
काठमाडौं । जीडीपीमा देशभर अग्रस्थानमा रहेको बागमती प्रदेशको अर्थतन्त्र सेवा क्षेत्रमा अत्यधिक निर्भर बन्दै गएको छ भने कृषि र उद्योग क्षेत्रको कमजोर प्रदर्शनले दीर्घकालीन आर्थिक सन्तुलनमा चुनौती थपिएको देखिएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयको प्रारम्भिक अनुमानअनुसार आर्थिक वर्ष २०८१/८२ मा बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.२ प्रतिशत रहनेछ भने प्रदेशको कुल गार्हस्थ उत्पादन करिब २२ खर्ब ३० अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।
देशको कुल गार्हस्थ उत्पादनमा बागमती प्रदेशको हिस्सा ३६.३ प्रतिशत रहेको छ, जुन देशमै सबैभन्दा बढी हो । तर यस आर्थिक शक्तिको आधार भने मुख्य रूपमा सेवा क्षेत्रमै केन्द्रित देखिएको छ ।
प्रदेशको अर्थतन्त्रमा सेवा क्षेत्रको योगदान ७७.१ प्रतिशत रहेको छ भने कृषि क्षेत्रको योगदान ११.८ प्रतिशत र उद्योग क्षेत्रको योगदान ११.१ प्रतिशत मात्र रहेको छ ।
कृषि क्षेत्रमा उत्पादन घट्दै गएको तथ्यांकले देखाएको छ । समीक्षा अवधिमा धान उत्पादन १.५ प्रतिशतले घटेको छ भने मकै र कोदो उत्पादनमा समेत गिरावट आएको छ । तरकारी उत्पादन ४.७ प्रतिशतले घटेको छ भने दूध उत्पादनमा ७३.३ प्रतिशतको उल्लेखनीय गिरावट देखिएको छ । फलफूल उत्पादन ३०.४ प्रतिशतले घटेको छ ।
उद्योग क्षेत्रमा भने केही सुधार देखिएको छ । अध्ययनमा समेटिएका उद्योगहरूको औसत क्षमता उपयोग ३९.५ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षभन्दा बढी हो । सिमेन्ट उत्पादन गर्ने उद्योगहरूमा तुलनात्मक रूपमा उच्च क्षमता उपयोग देखिएको छ भने औषधि क्षेत्रका केही उद्योगहरू न्यून क्षमतामा सञ्चालन भइरहेका छन् ।
सेवा क्षेत्र अझै पनि प्रदेश अर्थतन्त्रको मुख्य आधारका रूपमा रहेको छ । बैंक तथा वित्तीय संस्थामा निक्षेप १२.९१ प्रतिशतले वृद्धि भएको छ भने कर्जा प्रवाह ८.०७ प्रतिशतले बढेको छ । होटलहरूको औसत अकुपेन्सी ५१ प्रतिशतभन्दा माथि रहेको छ ।
प्रदेशमा ठूला पूर्वाधार परियोजनाहरू पनि निर्माणाधीन अवस्थामा रहेका छन् । काठमाडौं–तराई मधेस द्रुतमार्ग, सुनकोशी मरिन डाइभर्सन आयोजना र गल्छी–रसुवागढी सडक आयोजना जस्ता परियोजनाले दीर्घकालीन आर्थिक गतिविधिमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले बागमती प्रदेशमा पर्यटन, कृषि, जलविद्युत तथा कृषि–आधारित उद्योगको ठूलो सम्भावना रहेको जनाएको छ । पशुपतिनाथ, स्वयम्भूनाथ, बौद्धनाथ र चाँगुनारायणजस्ता विश्व सम्पदा सूचीमा सूचीकृत धार्मिक तथा सांस्कृतिक सम्पदाले पर्यटन क्षेत्र विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
तर तीव्र शहरीकरण, कृषि भूमि घट्दै जानु, जलवायु परिवर्तनको असर र उद्योग सञ्चालन लागत बढ्नुजस्ता चुनौतीले दीर्घकालीन आर्थिक विकासमा दबाब सिर्जना गरिरहेको छ ।













समाचार
नेपालीहरूको जीवन मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित : राष्ट्रपति
विद्युत् प्राधिकरणमा ५० हजार विद्युत् मिटर उपलब्ध, नयाँ जडानका लागि निवेदन दिन आग्रह
विश्वकप नकआउटमा आज आइभोरी कोस्ट र नर्वे भिड्दै
उत्पादनमा आधारित उद्योगलाई सरकारले प्रोत्साहन गर्छः मुख्यमन्त्री बानियाँ
कान्ति लोकपथमा रातको समयमा यात्रा नगर्न प्रशासनको आग्रह
हुलाक सेवा पुनर्जागृत गरेर सरकारी सेवा घरघरमै पुर्याउने जग बस्योः सञ्चारमन्त्री डा. तिमिल्सिना
पाँच सय जनाले पाए सुधारिएको चुलो
सदर चिडियाखानामा बर्डफ्लु नियन्त्रणमा
२४.६३ अंकले घट्यो नेप्से, साढे ५८ करोडले बढ्यो कारोबार रकम
केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन