
बाँके । कामको खोजीमा भारतका विभिन्न सहर पुगेका नेपाली स्वदेशमै रोजगारीको पर्खाइमा रहेका छन् । छ महिनाअघि कामको खोजीमा भारतको सिमला पुग्नुभएका सुर्खेत सिम्ता गाउँपालिका–५ का महेन्द्र खत्री दसैँ र तिहार मनाउन बिहीबार घर फर्किनुभएको छ ।
नेपालगञ्जस्थित जमुनाह नाका हुँदै घर फर्किएका खत्रीले नेपालमा कुनै रोजगारी नपाएपछि दसैँ र तिहारको खर्च जोहो गर्न भारत जानुपर्ने बाध्यता रहेको बताए । ‘नेपालमा काम पाइँदैन, चाडबाड मनाउनका लागि कमाउन भारत जानुपर्छ, त्यहाँ पनि सजिलो छैन’, खत्रीले भने, ‘सिमलामा पनि भनेजस्तो काम पाइँदैन तलब थोरै हुन्छ, अलिअलि लत्ताकपडा र दसैँ खर्च लिएर फर्किएको छु, आफ्नै देशमा काम पाए यहीँ पसिना बगाउने हो ।’ स्याउको बगैँचामा काम गरेर फर्किएको उनले बताए ।
नेपालमा रोजगारी नपाएपछि घरपरिवारको खुसीका लागि काम खोज्दै भारतको सिमला पुगेको उनको भनाइ छ । आफ्नो देशमा रोजगारी नपाउनु, पाइहाले पनि न्यून पारिश्रमिकमा काम गर्नुपर्ने, औषधिमुलोसमेत राम्रो नपाइने भएपछि लुम्बिनी र कर्णाली प्रदेशबाट महेन्द्र जस्तै हजारौँ नेपाली रोजगारीका लागि भारत जान बाध्य छन् । रोजगारीका लागि भारतका विभिन्न सहरमा पुगेका नेपाली दसैँ खर्च जोहो गरेर पर्व मनाउन यतिबेला घर फर्किने गरेका छन् । दसैँ मनाउन घर फर्कने नेपालीको सीमानाका जमुनाहमा लर्को लाग्ने गरेको छ । सल्यानको वनगाड कुपिण्डे नगरपालिकाका रमेश परियारले वर्षभरि परदेशमा काम गरेर दिन बितेपनि दसैँमा भने सधैँ घर फर्किने गरेको बताए ।
धेरै पैसा कमाउन नसके पनि जसोतसो खर्च जोहो गरेको उनको भनाइ छ । उनीसँगै भारतको सिमलामा मजदुरी काम गर्ने जाजरकोट र सल्यानका मात्रै २५ घरपरिवार दसैँ मनाउन बिहीबार घर फर्किएका छन् । पश्चिम नेपालको सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुम, रोल्पा, प्यूठानलगायत जिल्लाबाट भारतमा रोजगारीका लागि पुग्ने गरेका छन् । रोजगारीका लागि भारतको विभिन्न सहरमा पुगेका नेपाली दसैँ नजकिएसँगै घर फर्किनेक्रम सुरु भएको छ । पछिल्लो १० दिनमा नेपालगञ्जस्थित जमुनाह नाका हुँदै ३० हजार नेपाली घर फर्किएको इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख प्रहरी निरीक्षक उपेन्द्रबहादुर बुढाथोकीले बताए ।
भारतका विभिन्न सहरमा रोजगारी गरेर घर फर्कने नेपालीको नेपालगञ्जस्थित जमुनाह नाकामा प्रत्येक दिन बिहान लर्को लाग्ने गरेको छ । दैनिक करिब तीन हजार बढी भारतमा काम गर्ने नेपाली जमुनाह नाका हुँदै दसैँ मनाउन घर फर्किने गरेको उनको भनाइ छ । ‘अहिले भारत जानेभन्दा आउनेको भीडभाड बढी छ, सोह्रश्राद्ध सुरु भएयता भारतमा काम गर्ने नेपाली घर फर्किनेक्रम ह्वात्तै बढेको छ’, बुढाथोकीले भने, ‘बिहान ७ बजेदेखि ११ बजेसम्म जुमनाह नाकामा घर फर्किने नेपालीको भीड हुने गरेको छ ।’
दसैँ मनाउन भारतबाट आउने नेपालीको सहजताका लागि जमुनाह नाकामा जिल्ला ट्राफिक प्रहरीसँगको समन्वयमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । रिक्सा, इ–रिक्सा, बस, मिनीबस र होटेल व्यवसायीबाट स्वदेश फर्किने नेपालीलाई ठगिन नदिन नेपाल प्रहरीले सचेतना अभियान पनि चलाएको इलाका प्रहरी कार्यालय जमुनाह नाका इञ्चार्ज बुढाथोकीले बताए ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू