जेनजी शहीदको बलिदान खेर जान दिँदैनौँ : सांसद सुनार

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले जेनजी आन्दोलनका शहीदहरूको बलिदान खेर जान नदिने प्रतिबद्धता जनाएका छन् । मंगलबार काठमाडौंमा आयोजित जेनजी शहीदहरूको सम्झनामा आयोजित स्मृति सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

सांसद सुनारले शहीद परिवारको पीडालाई स्मरण गर्दै शहीदका छोराछोरी तथा परिवारले दिएको बलिदानकै जगमा नयाँ सुशासनको सुरुवात भएको बताएका छन्। उनले भनेका छन्, ‘आमा, तिमीलाई लागेको होला मेरो गर्भबाट जन्मेको छोरो मर्‍यो, म एक्लो परेँ। होइन आमा, तिम्रो छोरो मरेको होइन। तिम्रो छोरो यो समाजमा, यो देशमा एउटा बिउ बनेर रोपिएको छ। तिम्रो छोरो मर्‍यो, नयाँ सुशासनको वृक्ष उम्रिएको छ।’ शहीदकी आमालाई सम्बोधन गर्दै सुनारले देशमा नयाँ परिवर्तनको आधार तयार पार्न शहीदहरूले महत्वपूर्ण योगदान गरेको बताए। उनले भने, ‘तिम्रो गर्भबाट यो देशलाई एउटा उज्यालो किरण छर्ने छोरो जन्मेको छ। स्याबास् आमा ! धन्यवाद आमा, जसले शहीद जन्माउनुभयो।’

उनले शहीदहरूको बलिदानबाट मुलुकले नयाँ बाटो पाएको दाबी गर्दै भने, ‘तिम्रो छोरो ढल्यो, यो देश उठ्यो। तिम्रो छोरोले गोली खायो र यो देशले सिटामोलको गोली खान पाएको हो।’ सांसद सुनारले शहीद परिवार तथा आन्दोलनमा सहभागीहरूलाई निराश वा कमजोर नहुन आग्रह गर्दै शहीदहरूको सपना र आन्दोलनको उद्देश्य पूरा गर्न आफूहरू प्रतिबद्ध रहेको बताए।

उनले जेनजी आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै सुशासन र परिवर्तनको बाटोमा अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट