मुस्ताङको संस्कृति र सम्पदाबारे राजधानीमा चर्चा

काठमाडौं । मुस्ताङको इतिहास, संस्कृति तथा सम्पदाको उजागर गर्नुपर्नेमा मुस्ताङवासी र सरोकारवालाहरूले जोड दिएका छन् । नेपाल समाज मिडिया प्रालिले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनीहरूले मुस्ताङको इतिहास र सम्पदाको जति ऐतिहासिक महत्त्व छ त्योअनुरूप त्यसको महत्त्व उजागर हुन नसकेको धारणा व्यक्त गरेका हुन् ।

कार्यक्रममा सोबारिया इन्टरनेशनल कलेजका संस्थापक निर्देशक आम्ची तेन्जिन धार्केले मुस्ताङको उपचार प्रद्धति र अभ्यासबारेमा जानकारी गराए । त्यहाँको उपचारविधि ‘एलोपेथी’, ‘होमियोपेथी’, र आयुर्वेदजस्तै  रहेकाले देशव्यापी उपचार  पद्धतिको रूपमा विकास गर्नुपर्ने उनले धारणा राखे । हिमाली जडीबुटीबाट सस्तोमा औषधि उत्पादन हुने, उद्योग खोलेर रोजगारी दिन सकिने, वातावरणमैत्री हुने, पर्यटन प्रवद्र्धन र औषधि आयातमा कमी आउने भएकाले यसमा सरकारले ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

योगी नरहरिनाथ बृहत् अध्यात्म परिषद्का महासचिव डा योगी दयानाथले मुस्ताङका बारेमा शिवपुराण, हिमवतखण्डमा तथा नरहरिनाथका एक दर्जन पुस्तकमा हिमाली जडीबुटी र त्यहाँको उपचार विधि उल्लेख भएको बताए । बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मोहनकुमार तामाङले मुस्ताङलाई धार्मिक एवं सांस्कृतिक पर्यटनको हब बनाउन सकिने बताए। उनले यसलाई बौद्ध तीर्थस्थलका रूपमा विकास गर्न सकिने बताए ।

मुस्ताङका पूर्वअधिराजकुमार जिग्मे सेङ्गे पल्बरले  मुस्ताङ १५ औँ शताब्दीमा चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिण एसियालाई जोड्ने सेतु रहेको बताए । उनले नेपालको परिचय दिने मुस्ताङ पछिल्लो समय जलवायु परिवर्तन र बसाइँसराइको मारमा परेकाले  मुस्ताङको संस्कृति परम्परा संरक्षणमा चुनौती देखिएको धारणा राखे । विश्व वन्यजन्तु कोषका कन्ट्री डाइरेक्टर डा घनश्याम गुरुङले मुस्ताङको मौलिक संस्कृति जगेर्ना गर्नुपर्ने बताए ।

नेपाल समाजका सल्लाहकार पुण्यप्रसाद पराजुलीले सरकारी तवरबाट मुस्ताङको महत्त्व उजागर गर्नेतर्फ ध्यान जान जरुरी रहेको धारणा व्यक्त गरे । पद्यकन्या क्याम्पसका उपप्राध्यापक उमेश रेग्मी लगायतले मुस्ताङको इतिहास र सांस्कृतिक सम्पदाबारेमा चर्चा गरेका थिए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार