
झापा । मेचीनगर नगरपालिका ८ का पर्शुराम गिरीले दुई वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका छन् । करिब १० कट्ठा जमिनमा खेती सुरु गरेका उनले एक याममा तीन लाख रुपैयाँ आम्दानी गरिरहेका छन् । वैदेशिक रोजगारीमा १७ वर्ष बसेर स्वदेश फर्केपछि गिरीले व्यावसायिक केराखेती सुरु गरेका हुन् । खेतीबाट मनग्य आम्दानी हुन थालेपछि खेतीको क्षेत्रफल विस्तार गरी १५ कठ्ठा बनाएको उनले उल्लेख गरे । आगामी दिनमा थप खेती विस्तार गर्ने योजनासहित पाँच बिघा जमिन खोजी गरिरहेको उनले बताए ।
गिरीले ‘जिनाइन’ जातको केराका छ सय बोट लगाएको जानकारी दिँदै यो केराको कोसा पोटिलो, ठूलो र पाकेपछि अरुभन्दा स्वादिलो हुने बताए । ‘रुखोपाखो जग्गा भएकाले धान रोप्दा रु १० हजार नाफा हुँदैनथ्यो’, उनले भने, ‘अहिले केरा बेचेर एक याममा तीन लाख रुपैयाँ आम्दानी भइरहेको छ ।’ खनजोत, मल, रोग, कीराको नियन्त्रणलगायतमा करिब रु एक लाख खर्च हुने जनाउँदै उनले हरेक याममा दुई लाख रुपैयाँ बचत गरिरहेको उल्लेख गरे ।
मेचीनगर, अर्जुनधारा, गौरीगञ्ज, कचनकबल, गौरादह, बाह्रदशी, कमल र भद्रपुरमा एक हजार ९०० हेक्टर क्षेत्रफलमा व्यावसायिक केराखेती भइरहेको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । सामान्यतः केराको बोट नौ महिनामा पसाउने र एक वर्षभित्रै उत्पादन दिने गरेको छ ।
यहाँ उत्पादित केरा स्थानीय बजारबाहेक काठमाडौँ, पोखरासम्म पुग्ने गरेको किसान बताउँछन् । केराखेतीमा लागेका अधिकांश किसान मेचीनगरका पर्शुराम गिरी जस्तै वैदेशिक रोजगारीबाट फर्केका छन् । पाँच कठ्ठादेखि ५० बिघासम्म जमिनमा केराखेती लगाउने किसान जिल्लामा रहेका केन्द्रले जनाएको छ ।
विसं २०६० मा बाह्रदशीका डम्बर पाहिमले १० बिघा क्षेत्रफलमा पहिलोपटक व्यावसायिक केराखेती सुरु गरेका थिए । त्यसपछि झापा गाउँपालिका–३ का चन्द्रबहादुर बस्नेतले इजरायलबाट फर्केर ३० बिघा जग्गामा केराखेती गरेपछि अन्य क्षेत्रमा पनि यसको अनुकरण हुन थालेको पाहिमले बताए । विसं २०७१ मा जिल्लामा ३० हेक्टर क्षेत्रफलमा मात्र व्यावसायिक केराखेती हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ । हाल क्षेत्रफल विस्तार भएर जिल्लामा एक हजार ९०० हेक्टरमा व्यावसायिक खेती भइरहेको भन्दै जिल्लामा वार्षिक ३७ हजार मेट्रिक टन केरा उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
प्रतिघरी पाँच सयदेखि सात सय रुपैयाँसम्ममा बोटबाटै बिक्री हुने गरेको कृषक गिरीले बताए । कम मेहनत र पुँजीमा छिटो र बढी आम्दानी दिने भएकाले किसानको आकर्षण बढ्न थालेको उनको धारणा छ । खेती विस्तार, प्राविधिक ज्ञानलगायत क्षेत्रमा स्थानीय सरकार, ज्ञान केन्द्र तथा अन्य सरोकार भएका निकायले अनुदान दिने, बजारीकरणमा सहजीकरण गर्ने, कृषि बिमामा सहयोगलगायत कार्यक्रम सञ्चालन गरेपछि केराखेतीतर्फ किसान आकर्षित भएका गिरीले बताए । उनका अनुसार मल, सिँचाइ, हुरी, कीराको सङ्क्रमण, उचित उपचारको अभावलगायत कारणले केराखेती गर्न चुनौती थपिँदै गएको छ । झापाका किसानले चिनीचम्पा, मालबोक, जिनाइन र इजरायली प्रजातिका केराखेती गर्दै आएका कृषि ज्ञान केन्द्रले जनाएको छ ।













समाचार
लेखक तथा फोटोग्राफर भरतबन्धु थापाको फोटो पुस्तक ‘प्याराडाइज बागमती’ सार्वजनिक
प्रधानमन्त्री बालेनले लिए सुनसरी घटनाको विस्तृत ब्रिफिङ
मन्त्री चौधरीको पहलमा देशभर चरणबद्ध रूपमा लागू हुँदै पशु वधशाला तथा मासु जाँच ऐन
सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक
सेयर बजारको गिरावटमा लागेन ब्रेक, परिसूचक ७ अंकले घट्दा ४ अर्बको कारोबार
विदेशी मुद्राको सञ्चिति साढे ३७ खर्ब माथि, १९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
चालु खाता ८०२ अर्ब एवम् शोधनान्तर स्थिति ९२६ अर्बले बचतमा
रेमिट्यान्स आप्रवाह ३८ प्रतिशतले बढ्यो, ११ महिनामा २१ खर्ब बढी भित्रियो
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए
भौतिक विकासको पर्खाइमा पलगडी गाउँ