पर्यटक भन्छन्ः ‘मानुङकोटको सुन्दरताले लोभ्यायो’

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटमा पछिल्ला दिनमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ। पोखरा र काठमाडौंबाट आएका पर्यटकले सामाजिक सञ्जालमा हेरेको भन्दा प्रत्यक्ष दृश्य अझ मनमोहक लागेको बताएका छन्।

पोखराकी लक्ष्मी कार्कीले भनिन्, “सामाजिक सञ्जालमा मानुङकोटका दृश्य देखेका थियौँ, प्रत्यक्ष आँखाले हेर्दा झनै आकर्षक लाग्यो। यहाँबाट देखिने सूर्योदय र हिमशृङ्खलाले लोभ्यायो।” उनी पोखराबाट सोमबार बिहान २ बजे साथीहरू सहित गाडीमा मानुङकोट आएकी थिइन्।
त्यस्तै, काठमाडौंकी लुनिभा श्रेष्ठले पनि मानुङकोटको सुन्दरताले मोहनी लगाएको बताइन्। “पहिले आउन सकिएकी थिइनँ, यो पटक तिहार बिदामा समय मिल्यो। यहाँको दृश्य साँच्चै लोभलाग्दो रहेछ,” उनले भनिन्। दमौलीका सुदीप गफ्फारका अनुसार यतिबेला पर्यटकको भीड बढी भएकाले होटलमा बासको व्यवस्था पहिल्यै गर्नुपर्ने अवस्था छ। दैनिक एक हजारभन्दा बढी पर्यटक यहाँ पुग्ने गरेका छन् भने सोमबार बिहान मात्रै करिब दुई हजारले सूर्योदयको दृश्यावलोकन गरेका थिए।

मानुङकोटस्थित अम्ब्रेला रेष्टुराँका सञ्चालक शैलेश सुनामका अनुसार अहिले पर्यटक सिजन चलिरहेको छ। “दसैं–तिहारपछि चिसो मौसम सुरु भएसँगै यहाँको सूर्योदय, कुहिरो र सूर्यास्त हेर्न धेरै पर्यटक आउँछन्,” उनले बताए। उनका अनुसार रेष्टुराँमा प्रतिव्यक्ति रु १,२०० मा रातको बास, खाना र बिहानको नास्ता उपलब्ध गराइन्छ। पर्यटक बढेसँगै मानुङकोटमा होटल व्यवसाय पनि विस्तार भएको छ। पहिले होटल नहुने ठाउँमा अहिले करिब एक दर्जन होटल सञ्चालनमा छन्। व्यास नगरपालिकाले दृश्यावलोकन स्तम्भ, रेलिङ र पैदलमार्ग निर्माण गरी पूर्वाधार विकास गरेको छ।

मानुङकोटबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु र लमजुङ हिमालका दृश्य देख्न सकिन्छ। कुहिरोले ढाकिएको दमौली बजारबारे महर्षि वेदव्यासका पिता परासर ऋषिसँग जोडिएको पौराणिक किंवदन्ती पनि चर्चित छ। सडक कालोपत्र भएपछि मानुङकोट पुग्न सहज भएको छ। सहरी विकास मन्त्रालयको लगानीमा अलैँचे–मानुङकोट चार हजार ३०० मिटर सडक कालोपत्र गरिएको व्यास नगरपालिकाले जनाएको छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार