घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले दसैँको मुखमा सामाजिक सुरक्षा भत्ता पाउने ज्येष्ठ नागरिक तथा अन्य लाभग्राहीलाई घरदैलोमै पुगेर भत्ता वितरण गर्नुका साथै स्वास्थ्य सेवा प्रदान गरेको छ । ‘जहाँ हाम्रा नागरिक, त्यही हाम्रो कार्यालय, त्यही हाम्रो सेवा’ भन्ने नारासहित गाउँपालिकाले घरदैलोबाटै सामाजिक सुरक्षा भत्ता वितरणसँगै सामान्य स्वास्थ्य जाँच तथा स्वास्थ्य परामर्श सेवा प्रदान गरेको हो ।

गाउँपालिकाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अर्थात् साउनदेखि असोजसम्मको सामाजिक सुरक्षा भत्ता वितरणका लागि एकीकृत घुम्ती सेवा सञ्चालन गरेको छ । कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिक, ज्येष्ठ दलित नागरिक, ज्येष्ठ एकल महिला, विधवा, पूर्ण अपाङ्गता भएका व्यक्ति, अति अशक्त अपाङ्गता भएका व्यक्ति तथा पाँच वर्षमुनिका दलित बालबालिकालाई लक्षित गरिएको प्रमुख प्रशासकीय अधिकृत विकासचन्द्र शर्माले बताए ।

बैंकसम्म पुग्न कठिनाइ हुने ज्येष्ठ नागरिक तथा अशक्त लाभग्राहीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले टोलटोलमै पुगेर भत्ता वितरण तथा स्वास्थ्य सेवा प्रदान गरिएको उनले बताए । भत्ता वितरणसँगै सामान्य स्वास्थ्य जाँच र स्वास्थ्य परामर्श उपलब्ध गराउँदा लाभग्राहीलाई स्थानीयस्तरमै सेवा लिन सहज भएको छ ।

गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणका लागि यही असोज २२ देखि २९ गतेसम्म विभिन्न वडाका टोलमा सेवा सञ्चालन गर्ने समय तालिका सार्वजनिक गरेको छ । वडा नम्बर १ मा देवीडाँडा आमासमूह भवन (तिलडाँडा)मा सोमबार सेवा प्रदान गरिएको छ भने समस्तीपुर (चौतारा) मा आज सेवा प्रदान गरिनेछ ।

वडा नं २ का एक्लेफाँटमा असोज २३ गते सेवा प्रदान गरिएको थियो भने तिलबारी, नयाँगाउँ, डुम्रीखर्कमा सोमबार सेवा प्रदान गरिएको छ । ढापटार, नारीघाट, खानीखोला, ढकालटार, अदुवाखर्क, घोक्रिङखर्क र सहकारी टोलमा असोज २७, २८ र २९ गते सेवा उपलब्ध गराइनेछ ।

गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणका लागि प्रभु बैंक लिमिटेडको बरादी शाखा तथा प्राइम कमर्सियल बैंक, कुमारी बैंक, एनएमबी बैंक र ज्योति विकास बैंकका आँबुखैरेनी शाखासँग समन्वय गरेको छ ।

आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ज्येष्ठ नागरिक तथा अशक्त लाभग्राहीलाई सहज र सरल रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले घरदैलोमै पुगेर भत्ता वितरण तथा स्वास्थ्य सेवा प्रदान गरिएको बताए ।

स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार भएकाले नागरिकले सेवा लिन अनावश्यक दुःख र झन्झट व्यहोर्न नपरोस् भन्ने उद्देश्यले एकीकृत घुम्ती सेवा सञ्चालन गरिएको उनको भनाइ छ । “नागरिकलाई सेवा लिन कार्यालय वा बैंकसम्म धाउनुपर्ने अवस्था कम गर्दै स्थानीय सरकार आफैँ नागरिकको घरदैलोसम्म पुग्नुपर्छ भन्ने हाम्रो मान्यता हो”, उनले भने ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर