
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्ष पुग्न लागेको छ । सन् २०२३ जनवरी १ मा सञ्चालनमा आएको विमानस्थलमा अझै नियमित अन्तर्राष्ट्रिय उडान भने हुन सकेको छैन । पर्यटन राजधानीका रूपमा रहेको पोखरास्थित यो विमानस्थल सञ्चालनमा ल्याउन सके पर्यटन प्रबर्द्धनमा उल्लेख्य टेवा पुग्ने भन्दै यहाँका सरोकार भएकाहरूले निरन्तर चासो दिँदै आएका छन् ।
विशेष गरी स्थानीय पर्यटन व्यवसायीहरू सरोकार भएका निकायसँगको छलफल तथा प्रबर्द्धनात्मक उडानमार्फत नियमित र व्यावसायिक रूपमा सञ्चालनका लागि ध्यानाकर्षण गराइरहेका छन् । नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट्स ९नाट्टा० गण्डकीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीहरूसँग छलफल गर्दै प्रबर्द्धनात्मक उडानमार्फत पहल गरिरहेको छ ।
यसैबीच, पोखरामा हुन लागेको ड्रागन बोट रेसका लागि चीनको छेन्दुबाट बिहीबार चार्टर उडान गरिएको छ। उडानमा एक सय २९ खेलाडीसहित सिचुवान विमान पोखरा उत्रेको थियो । नाट्टाको पहलमा पोखराबाट उत्तिकै सङ्ख्यामा यात्रु बोकेर प्रबर्द्धनात्मक कार्यक्रमका लागि सो विमान काठमाडौं अवतरण गर्यो । यसमा पत्रकार, पर्यटन व्यवसायी र प्रदेशका पर्यटनमन्त्रीहरूको सहभागिता रहेको थियो ।
यस उडानले बढी भार बोकेर जहाज उडान र अवतरण हुन नसक्ने भन्ने भ्रमलाई तोड्न सफल भएको व्यवसायीको भनाइ छ । पूर्ण क्षमतामा उडान र अवतरण भएसँगै विमानस्थल पूर्ण सुरक्षित रहेको सन्देश पनि प्रवद्र्धनात्मक उडानले दिएको छ । त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक प्रदीप अधिकारीले पोखरा विमानस्थलबाट उडान अवतरणमा कुनै समस्या नरहेको बताए । उनले भने, ‘पोखरा विमानस्थलले एयरबसजस्ता ठूला जहाज सहजै सञ्चालन गर्न सक्छ भन्ने प्रबर्द्धनात्मक उडानले पुष्टि गरेको छ । अब यो पूर्वाधारलाई पूर्ण क्षमतामा सञ्चालन गर्न सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्छ ।’
अधिकारीले विमानस्थलको प्रभावकारी उपयोगका लागि सरकारबाट नीतिगत सहयोग र निजी क्षेत्रबाट ठूलो लगानीको सदुपयोग गर्न अग्रसरता आवश्यक रहेकामा जोड दिए। नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहालले पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुँदा पर्यटन क्षेत्र चलायमान बनाउन निकै समस्या भएको धारणा राखे । ‘पर्यटनमा ठूलो लगानी छ तर नियमित उडान नहुँदा पर्यटकीय गतिविधिमा उल्लेख्य सुधार हुनसकेको छैन, जसले लगानी जोखिममा परेको छ । अन्तर्राष्ट्रियस्तरमै नकारात्मक सन्देश गएको छ’, उनले भने । यस विषयमा क्यानका पदाधिकारी र सम्बन्धित निकायहरूमा निरन्तर ध्यानाकर्षण गराउँदै प्रबर्द्धनात्मक कार्यक्रमहरू आयोजना गरिएको जानकारी दिए।
पर्यटन व्यवसायी र नेपाल पर्यटन बोर्डका पूर्वसदस्य वासु त्रिपाठीले विमानस्थलमा नियमित उडानको गर्नु राज्यको दायित्व भएको बताए । ‘नागरिकको लगानी रहेको यो विमानस्थलमा उडान सुनिश्चित गर्नु सरकारको जिम्मेवारी हो । यात्रु खोज्ने काममा निजी क्षेत्रले पनि भूमिका खेल्नुपर्छ र यसका लागि नागरिक तहबाट निरन्तर दबाब आवश्यक छ’, उनले भने, ‘अब विमानस्थलबारे गलत र भ्रमपूर्ण कुरा छर्न कुनै पनि सभ्य नागरिकलाई छुट छैन । सबैको सामूहिक सहकार्य र समन्वयको खाँचो छ ।’
पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले नियमित उडानका लागि पहल भइरहेको र छिट्टै सकारात्मक नतिजा आउने विश्वास व्यक्त गर्नुभयो । ‘सञ्चालनको दुई वर्षसम्म चार्टर उडानमा सीमित विमानस्थललाई नियमित उडानमा लैजान पर्यटन सम्बद्ध सङ्घसंस्था, सञ्चारमाध्यम र नागरिक समाजले निरन्तर पहल गर्न आवश्यक छ । हामी आफ्नो तर्फबाट यसमा निरन्तर लागिरहेका छौँ । प्राविधिक र पूर्वाधारका चुनौतीहरू हट्दै गएकाले अब नियमित उडान हुने आशा छ’, उनले भने ।
चीन सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भएको यो विमानस्थल नेपाल–चीन सहकार्यको उदाहरण मानिन्छ । करिब रु २२ अर्ब लागतमा निर्मित विमानस्थलको निर्माण कार्य चाइना सिएएमसी इन्जिनियरिङ कम्पनीले गरेको थियो ।
दुई दशमलव पाँच किलोमिटर लामो रनवे भएको यस विमानस्थलमा वाइडबडी जस्ता ठूला क्षमताका जहाजहरूलाई पनि सहज रूपमा अवतरण गर्न सकिन्छ । आधुनिक नेभिगेसन प्रणाली, अत्याधुनिक टर्मिनल भवन र दैनिक २० हजार यात्रुलाई सेवा दिने सक्ने यसका क्षमता रहेको प्राधिकरणले बताउने गरेको छ ।
गण्डकी प्रदेशको पर्यटकीय राजधानी पोखरामा अवस्थित यस विमानस्थललाई अन्नपूर्ण सर्किट, मुक्तिनाथ र कैलाश मानसरोवरजस्ता विश्वप्रसिद्ध गन्तव्यमा जान सहज हुने अपेक्षा गरिएको छ ।













समाचार
बीमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा
धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै
चार कृषकलाई ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’
गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउन ऊर्जा र पर्यटन मन्त्रीद्वारा ‘हेलो सरकार’को अवलोकन
हुलाक सेवाको विस्तारसँगै मकवानपुरमा घरमै राहदानी
मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम सम्पन्न
जोखिममा आधारित पूँजी सम्बन्धी अन्तरक्रिया सम्पन्न
केवाईसी विवरण अद्यावधिक गर्न बीमितलाई सानिमा रिलायन्सको आग्रह
२ दिन राहदानी सेवा बन्द हुने
मौद्रिक नीतिलाई उधोग बाणिज्य महासंघले गर्यो स्वागत,मौद्रिक र वित्तीय नीतिको समन्वय भएमा अपेक्षाकृत आर्थिक रूपान्तरण सम्भव