
झापा। अलैँचीको भाउ यस वर्षको सबैभन्दा उच्चबिन्दुमा पुगेर ओरालो लागेको छ । आज प्रतिमन (४० केजी) अलैँची अधिकतम १ लाख रुपैयाँमा किसानबाट खरिद भइरहेको नेपाल अलैँची व्यवसायी महासङ्घका अध्यक्ष दीपक नेपालले जानकारी दिए । व्यवसायीले किसानबाट ‘चालू’ र ‘जेजे’ गरी २ गुणस्तरको अलैँची खरिद गर्दै आएका छन् । जेजे अलैँचीको मूल्य आज १ लाख रुपैयाँ प्रतिमन कायम भएको हो भने चालू अलैँची ९७ हजार रुपैयाँ प्रतिमनका दरले खरिदबिक्री भइरहेको उनले जानकारी दिए ।
यस वर्ष अलैँचीको भाउ मङ्गलबार सबैभन्दा उच्चबिन्दुमा पुगेको थियो । उनका अनुसार मङ्गलबार जेजे अलैँची प्रतिमन १ लाख २ हजार रुपैयाँमा कारोबार भएको थियो । हिजोको तुलनामा आज प्रतिमन २ हजार रुपैयाँका दरले मूल्यमा गिरावट आएको छ । “अलैँचीको भाउ निरन्तर उकालो लागिरहेको थियो, आजमात्र २ हजार रुपैयाँका दरले ओरालो लागेको हो”, उनले भने, “अहिले किसानहरूले औलो क्षेत्रको अलैँची बजारमा ल्याइसकेका छन् भने लेकाली क्षेत्रको अलैँची भर्खर भट्टी लगाउन सुरु भएको छ ।”
अलैँचीको बजार मूल्य उच्च हुने भएकाले यसलाई ‘खोल्साको सुन’ भनेर चिनिन्छ । पूर्वी पहाडका किसानहरू अहिले बढेको भाउले प्रत्यक्ष लाभान्वित भएका छन् । अध्यक्ष नेपालका ४२ जिल्लामा अलैँची खेती हुने गरे तापनि कोशी प्रदेशका पाँचथर, ताप्लेजुङ, इलाम, सङ्खुवासभा, खोटाङ, भोजपुर र तेह्रथुम जिल्लामा धेरै उत्पादन हुने गरेको छ ।
नेपालमा उत्पादित अलैँचीको ९० प्रतिशतमात्र निर्यात हुने गरेको छ । नेपालबाट भारत पुगेको अलैँची त्यहाँबाट ‘ब्रान्डिङ’ भएर विश्व बजारमा पुग्ने गरेको छ । विश्वबजारमा नेपाली अलैँचीले सोझो पहुँच पुर्याउन सकिरहेको छैन । कोशी प्रदेशमा ७ हजार ५०० हेक्टरभन्दा बढी क्षेत्रफलमा अलैँचीखेती हुँदै आएको छ । आर्थिक वर्ष २०८१\८२ मा काँकरभिट्टा नाका भएर ७ अर्ब ६७ करोड रुपैयाँको अलैँची भारत निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ ।
चालु आव २०८२/८३ को प्रथम त्रैमासिक अवधिमा अलैँचीको निर्यात ३३ प्रतिशतले वृद्धि भएको मेची भन्सार कार्यालयले जनाएको छ । विगत साउन, भदौ र असोज महिनामा काँकरभिट्टा नाका भएर १ अर्ब ६७ करोड ९१ लाख ७५ हजार रुपैयाँ मूल्यबराबरको १ हजार ७२ मेट्रिक टन अलैँची भारत निर्यात भएको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिए।













समाचार
नेपालीहरूको जीवन मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति
विद्युत् प्राधिकरणमा ५० हजार विद्युत् मिटर उपलब्ध, नयाँ जडानका लागि निवेदन दिन आग्रह
विश्वकप नकआउटमा आज आइभोरी कोस्ट र नर्वे भिड्दै
उत्पादनमा आधारित उद्योगलाई सरकारले प्रोत्साहन गर्छः मुख्यमन्त्री बानियाँ
कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह
हुलाक सेवा पुनर्जागृत गरेर सरकारी सेवा घरघरमै पुर्याउने जग बस्योः सञ्चारमन्त्री डा. तिमिल्सिना
पाँच सय जनाले पाए सुधारिएको चुलो
सदर चिडियाखानामा बर्डफ्लु नियन्त्रणमा
२४.६३ अंकले घट्यो नेप्से, साढे ५८ करोडले बढ्यो कारोबार रकम
केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन