
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सार्वजनिक संस्थानहरूले जनताको अपेक्षा र आकांक्षा पूरा हुने गरी जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताएको छ ।
गोरखापत्र संस्थानका नवनियुक्त महाप्रबन्धक हिक्मतबहादुर रावल तथा सुरक्षण मुद्रण केन्द्रका नवनियुक्त कार्यकारी निर्देशक देवराज ढुंगानालाई आज मन्त्रालयमा नियुक्तिपत्र प्रदान गर्नुहुँदै सञ्चारमन्त्री डा तिमिल्सिनाले संस्थागत सुशासन, पारदर्शिता र कानुनसम्मत कार्यसम्पादन गर्न निर्देशन दिए ।
उनले सरकारका अंगका रूपमा रहेका दुवै संस्था मुलुकका लागि अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्नुहुँदै गोरखापत्र संस्थान ऐतिहासिक संस्था र सुरक्षण मुद्रण केन्द्र रणनीतिक महत्वको संस्था भएको बताए ।
संस्थालाई व्यक्तिगत स्वार्थभन्दा माथि राखेर संरक्षण र विकास गर्नुपर्नेमा जोड दिनुहुँदै उनले कसैको आग्रह–पूर्वाग्रहबाट मुक्त भई विधि, विधान र कानुनअनुसार संस्था सञ्चालन गर्नसमेत निर्देशन दिए । त्यस्तै जागिर खाने मानसिकतामा सीमित नभई संस्थाको क्षमता अभिवृद्धि, सेवा विस्तार र दीर्घकालीन विकासमा केन्द्रित हुनुपर्नेमा उनको जोड थियो ।
मन्त्रालयले दुवै संस्थाको सुधार र सुदृढीकरणका लागि आवश्यक सहयोग एवम् सहकार्य गर्ने प्रतिबद्धतासमेत सञ्चारमन्त्री डा तिमिल्सिनाले व्यक्त गरे ।
यसअघि २०८३ असार १८ गते बसेको मन्त्रिपरिषद् बैठकले गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका रावललाई चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको थियो । त्यस्तै, मोरङका ढुंगानालाई सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा बढीमा पाँच वर्षका लागि नियुक्त गरिएको छ ।
नवनियुक्त महाप्रबन्धक रावलले सरकारले लिएको सुशासन, विकास र प्रभावकारी सेवा प्रवाहको लक्ष्यलाई संस्थागत रूपमा कार्यान्वयन गर्दै गोरखापत्र संस्थानलाई समयानुकूल, व्यावसायिक र विश्वसनीय सञ्चार संस्थाका रूपमा थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले संस्थाको गरिमा, विश्वसनीयता र पाठकमैत्री सेवामा विशेष ध्यान दिइने बताए ।
त्यसैगरी, सुरक्षण मुद्रण केन्द्रका नवनियुक्त कार्यकारी निर्देशक ढुंगानाले विगतका वर्षहरूमा केन्द्रमा आर्थिक अनियमिततासम्बन्धी प्रश्न उठ्ने गरेको उल्लेख गर्दै अब संस्थालाई पूर्ण पारदर्शी, आर्थिक रूपमा सबल र आत्मनिर्भर बनाउने दिशामा काम गर्ने प्रतिबद्धता जनाए । उनले सुरक्षण मुद्रण केन्द्र रणनीतिक महत्वको संस्था भएकाले नैतिकता, व्यावसायिकता, सुशासन तथा निरन्तर सुधारलाई प्राथमिकतामा राखेर संस्थाको क्षमता अभिवृद्धि गरिने बताए ।
साथै संस्थाको वित्तीय अनुशासन, आधुनिक व्यवस्थापन प्रणाली र प्रभावकारी सेवा प्रवाहमार्फत केन्द्रको विश्वसनीयता थप मजबुत बनाइने उनको भनाइ थियो ।












समाचार
फिफा विश्वकप २०२६: आज राउन्ड अफ ३२ का अन्तिम ३ खेलहरू हुँदै
सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण
एन्फा पदाधिकारीको विदेश यात्रा नरोक्न उच्च अदालत पाटनको अन्तरिम आदेश
बोश होम नेपालद्वारा अस्मी श्रेष्ठ ब्रान्ड एम्बेसडर नियुक्त
सात वटा विश्वविद्यालयमा एकैचोटी उपकुलपति नियुक्त
उच्च प्रतिफल दिने क्षेत्रमा लगानी बढाउनुपर्छ : गभर्नर पौडेल
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा भोला थापा नियुक्त
आयल निगममा ओभरटाइम भत्ता कटौती गर्ने सरकारको तयारी
नेपाल मर्चेन्ट बैंकर्स संघद्वारा सेबोनका नवनियुक्त अध्यक्षलाई बधाई तथा पुँजी बजार सम्बन्धित छलफल
आईपीओ ल्याउने तयारीमा बाजेको सेकुवा