नाइमाद्वारा अर्थमन्त्रीसँग भेट, अटोमोबाइल क्षेत्र सुधारका माग प्रस्तुत

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को टोलिले अर्थमन्त्री डा. स्वीर्णिम वाग्लेसँग भेटघाट गरेको छ । नाइमाका अध्यक्ष रितु सिंह वैद्यको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री वाग्लेसँग भेट गरी अटोमोबाइल क्षेत्र सुधारका विभिन्न सुझाव प्रस्तुत गरेको हो ।

भेटका क्रममा नाइमाको टोलिले अटोमोबाइल क्षेत्रलाई विलासिताभन्दा आवश्यकताको रूपमा हेर्नुपर्ने बताउँदै स्थिर र पूर्वानुमान गर्न सकिने नीतिगत वातावरण आवश्यक रहेकोमा जोड दिएको छ । करको भार घटाउने, कर संरचना सरल बनाउने र सवारी खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा तथा २० प्रतिशत डाउन पेमेन्ट कायम राख्ने व्यवस्था जारी राख्नुपर्ने माग राखेका छन् ।

नाइमाले भन्सार जाँचपास भइसकेपछि पनि फरक व्याख्याका आधारमा बेरुजु उठ्ने समस्या रहेको उल्लेख गर्दै स्पष्ट र एकरूप नीति आवश्यक रहेको बताएको छ । साथै भन्सार प्रक्रिया सहज बनाउने, परीक्षण पूर्वाधार विकास गर्ने, यातायात ऐन पुनरावलोकन गर्ने, डिजिटल प्रणाली विस्तार गर्ने र सडक सुरक्षा तथा प्रदूषण नियन्त्रणमा ध्यान दिनुपर्ने विषय पनि उठाइएको छ ।

यसका साथै ‘मेक इन नेपाल’ अन्तर्गत सवारी एसेम्बलिङ उद्योगलाई प्रोत्साहन गर्नुपर्ने र दीर्घकालीन नीतिगत स्थिरता सुनिश्चित गर्नुपर्ने माग नाइमाले राखेको छ । विद्युतीय सवारीका लागि स्पष्ट र प्रोत्साहनमुखी नीति बनाउन तथा हाइब्रिड सवारीलाई उचित वर्गीकरण गरेर सन्तुलित नीति लागू गर्न पनि जोड दिइएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नाइमाका सुझावहरू सान्दर्भिक रहेको बताउँदै निजी क्षेत्र अर्थतन्त्रको मुख्य आधार भएको उल्लेख गरेका छन् । उनले सरकार निजी क्षेत्रमैत्री वातावरण बनाउन सकारात्मक रहेको र कर प्रणालीलाई व्यवहारिक बनाउने दिशामा काम भइरहेको जानकारी दिए । साथै प्रस्तुत सुझावलाई आगामी नीति तथा कार्यक्रम तथा बजेटमा समेट्ने प्रतिबद्धता पनि जनाए ।

यसै क्रममा नाइमा टोलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनील लम्सालसँग पनि भेट गरी अटोमोबाइल क्षेत्रका समसामयिक विषयमा छलफल गरेको छ । मन्त्री लम्सालले अटोमोबाइल क्षेत्रले राजस्व, रोजगारी र आर्थिक गतिविधिमा पु¥याएको योगदानको प्रशंसा गर्दै कर राजस्वको केही हिस्सा सम्बन्धित क्षेत्रमै पुनः लगानी गर्ने नीति ल्याउन पहल भइरहेको जानकारी दिए । उनले नाइमाका सुझावहरू कार्यान्वयनतर्फ अघि बढाइने पनि बताएका छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार