटक आउन थालेको देउराली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष टेकबहादुर छन्त्यालले बताए । ‘सङ्घीयताअघिसम्म एउटा टहरा मात्र रहेको चिनाकोटमा प्रदेश र स्थानीय तहबाट सुरक्षित रूपमा पुग्न सकिने पदमार्ग बनेपछि पाहुना आउन थालेका हुन्’, उनले भने, ‘पहाडको टाकुरामा रहेको चिनाकोटमा सुरक्षाका लागि वरपर घेराबार र पुरातात्त्विक महत्त्वका सामग्रीको संरक्षणको आवश्यकता छ ।’
समुद्री सतहदेखि दुई हजार २०० मिटर उचाइमा रहेको चिनाकोटबाट सूर्योदयका साथै अन्नपूर्ण, धौलागिरि, गुर्जा र माछापुच्छ्रे हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । मङ्गला गाउँपालिकाको ३ र ४ नम्बर वडामा समेटिएको बरञ्जाको शिरमा रहेको चिनाकोटबाट म्याग्दीको पश्चिमी भेगका ग्रामीण बस्ती, पहाडी भूगोल र नागबेली परेर बगेको म्याग्दी नदी अवलोकन गर्न सकिन्छ ।
बरञ्जाका अगुवा रणबहादुर रोकाका अनुसार भुरे–टाकुरे राजाका पालामा चिनाकोटमा बरञ्जी राजाको दरबार थियो । ‘दरबारका पर्खालको भग्नावशेष, खाद्यान्न पिस्न प्रयोग हुने जातोलगायत ऐतिहासिक वस्तु अझै चिनाकोटमा छन्’, उनले भने, ‘रानीको कपाल कोर्ने ढुङ्गा, बेहुला र बेहुली नाम गरेका ढुङ्गा पनि अवलोकन गर्न सकिन्छ ।’
चिनाकोटको फेदीमा रहेको थर्पुगाउँको दरबारमा खुडा, तरबार, ढाललगायत परम्परागत युद्धमा प्रयोग हुने हातहतियार छन् । मङ्गला गाउँपालिका–३ का कार्यवाहक वडाध्यक्ष भेषकुमारी पुनले बर्खायामबाहेकका समयमा बिदा मनाउन तथा क्याम्पिङ गर्न पाहुना आउने गरेको बताइन् । बस्तीबाट टाढा र एकान्त वातावरणमा रहेको चिनाकोटमा वनभोजका लागि आउनेलाई भाँडावर्तनको व्यवस्था मिलाइएको छ ।
चिनाकोट नजिकै रहेको घारसुन्ने डाँडामा दृश्यावलोकनस्थल बनाइएको छ । पहाडको टाकुरामा रहेको गोलो आकारको ढुङ्गामा वरपर घेराबार बनाएर त्यहाँसम्म पुग्ने पदमार्ग बनाइएको छ । म्याग्दीको सदरमुकाम बेनी बजारदेखि तातोपानी–बरञ्जा हुँदै गाडीमा एक घण्टाको यात्रापछि चिनाकोट पुगिन्छ । बरञ्जादेखि पैदलयात्रा गरेर चिनाकोट पुग्न दुई घण्टा लाग्छ । होटल तथा रेष्टुरेन्ट नभएकाले खाद्य सामग्री पाहुना आफैँले व्यवस्थापन गर्नुपर्छ ।
पर्यटकीय पूर्वाधारको म्याग्दी–१ (ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन)ले बुधबार उद्घाटन गरे । उनले चिनाकोटका साथै झाँक्रीपानी र गम्फाधुरीलगायत बरञ्जाका पर्यटकीयस्थलमा पूर्वाधार निर्माणमा प्रदेश सरकारले लगानी गरिरहेको बताए । पूर्वाधारको उपभोग गरी पर्यटक भित्र्याएर आयआर्जन, रोजगारी सिर्जना र आत्मनिर्भरतातर्फ अग्रसर हुन उनले स्थानीयवासीलाई आग्रह गरे ।
बरञ्जाका बासिन्दासमेत रहेका संविधानसभा सदस्य गमबहादुर श्रीस, मङ्गला गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी क्षेत्री र मङ्गला–४ का वडाध्यक्ष लालबहादुर रोकाले ऐतिहासिकस्थल, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको संरक्षण, प्रवद्र्धन र विकासमार्फत समृद्धि हासिल हुने विश्वास व्यक्त गरे ।










समाचार
हतुवागढी खैराङमा अदुवा खेती विस्तार
भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची सार्वजनिक
देशभर मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
रास्वपा ओखलढुंगाका सांसद पोखरेलको स्वकीय सचिवमा पत्रकार थापामगर नियुक्त
चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनाको खोज तथा उद्धार तीव्र
५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज
यातायात व्यवस्था विभागले डेढ महिनामा उठायो ५ अर्ब राजस्व, ‘सवारी चालक अनुमतिपत्र’ भने प्रदेशले थाल्यो छापन