इरानमाथि अमेरिकी नयाँ प्रतिबन्ध, पाँच मुख्य सम्पत्तिमा नजर

काठमाडौं । इरानमाथि वित्तीय दबाब बढाउनका लागि अमेरिकाले नयाँ प्रतिबन्ध घोषणा गरेको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सोमबार इरानमाथि नयाँ प्रतिबन्ध लगाइएको बताएका हुन् । नयाँ प्रतिबन्धले इरानले प्राप्त गरिरहेको आम्दानीका सबै स्रोतलाई निसाना बनाएको उनले उल्लेख गरेका छन् ।

नयाँ प्रतिबन्धले इरानका पाँच मुख्य सम्पत्तिलाई निसाना बनाउनेछ । इरानी नियन्त्रणमा रहेको जलमार्ग, इरानी विद्युतीय सम्पत्ति, प्रविधि, सुन, हवाई क्षेत्र र सामुद्रिकसँगै अन्य ढुवानीका इलाकामा प्रतिबन्ध लगाउँदै इरानलाई अमेरिकाले कमजोर बनाउन खोजेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले उल्लेख गरेका छन् ।

उक्त प्रतिबन्धमा इरानसँग व्यापार गरिरहेका राष्ट्रहरूलाई समेत निसाना बनाइएको छ । ”इरानको वर्तमान सत्तालाई साथ दिइरहेका जोकोहीलाई कमजोर बनाउनु नयाँ प्रतिबन्धको उद्देश्य हो,” उनले भनेका छन् । अबदेखि विश्वका मुलुकहरूले इरान र अमेरिकामध्ये एक रोज्नुपर्ने उनले बताएका छन् । ”अमेरिकी प्रतिबन्धभन्दा माथि कोही पनि छैन,” उनको भनाइ उद्धृत गर्दै अलजजिराले भनेको छ ।

इरानको आम्दानीमा सहयोग गर्ने जो कोही राष्ट्र अमेरिकी निसानामा पर्ने चेतावनी उनले दिएका छन् । ”यदि कसैलै तेल खरिद गरेर होस् वा अन्य माध्यमबाट इरानलाई आम्दानी गर्न सघाइरहेको छ भने त्यो अमेरिकी निसानामा पर्नेछ,” उनले भनेका छन् । यो प्रतिबन्धलाई ”इकोनोमिक डी-डे” नाम दिइएको हो । इरानसँग युद्ध लडेको ६ महिनापछि अमेरिकाले नयाँ प्रतिबन्ध अघि सारेको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पको पटक-पटकको धम्की र आक्रमणबाट पनि इरान नगलेपछि उसलाई सम्झौताका लागि दबाब दिन नयाँ प्रतिबन्ध घोषणा गरिएको हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

इरानी प्रतिबन्धमा बृहत्तर साथ जुटाउनका लागि अमेरिकाले भनेको छ,”जसले अमेरिकी नीतिलाई साथ दिन्छ उसले यसबाट लाभ पनि पाउँछ । जसले इरानलाई साथ दिने छ ऊ एक्लो हुनुको अन्य विकल्प हुने छैन । ”

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर