
म्याग्दी । विगत तीन दशकयता यहाँको ऐतिहासिकस्थल ज्यामरुककोट क्षेत्रका दुई दर्जनभन्दा बढी कुवा र पँधेराहरु नासिएका छन् । तत्कालीन पर्वत राज्यअन्तर्गतको शक्तिशाली ज्यामरुककोटमा १७औँ शताब्दीमा ज्यामरुके राजा भर्दिवम मल्लले निर्माण गर्न लगाएका चारओटा कुवा र अन्य ऐतिहासिक सम्पदाहरू नासिएका स्थानीयले बताएका छन् ।
स्थानीयले पानीको स्रोतका रूपमा निर्माण गरेका २० ओटाभन्दा बढी कुवा र पँधेराहरु गाउँगाउँमा मोटरबाटो र विकास पूर्वाधारहरु निर्माण गर्ने क्रममा नासिएका स्थानीय ८५ वर्षीय बेदप्रसाद उपाध्यायले बताए । ‘विसं २०५० सम्म गौश्वारा, तमाने, सानालेख, भकुण्डे, फापरखेत, रोहोटे, खबरा, बगरफाँटलगायत ठाउँमा रहेका कुवा र पँधेराको हाल नामोनिसान मेटिएको छ । बाँकी रहेका पुराना केही कुवा र पँधेरा पनि पुरिन थालेका छन्’, उनले भने,‘खानेपानीको सङ्कट बढ्दै गएको छ तर सयौँ वर्षपहिले निर्माण गरिएका कुवा र पँधेरा भने नासिँदै गएका छन् । यिनको संरक्षण गर्न सक्ने हो भने मूलको चिसो र सफा पानी खान पाइने थियो ।’
बेनी नगरपालिका–२ मा पर्ने ज्यामरुककोट प्राकृतिक सुन्दरता, जैविक विविधता, ऐतिहासिक सम्पदाले सम्पन्न छ । यहाँ पर्यटन प्रवर्धनका लागि मोटरबाटोलगायत संरचना बन्न थालेपछि कुवा, पँधेरालगायतका प्राचीन सम्पदा भने नासिँदै गएका समाजसेवी भीमबहादुर पौडेलको भनाइ छ । ज्यामरुककोटवासी कुवाको पानीमा भर पर्न छोडेको तीन दशक भइसकेको छ । अस्तित्व बाँकी रहेका केही कुवा पनि जीर्ण अवस्थामा छन् । पानीको हाहाकार हुने अवस्था आइरहेका बेला यस्ता स्रोतहरूको संरक्षणमा लाग्न आवश्यक रहेको शिक्षक टीकाबहादुर कार्कीको भनाइ छ ।
बेनी नगरपालिका—२ खबराका चन्द्रबहादुर कार्की विकासका गतिविधि सञ्चालन गर्दा वातावरणीय प्रभाव र अन्य प्राकृतिक सम्पदाको संरक्षण पनि सँगसँगै अगाडि बढाउनुपर्ने बताउछन्। कुवा र पँधेरा मात्रै होइन गाउँघरबाट देवल, मूर्ति, चौतारी, पोखरी, मठ, मन्दिर, ढिकी जाँतो, घट्ट, ठेकाठेकी, घुमाउने घर, ढुङ्गेधारालगायत रैथाने सीप र ऐतिहासिक सम्पदा हराइरहेकामा उहाँले चिन्ता व्यक्त गरे ।













समाचार
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज
उपत्यका छाड्ने यात्रुको चाप उच्च
जयन्ती मावि आवासीयमा रुपान्तरण
विश्वकप क्रिकेट लिग–२ : ओमानको सामना गर्दै नेपाल
अवरुद्ध गलकोट–ताराखोला सडक सञ्चालन
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?
पोखरा-भरतपुर-लुम्बिनीबिच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
आजसम्म कायम सेयरधनी गुराँस लघुवित्तको लाभांश पाउने
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पुजा गरिँदै