डेढ दशकपछि छिपछिपे–कोटगाउँ सडक कालोपत्र, सदरमुकाम पुग्न सजिलो

पर्वत । मार्ग खुलेको झण्डै डेढ दशकपछि पर्वतको कुश्मा नगरपालिका–४ अर्मादीदेखि वडा नं २ खुर्कोट जोड्ने छिपछिपे–कोटगाउँ–खुर्कोट सडक कालोपत्र भएको छ। छिपछिपे–कोटगाउँ सडकखण्डअन्तर्गत छिपछिपे–आँटीघर–गगनपानी माथिको घुम्तीसम्म कालोपत्र गर्ने काम सम्पन्न भएको हो।

उक्त सडक खण्डमा झण्डै २२० मिटर ढलान र एक किलोमिटर कालोपत्र गरिएको छ। त्यसैगरी, पोलम नाली, २९५ घनमिटर जाली भर्ने कार्य लगायतका संरचना निर्माण कार्य सम्पन्न भएको सडक निर्माण समितिका अध्यक्ष गणेशबहादुर क्षेत्रीले जानकारी दिए।

गत फागुन महिनाबाट काम सुरु गरेको निर्माण व्यवसायीले तीव्र गतिमा काम गरेकाले यो सडक निर्धारित समयभन्दा अगावै सम्पन्न भएको हो। इन्धनको मूल्य उल्लेख्य मात्रामा वृद्धि भएपछि अन्यत्रका विभिन्न आयोजना रोकिएका भए पनि यो आयोजनामा भने निरन्तर काम भएको थियो। सडक निर्माणका लागि आगामी असार मसान्तसम्मको अवधि रहे पनि डेढ महिना अगावै काम सम्पन्न भएको हो।

उक्त सडकको कालोपत्र गर्ने काम खुर्कोट कोट कालिका मन्दिरसम्म पुर्‍याउने लक्ष्य भए तापनि बजेट अभावका कारण यस वर्ष गगनपानी माथिको घुम्ती भन्ने स्थानसम्म मात्र निर्माण कार्य सम्पन्न भएको अध्यक्ष क्षेत्रीले बताए। निर्माण भएका संरचनाको मूल्याङ्कन गरी बाँकी रहेको बजेटबाट अन्य कार्य अगाडि बढाइने कुश्मा नगरपालिका–२ का वडाध्यक्ष लालकृष्ण बास्तोलाले जानकारी दिए। उक्त सडकको बाँकी खण्डमा कालोपत्र र ढलानका लागि आगामी आर्थिक वर्षमा थप बजेट विनियोजन गर्न कुश्मा नगरपालिकामार्फत सङ्घीय सरकारसँग प्रस्ताव गरिएको वडाध्यक्ष बास्तोलाले बताए।
सडक निर्माणका लागि कुश्मा नगरपालिका र सङ्घीय सरकारको समपूरक बजेटअन्तर्गत २ करोड १५ लाख रुपैयाँ विनियोजन भएको थियो। उक्त रकममध्ये कुश्मा नगरपालिकाले १ करोड २९ लाख र सङ्घीय सरकारले ८६ लाख रुपैयाँ लागत साझेदारी गरेका हुन्। चालु आर्थिक वर्षको असार मसान्तसम्ममा तोकिएका सबै निर्माण कार्य पूरा गर्ने लक्ष्य रहेको अध्यक्ष क्षेत्रीले बताए। यो सडक कालोपत्र गर्न सौर्यकीरण जेभी निर्माण सेवाले ठेक्का सम्झौता गरेको हो।

सडक कालोपत्र भएपछि कुश्मा नगरपालिका–२ खुर्कोट, पाङ, बनौ र दुर्लुङका स्थानीय बासिन्दालाई सदरमुकाम आवतजावत गर्न सहज भएको छ। यसअघि वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध हुँदै आएको तथा घन्टौँ समय लाग्ने यो सडक बनेपछि अब भने आधा घन्टामै सदरमुकाम आउन सकिने स्थानीयवासी गणेश पौडेलले बताए।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार