
पुर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षमा आन्तरिक पर्यटक आगमन दोब्बरले बढेको छ । विदेशी सिकारीका अलावा पछिल्ला केही वर्षयता देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटकहरु ढोरपाटन घुम्न आउने क्रम बढेको हो ।
विसं २०८१ को साउनमा ५८१ जना नेपाली पर्यटकहरुले ढोरपाटन भ्रमण गरेका आरक्षका संरक्षण अधिकृत मण्डिप पंगेनीले बताए । ‘आर्थिक वर्ष २०७९÷०८० को तुलनामा आर्थिक वर्ष २०८०÷०८१ मा पर्यटक आगमन दोब्बरले बढेको छ,’ उनले भने, ‘२०७९÷०८० मा पर्यटक प्रवेश शूल्कबाट रु नौ लाख ८३ हजार दुई सय राजस्व संकलन भएकोमा २०८०÷०८१ मा रु १९ लाख ३३ हजार सात सय पुगेको छ ।’
आर्थिक वर्ष २०७९÷८० मा सात हजार छ सय ४५ जना पर्यटक भित्रिएको ढोरपाटनमा २०८०÷८१ मा १५ हजार पाँच सय ७३ जनाले भ्रमण गरेका छन् । सार्क राष्ट्रका चार, अन्य देशका एक सय दुई र १५ हजार चार सय ६७ जना नेपाली ढोरपाटन आएका थिए । आर्थिक वर्ष २०७८÷७९ मा नौ हजार नौ सय १९, २०७७÷०७८ मा छ हजार सात सय तीन र २०७६÷०७७ मा तीन सय २० जनाले ढोरपाटन घुमेका थिए । ढोरपाटन उपत्यकाको प्रवेशबिन्दु देउरालीमा आरक्ष र नेपाली सेनाको पोष्टमा पर्यटकहरुको विवरण राख्ने र शुल्क लिने गरिन्छ । ढोरपाटन घुम्न नेपालीले प्रतिव्यक्ति १०० रुपैयाँ, सार्क राष्ट्रकाले प्रतिव्यक्ति १ हजार ५०० रुपैयाँ र अन्य देशकाले ३ हजारका दरले शूल्क तिर्नुपर्छ ।
सडक यातायात, होटल तथा घरवास सुविधा, सञ्चार माध्यम र सामाजिक सञ्जालका कारण बुकी फुलेको हेर्न, फोटो, भिडियो खिचेर सामाजिक सञ्जालमा राख्न र प्रकृतिमा रमाउन दैनिकजसो पर्यटक आउने गरेका ढोरपाटन सामुदायिक होमस्टेका सञ्चालक रामबहादुर घर्तिमगरले बताए । ढोरपाटनमा रहेका २१ वटा होटल र होमस्टेमा दैनिक तीन सय जना बास बस्न सक्ने क्षमता छ ।
सुन्दर पाटन, आकर्षक गाउँ, मनै लोभ्याउने हिमाल, पृथक रहनसहन, परम्परागत रूपमा बनेका घर–गोठहरू र घोडचडी ढोरपाटनको सिकार बाहेकको आकर्षण र विशेषता हो । आर्थिक वर्ष २०८०/०८१ मा १९ वटा नाउर र ११ वटा झारल सिकारबाट रु. चार करोड २६ लाख ८८ हजार ७०० राजस्व संकलन भएको छ ।
आर्थिक वर्ष २०७९÷८० मा १९ नाउर र ११ झारल, २०७८/७९ मा १७ नाउर र ८ झारल, २०७७/७८ मा १० नाउर र ६ झारलको सिकार भएको थियो । स्पेन, अमेरिका, रसीया, अमेरिका, जर्मनी, फ्रान्स, बेलारुसलगायत देशका सिकारीहरू सिकार खेल्न आउने गरेका सिकार कम्पनी ग्लोवल सफारी काठमाडौंका सिकार गाईड मानबहादुर पुनले बताए । बसन्त र सरद याममा सिकारी आउँछन् ।
यहाँ ३२ प्रजातिका स्तनधारी वन्यजन्तु र १३७ प्रजातिका पंक्षीहरू छन् । आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिवाङ, घुस्तुङ ब्लगमा विभाजन गरी शिकार खेल्न दिने व्यवस्था मिलाइएको छ । विसं २०६७÷६८ देखि हालसम्म ३९४ नाउर, झारल र रतुवाको सिकार भएको छ । सन् २०२२ मा नाउरको गणना गर्दा ७९ वटा झुण्डमा एक हजार दुई सय ९० नाउर भेटिएका थिए । एक हजार तीन सय २५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन सिकार आरक्षको ६० प्रतिशत पुर्वी रुकुम, २६ प्रतिशत बागलुङ र १४ प्रतिशत भूगोल म्याग्दीमा पर्छ ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू