‘जोरायली बासमती धान’ डोटीको पहिचान

डोटी । डोटीको दक्षिणी क्षेत्रमा पर्ने जोरायल क्षेत्र मसिनो बास्नादार बासमती धान फल्ने ठाउँका लागि चर्चित छ । नेपालमा अन्यत्र कतै उत्पादन नहुने परम्परागत (रैथाने) जातको ‘जोरायली बासमती’का खेतको  धान काटेर भित्र्याउन भ्याइनभ्याई छ ।

कर्मनासा नदीको वरिपरि देखिने धानका फाँटसहितको वरिपरिको प्राकृतिक दृश्य रमणीय छ ।  जोरायल गाउँपालिकामा पर्ने जोरायल क्षेत्रको भूबनोट वरिपरि पहाड र बीचमा समथर भू–भाग रहेको छ । प्राकृतिक रूपमा मनोरम यो क्षेत्र समुद्र सतहदेखि अनुमानित एक हजार आठ सय मिटरको उचाइमा रहेको छ । अढाइ दशकदेखि सडक सञ्जाललगायत विकासका पूर्वाधार पुगेपछि सो क्षेत्रको समग्र विकासमा टेवा पुगिरहेको स्थानीयवासीको अनुभव छ । ‘सडक नहुँदा जोरायल क्षेत्रमा मालसामान ढुवानी गर्न र आवागमन गर्न समस्या थियो’, स्थानीय मदनराज जोशीले भने, ‘अहिले सडक पूर्वाधार पुग्दा किसानले आफ्नो कृषि उपज सहज रूपमा बजारसम्म पुर्याउन पाएको मात्र नभई आवागमन गर्न निकै सहज बनेको छ ।’

कैलालीको सीमासँग जोडिएको जोरायल क्षेत्रले रैथाने जातको मासिनो बास्नादार बासमती धान उत्पादनका लागि सदियौँदेखि छुट्टै पहिचान बनाएको छ । खानामा स्वादिलो, नरम र बास्नादार हुने विशेषताका कारण ‘जोरायली बासमती’ले यो क्षेत्रको पहिचान बनाएको हो । बासमती चामलको माग सबैतिर हुन थालेसँगै कतिपय स्थानीय युवाहरू यसको कारोबार गरेर आम्दानी गर्न आकर्षित भइरहेका छन् ।

पछिल्ला वर्षमा यो धानको व्यावसायिक खेती सुरु भएसँगै स्थानीय किसानको आयआर्जन वृद्धि भइरहेको स्थानीय युवा भक्तराज जोशीले बताए । ‘व्यावसायिक रूपमा यसको खेती सुरु भएसँगै धान उत्पादन गर्ने किसानमात्र नभएर धानबाट चामल बनाएर कारोबार गर्दा भइरहेको आम्दानीले युवाहरू आकर्षित भएका छन्,’ उनले भने ।

स्थानीय किसानले आफ्नो घरायसी उपभोगका लागि मात्र खेती गर्ने गरेकामा पछिल्लो दशकमा व्यावसायिक रूपमा समेत यसको खेती गर्न थालिएको छ । यो धानले खेतीयोग्य अधिकांश जग्गा ओगट्न थालेपछि मार्सी, सलौज, थापाचिनीजस्ता रैथाने जातका धानखेती गरिने क्षेत्रफल भने घट्दै गएको जनाइएको छ । खेतका फाँट छेउ हुँदै बग्ने कर्नासी, गोगनी, सैगडालगायत नदीको पानीले खेतका फाँट सिञ्चित गर्न सहज भइरहेको छ । अग्लो ठाउँको  र पाखो जग्गामा भने सिँचाइ पुर्याउन सकिएको छैन । सिँचाइ नपुगेको जग्गामा अन्य जातका धानखेती हुने गर्छ ।

यो क्षेत्रको समथर जग्गाको नदी छेउका फाँटको हावापानीमा बासमती जातको धान उत्पादनका लागि उर्वरभूमि मानिन्छ । धनगढी, अत्तरियालगायत सहरी क्षेत्रमा बासमती चामलको भात खाने बानी परेका सौखिनहरू यसको चामल खोज्दै हिंँडेको भेटिन्छन् । टोलको कुनै घरमा यो चामलको भात पाक्दै गर्दा पूरै टोलभरी पाक्दै गरेको भातको सुगन्ध फैलिन्छ । तत्कालीन राजा महेन्द्रले गरेको जोरायल भ्रमणका क्रममा ‘जोरायली बासमती’ चामलको भातको प्रशंसा गरेको स्थानीय जेष्ठ नागरिकहरुको भनाइ छ । पछिल्ला दशकमा यो धानको बीउ हराउने हो कि भन्ने चिन्ता स्थानीयमा बढेपछि गाउँपालिका र किसानको संयुक्त पहलमा यसको रैथाने बीउ संरक्षणको पहल पनि भइरहेको छ ।

रासायनिक मलको प्रयोग नगरी गोबर कम्पोष्ट मलको प्रयोगले मात्र खेती गर्दा पनि यो धानको उत्पादकत्व राम्रो हुने गरेको स्थानीय किसानको अनुभव छ । पछिल्ला वर्षमा भने यसको खेती गर्दा रासायनिक मलको पनि प्रयोग गर्न थालिएको छ । चाडपर्वका समयमा पकाइने मिठोमसिनो खानाको परिकारका रूपमा बासमती चालमको भातलाई लिने गरिन्छ । चाडपर्वका दिन छरछिमेकीसंँग पैंँचो मागेर भए पनि यो चामलको भात हरेकका घरमा पाक्ने गर्छ ।

मिठोमसिनो हुने भएकाले यो चामल स्थानीय बजारमा पाइने चामलभन्दा बढी मूल्यमा खरिद बिक्री हुने गरेको छ । उत्पादन क्षेत्रमा बासमती धानको थोक मूल्य प्रतिकिलो रु ७० पर्छ । मिलमा कुटानी गरेको यो धानको चामल प्रतिकिलो रु एक सय २० पर्दा ढिकी कुटेको चामल भने प्रतिकिलो रु एक सय ४० पर्ने गरेको छ । धनगढीलगायतका क्षेत्रमा भने यसको चामलको मूल्य प्रतिकिलो रु एक सय ५० सम्ममा कारोबार भइरहेको छ ।

जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा गाउँपालिकाले यो धानको बीउ संरक्षण, खेती विस्तार र उत्पादित धानको बजारीकण, प्राविधिक सहयोगलगायतका काममा किसानलाई सहयोग गरिरहेको बताए । ‘जोरायलका किसानको मुख्य आम्दानी स्रोत यो धान देखिएको छ, यसको कारोबार थप क्षेत्रमा विस्तार गर्नसके किसानको आम्दानी बढ्ने देखिन्छ,’ अध्यक्ष ओझाले भने । यसको माग बढेसँगै व्यापार गर्दा आम्दानी गर्न सकिने भएपछि बासमती धान दाइँ गर्ने मौसममा व्यापारीहरू धानखेतमै पुग्ने गरेका छन् । जोरायल क्षेत्रको धन्नास, बगडीगाउँ, चनकट्टे, सिलम्बाग, सुगाँल, राउतकट्टेलगायतका गाउँको एक हजारभन्दा बढी हेक्टर क्षेत्रफलको ओसिलो जग्गामा यो धानको खेती हुने गर्छ ।
मसिनो तथा बास्नादार धानको उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्ने प्रदेश सरकारको नीतिबमोेजिम रैथाने जातका अन्नबाली, मसिनो तथा बास्नादार धान उत्पादन कार्यक्रम संरक्षण सवंर्द्धनमा सहयोग गर्दै आएको छ । यद्यपि ठूलो क्षेत्रफलमा मसिनो तथा बास्नादार धानखेतीको क्षेत्रफल अपेक्षित रूपमा बढ्न नसक्दा प्रदेशका अधिकांश जिल्लामा खपत हुने मसिनो धान बाहिरी जिल्लाबाट आपूर्ति गर्नुपर्ने अवस्था छ ।

बाहुन, क्षेत्री, दलित, ठकुरी, मगरलगायत समुदायको बसोबास रहेको यो क्षेत्रमा सडक, विद्युत्, सञ्चारलगायत विकासका आधारभूत पूर्वाधार जुटिसकेका छन् । अवसरको खोजीमा आफ्नो पुख्र्यौली थलो छाडेर वर्षौँअघि अन्यत्र बसाइँसराइ गरेका जोरायलवासी अहिले त्यहाँ भइरहेका सडकलगायत विकासका कामले पुनः आफ्नै जन्मथलोमा फर्किने हो कि भनेर सोच्न थालेका छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार