
काठमाडौं। शिक्षाविद्को पहिचान बनाउन चाहने व्यक्तिले विद्यावारिधि उपाधि हासिल गर्नुपर्ने कानुनी व्यवस्था गर्न लागिएको छ । नेपाल विश्वविद्यालय विधेयकले शिक्षाविद्को योग्यता तोकेको हो ।
सरोकारवालासँग छलफल गरेर संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले प्रतिनिधि सभामा बिहीबार पेस गरेको विधेयकको प्रतिवेदनमा यस्तो योग्यता तोकेको हो । समितिले विधेयकमाथि दफावार छलफल गरेर सुझावसहितको प्रतिवेदन मंगलबार प्रतिनिधि सभामा पेस गरेको हो । विधेयकको दफा २ मा शिक्षाविद्को योग्यता तोकिएको छ । जसमा ‘शिक्षाविद् भन्नाले नेपाल सरकारद्वारा मान्यताप्राप्त विश्वविद्यालयबाट विद्यावारिधि उपाधि प्राप्त गरेको र अध्ययन, अध्यापन र अनुसन्धानको क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव हासिल गरेको व्यक्ति सम्झनुपर्ने छ’ भन्ने उल्लेख गरिएको छ ।
कस्तो व्यक्तिलाई शिक्षाविद् मान्ने भन्ने विषयमा हालसम्म कुनै निश्चित परिभाषा छैन । यसलाई कुनै पनि कानुनले सम्बोधन गर्न पनि सकेको छैन । निश्चित योग्यता र परिभाषा नतोकिँदा पछिल्लो समय शिक्षासम्बन्धी सामान्य ज्ञान मात्रै भएका व्यक्तिले पनि आफूलाई शिक्षाविद्का रूपमा प्रस्तुत गर्ने प्रवृत्ति बढेको छ । यद्यपि यस विधेयकले तोकेको शिक्षाविद्को योग्यता नेपाल विश्वविद्यालयका लागि मात्रै हो । उक्त विश्वविद्यालयको सङ्गठन संरचना अन्तर्गत रहने विभिन्न निकायमा पदाधिकारी तथा सदस्य नियुक्त गर्दा शिक्षाविद्का तर्फबाट प्रतिनिधित्व गर्ने व्यक्ति हुनुपर्ने भन्ने उल्लेख छ ।
तर ती निकायमा नियुक्त हुने शिक्षाविद्को योग्यता के रहने भन्ने विषयमा स्पष्ट नभएका कारण विधेयकले योग्यता नै तोकेर शिक्षाविद्लाई परिभाषित गरेको हो । नेपाल विश्वविद्यालयले तोकेको परिभाषाले समग्र शिक्षाविद्का लागि नै मानक स्थापित गर्ने र अन्य स्थानमा पनि लागु गर्न सजिलो हुने शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाले बताए । ‘यो त ठिक हो । अहिले त बजारमा स्वघोषित शिक्षाविद्, बुद्धिजीवी, अभियन्ता बन्ने चलन छ । यो अवस्थालाई नेपाल विश्वविद्यालय विधेयकले स्पष्ट गरेको छ,’ कोइरालाले भने ।
राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयकलाई प्रतिनिधि सभाको २०८० भदौ ६ गतेको बैठकले संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिलाई पठाएको थियो । समितिको २०८० असार १३ गतेको बैठकले विधेयकका सम्बन्धमा समितिमा टुङ्गिन बाँकी विषयमाथि छलफल गरेर प्रतिवेदन पेस गर्न समितिका सदस्य देवेन्द्र पौडेलको संयोजकत्वमा उपसमिति गठन गरेको थियो ।
उपसमितिले दिएको प्रतिवेदनलाई सामान्य परिमार्जन गरेर समितिले भदौ १४ गते पारित गरेको थियो । विधेयकमा नेपाल विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सहकुलपति नरहने व्यवस्था गरेको छ । प्राज्ञिक व्यक्तिलाई कुलपति बनाइने तथा प्रमुख कार्यकारीका रूपमा उपकुलपति रहने व्यवस्था गरिएको छ ।
प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रपतिले प्रमाणीकरण गरेपछि मात्रै यो विधेयक ऐनका रूपमा कार्यान्वयनमा आउने छ । नेपालमा हाल सञ्चालितभन्दा भिन्न शैलीको नेपाल विश्वविद्यालयको केन्द्रीय कार्यालय उपत्यकाबाहिर रहने छ ।













समाचार
भोटेकोशी बाढीः ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता
प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग
प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग
२२.५ मेगावाटको जाल्दीगाड आयोजनामा ४ अर्ब ६० करोड लगानी जुट्यो
मधेस, सहकारी मन्त्रालय, काठमाडौँ महानगर र शिक्षा क्षेत्रमा सबैभन्दा धेरै उजुरी : अख्तियार
दुवै महाधिवेशन रोकौं, मध्यमार्गी बाटो खोजौं : शेखर कोइराला
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमै बेच्न एलपी ग्यास उद्योग संघको आग्रह
फोहोरमैला व्यवस्थापन विधेयक संसद्मा दर्ता
राष्ट्रसंघ महासभामा जाने तयारीबारे परराष्ट्रमन्त्रीले गराए संसदीय समितिमा जानकारी
सेयर बजारमा करिब १२ अंकको सुधार, कारोबार ५ अर्ब माथि