
सुनसरी । अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी तथा घाँसे मैदानका कारण पर्यटनको प्रचुर सम्भावना रहेको कोशी टप्पु वन्यजन्तु आरक्षमा विदेशी पर्यटकको आगमन भने न्यून रहेको छ । आर्थिक वर्ष २०७५/७६ देखि २०८२/८३ सम्म कोशी टप्पु वन्यजन्तु आरक्षमा ९० हजार २८३ पर्यटक पुगेका छन् । तीमध्ये विदेशी पर्यटकको सङ्ख्या दुई हजार २९ मात्र रहेको छ ।
आव २०८२/८३ मा १२ हजार ८८३ पर्यटक आरक्ष पुगेकामा विदेशी पर्यटक ३०५ जना थिए । आव २०८१/८२ मा ११ हजार ६०६ पर्यटकमध्ये ३०२ जना विदेशी र २०८०/८१ मा १२ हजार ५५६ पर्यटकमध्ये ३२७ जना विदेशी पर्यटक आएका थिए ।
त्यसैगरी, आव २०७९/८० मा १२ हजार ४७९ पर्यटकमध्ये ३११ जना, २०७८/७९ मा ११ हजार १६७ मध्ये १३० जना, २०७७/७८ मा नौ हजार ८१८ मध्ये ७७ जना, २०७६/७७ मा ११ हजार १४ मध्ये १८९ जना र २०७५/७६ मा आठ हजार ७६३ पर्यटकमध्ये ३८८ जना विदेशी पर्यटक रहेको कोशी टप्पु वन्यजन्तु आरक्षका सहायक वार्डेन तथा सूचना अधिकारी मिथलेस महतोले बताए ।
अन्य राष्ट्रिय निकुञ्ज तथा आरक्षको तुलनामा यहाँ विदेशी पर्यटकको आगमन कम रहेको छ । पर्यटन पूर्वाधार र प्रचारप्रसारको कमीका कारण पनि विदेशी पर्यटकको आगमन कम भएको हुनसक्ने सूचना अधिकारी महतोको भनाइ छ ।
कोशी टप्पुलाई वन्यजन्तु अवलोकन, बर्ड वाचिङ र सिमसार पर्यटनको गन्तव्यका रूपमा विकास गर्न सकिने भए पनि त्यसअनुसारका पूर्वाधार बन्न नसकेको उनले बताए । देशका अन्य निकुञ्ज र आरक्षको तुलनामा निकै कम विदेशी पर्यटक कोशी टप्पुमा आउने गरेका छन् । मुख्यतः प्रचारप्रसारकै अभाव रहेको उनको कथन छ ।
कोशी टप्पुको मुख्य पर्यटन आकर्षण अर्ना भए पनि यहाँ विभिन्न प्रजातिका चराचुरुङ्गी, सिमसार, नदी र घाँसेमैदान छन् । त्यसैले अर्ना अवलोकनसँगै बर्ड वाचिङ, प्रकृति पदयात्रा, नदी पर्यटन र जङ्गल सफारीलाई व्यवस्थित गर्न सके विदेशी पर्यटक आकर्षित गर्न सकिने पर्यटन व्यवसायी रमन भट्टराईले बताए ।
“सुनसरी र उदयपुरका बीचमा रहेको बेलका बीच रिसोर्टबाट जङ्गल सफारी सुरु गरेको छु । आरक्षभित्र जाने सडकको पूर्वाधार छैन”, उनले भने । आरक्ष क्षेत्रमा व्यवस्थित पदयात्रा तथा बर्ड वाचिङ मार्ग, पर्यटक सूचना केन्द्र तथा होमस्टे सञ्चालन गर्न सके पर्यटकको आगमन बढ् नसक्ने उनको भनाइ छ ।
विसं २०३२ मा स्थापना भएको कोशी टप्पु वन्यजन्तु आरक्ष सुनसरी, सप्तरी र उदयपुरको १७३ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । विसं २०४४ देखि रामसार सूचीमा सूचीकृत आरक्ष जैविक विविधताका दृष्टिले महत्वपूर्ण क्षेत्र हो ।
सन् १९७६ को गणनामा कोशी टप्पुमा ६३ वटा अर्ना रहेका थिए भने सन् २०२१ को गणना अनुसार सङ्ख्या बढेर ४९८ पुगेको छ । कोशी टप्पुमा ४२ प्रजातिका स्तनधारी, ५३५ प्रजातिका पक्षी, १४१ प्रजातिका माछा र ७७ प्रजातिका पुतली पाइन्छन् । यस्तै, ३२ वटा खरमयुर र १९ वटा डल्फिन रहेका छन् ।साथै यहाँ हिउँदमा विभिन्न विदेशी चरासमेत आउने गर्दछन् ।










समाचार
अब त्यस्तो दिन नदोहोरियोस् : पूर्वप्रधानमन्त्री कार्की
इन्डोनेसियामा ज्वालामुखी विस्फोटन, ३ हजार उडान अवरुद्ध, साढे ३ लाख यात्रु अलपत्र
बीमा दाबी भुक्तानी लिन बीमितलाई सम्पर्कमा आउन स्टार माइक्रोको आग्रह
पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध
एसिसी प्रिमियर कपः नेपाल हङकङविरुद्ध भिड्दै
१६२ किलो गाँजासहित दुई जना चालक पक्राउ
कृष्णभीरको अवरोधले लमजुङ–काठमाडौँ यात्रा कष्टकर
दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै
भेडागोठमा लालवीरका सात दशक
माण्डु हाइड्रोपावरको सेयरको लकइन अवधि असोजमा सकिँदै