स्याङ्जामा एक वर्षमै ३३४ उद्योग खारेजी, ५ करोडभन्दा बढी लगानी बाहिरियो

स्याङ्जा । स्याङ्जा जिल्लामा आर्थिक वर्ष २०८२/८३ मा नयाँ उद्योग दर्ताको तुलनामा खारेजी हुने उद्योगको संख्या उल्लेख्य रूपमा बढी देखिएको छ। एकीकृत सेवा कार्यालयको तथ्यांकअनुसार गत आर्थिक वर्षमा २९० नयाँ उद्योग तथा व्यावसायिक फर्म दर्ता हुँदा ३३४ उद्योग तथा फर्म खारेजीमा परेका छन्।

कार्यालयका अनुसार उद्योगतर्फ १४९ र वाणिज्यतर्फ १४२ गरी कुल २९० नयाँ उद्योग तथा व्यावसायिक फर्म दर्ता भएका थिए। तर सोही अवधिमा उद्योगतर्फ १६९ र वाणिज्यतर्फ १६५ गरी कुल ३३४ उद्योग तथा फर्म लगतकट्टा भएका छन्। यसरी नयाँ दर्ताको तुलनामा ४४ वटा बढी उद्योग बन्द भएका हुन्।

नयाँ उद्योगबाट ३६ करोड लगानी, तर खारेजीबाट ४२ करोड बाहिरियो

गत वर्ष नयाँ उद्योग दर्तासँगै जिल्लामा करिब ३६ करोड ४० लाख रुपैयाँ नयाँ लगानी भित्रिएको छ। उद्योग क्षेत्रमा २२ करोड २० लाख रुपैयाँ र वाणिज्य क्षेत्रमा १४ करोड २० लाख रुपैयाँ लगानी थपिएको कार्यालयले जनाएको छ। यसबाट करिब ६ सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।

तर, सोही अवधिमा ३३४ उद्योग तथा फर्म खारेजीमा परेसँगै ४१ करोड ८५ लाख रुपैयाँ बराबरको लगानी बाहिरिएको छ। उद्योगतर्फ २५ करोड ३५ लाख रुपैयाँ र वाणिज्यतर्फ करिब १६ करोड ५० लाख रुपैयाँ लगानी बाहिरिएको कार्यालय प्रमुख जीवन पौडेलले जानकारी दिए।

उनका अनुसार नयाँ लगानीभन्दा खारेजीसँगै बाहिरिएको लगानी बढी हुँदा जिल्लाबाट झण्डै ५ करोड ४५ लाख रुपैयाँ बराबरको लगानी घटेको देखिन्छ। कार्यालयका अनुसार नयाँ दर्ता भएका अधिकांश उद्योग महिलाको नाममा रहेका छन्। उद्योग दर्ता शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था भएपछि महिलाको नेतृत्वमा उद्योग दर्ता गर्ने क्रम बढेको हो।

नयाँ दर्ता भएका उद्योगहरूमा कृषि, उत्पादनमूलक, सप्लायर्स, पर्यटनलगायतका क्षेत्र प्रमुख रहेका छन्। नयाँ उद्योगभन्दा खारेजी हुने उद्योगको संख्या बढ्नुको प्रमुख कारण युवाशक्ति वैदेशिक रोजगारीमा पलायन हुनु रहेको कार्यालयको निष्कर्ष छ।

उद्योग तथा वाणिज्य शाखा प्रमुख कृष्ण लम्सालका अनुसार रोजगारीका लागि युवायुवती विदेशिएपछि परिवारका सदस्यले व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्था बढेको छ। साथै आर्थिक शिथिलता, बजारमा माग घट्नु र अनुदानमुखी उद्योगहरू बन्द हुने क्रमले पनि उद्योग खारेजी बढाएको उनले बताए।

गत आर्थिक वर्षमा जिल्लामा उद्योगतर्फ ९७६ र वाणिज्यतर्फ १,०२१ गरी कुल १,९९७ उद्योग, व्यावसायिक फर्म तथा पसल नवीकरण भएका छन्। नवीकरणबाट करिब ६० लाख रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ। नवीकरण भएका उद्योग तथा व्यवसायमा झण्डै २ अर्ब ५० करोड रुपैयाँ लगानी रहेको तथा करिब ४ हजार जनाले रोजगारी पाइरहेको तथ्यांकमा उल्लेख छ।

उद्योग दर्ताभन्दा उद्योग बन्द हुने क्रम बढ्दै जानुले स्याङ्जाको स्थानीय अर्थतन्त्रमा चुनौती थपिएको संकेत गरेको छ। व्यवसायिक वातावरण सुधार, लगानी संरक्षण र युवा जनशक्तिलाई स्वदेशमै अवसर सिर्जना गर्न नसके उद्योग क्षेत्र थप प्रभावित हुन सक्ने सरोकारवालाको भनाइ छ।

फेसबुक प्रतिक्रिया