काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माणाधीन सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा सुरुङमार्गको मुख्य खण्डमा सुरुङ छिचोल्ने काम (‘ब्रेक थ्रु’) भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ दोभाननजिकै आयोजनाको बेस क्याम्पमा औपचारिक समारोहकाबीच शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सम्बोधन गरेपछि ‘ब्रेक थ्रु’ भएको हो।
‘ब्रेक थ्रु’सँग बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोल्ने काम सकिएको छ । प्रधानमन्त्रीको सम्बोधनपछि ‘ब्रेक थ्रु’ उत्सवका लागि खन्न बाँकी राखिएको १.८ मिटर भागमा प्राविधिकले ब्लास्ट (विष्फोट) गराएर छिचोलेको थियो । दक्षिणतर्फ सिद्धबाबा मन्दिर र उत्तरतर्फ तिनाउ जलविद्युत आयोजनाको हेडबक्सतिरबाट खनिँदै आएको सुरुङ छिचोलिएको छ ।
‘ब्रेक थ्रु’ उत्सव समारोहलाई भर्चुअल विधिबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सिद्धबाबा क्षेत्रमा हरेक वर्ष बस दुर्घटना हुने, सवारी साधनहरु पहिरोमा पर्ने समस्याबाट नागरिक पीडित भएको समस्या देखेर त्यसलाई अन्त्य गर्न सुरुङ मार्ग बनाउन सुरु गरिएको बताए ।
सुरुङ बनेपछि पाल्पा, पोखरालगायत जिल्ला आवत जावत गर्न सुक्षित हुने र कुनै समस्या नआउने प्रधानमन्त्रीले उल्लेख गरे । प्रधानमन्त्रीले अहिलेको संयुक्त सरकारले सुशासन र विकासमा ध्यान दिएको जिकिर गरे । उनले छोटो समयमै सुरुङको ब्रेक थ्रु अवस्थामा ल्याइपुर्याएको भन्दै चिनियाँ निर्माण कम्पनीलाई धन्यवाद दिए । यसअघि सुरुङमार्ग अन्तर्गत १५१ मिटर लम्बाइको पहिलो बाइपास टनेल गएको असोज ४ मा, १३० मिटर लम्बाइको तेस्रो बाइपास टनेल गएको भदौ २६ मा र १६१ मिटरको दोस्रो बाइपास टनेल गएको पुस ७ गते ‘ब्रेक थ्रु’ गरिएको थियो ।
समारोहमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार विकासमन्त्री देवेन्द्र दाहाल, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यलगायतको उपस्थित थियो । दुवैतर्फको रिबसहित सुरुङमार्गको कुल लम्बाइ १ हजार १२६ मिटर भएपनि खन्नुपर्ने टनेलको भाग भने एक हजार ८९ मिटर मात्रै हो । मुख्य सुरुङ सिद्धबाबा मन्दिरतर्फ दक्षिणबाट ६१० र तिनाउ जल विद्युतको हेडबक्सतर्फ उत्तरबाट ४७७.२ मिटर खन्ने काम सम्पन्न भएको छ ।
हालसम्म आयोजनाको भौतिक प्रगति ४०.१८ प्रतिशत र वित्तीय प्रगति ३९.९० प्रतिशत भएको आयोजना प्रमुख कृष्णराज अधिकारीले बताए । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको दोभानदेखि सिद्धबाबासम्म अग्लो भीर र चट्टानी पहाड भएकाले सिद्धबाबा सडक खण्डमा बर्खा र हिउँदमा अत्यधिक पहिरो झरिरहन्छ । यो खण्डको झण्डै ४ किलोमिटर सडक बर्खा र हिउँद सधैं पहिरोको उच्च जोखिममा पर्ने गरेको छ ।
सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाइरहेको यो सुरुङमार्ग बनेपछि बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पर्वतलगायत लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लामा आवतजावत सहज हुने भएको छ ।
७ अर्ब ३४ करोड २१ लाख रुपैयाँको लागतमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सुरुङमार्ग निर्माणको काम गरिरहेको छ । निर्माण कम्पनीसँग भएको ठेक्का सम्झौता अनुसार २०८३ चैतभित्र सुरुङमार्गको काम सम्पन्न गर्नुपर्ने छ ।
टनेलको ‘ब्रेक थ्रु’ भएपछि सुरुङभित्रको भुइँ र भित्ता ढलान (लाइनिङ), गाडी गुड्ने क्षेत्र निर्धारण गरेर पेभमेन्ट ढलान, विद्युतीकरण, भेन्टिलेसन, नालीलगायतका कामहरू सुरु गरिने आयोजना प्रमुख अधिकारीले बताए ।
यस्तै, सिद्धबाबा क्षेत्रको बाहिरी पहाडमा पहिरो जान रोक्न ‘रक सेड’ प्रविधिबाट दक्षिणमा एक हजार ४९५ वर्गमिटरको काम भएको छ । उत्तरतर्फ ४९५ वर्गमिटर ‘प्रोटेक्सन’ को काम अघि बढेको छ । यो सुरुङमार्ग बाहिरपट्टिको खण्डमा रक सेड, रक फल ब्यारियर र स्लोप प्रोटेक्सनको काम हुनेछ ।
योजनाअन्तर्गत बुटवलतर्फको चिडियाखोलाबाट ९ सय १० मिटर र पाल्पातर्फ ५ सय ६० मिटर दुई लेनमा सडक सुधारको काम पनि थालिने आयोजनाले जनाएको छ । सिद्धबाबा सुरुङ मार्ग आयोजना २०७८ सालमै सुरु भएको हो । सुरुङ मार्ग २२ मार्च २०२७ मा सक्नुपर्ने सम्झौतामा उल्लेख छ ।अहिले दैनिक डेढ सयदेखि दुई सयजना कामदारले काम गरिरहेका आयोजनाले जनाएको छ ।
इन्जिनियरिङ, ‘प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलको ठेक्का भएकाले यसअन्तर्गतका सम्पूर्ण संरचनाको डिजाइन, निर्माण तथा मर्मतको जिम्मा निर्माण व्यवसायीको रहनेछ ।
आयोजनाअन्तर्गत २ हजार ३ सय ९८ मिटर सडक स्तरोन्नति हुनेछ भने ७ सय ८० मिटरमा रकसेड हुने छ । आयोजनाअन्तर्गत नै उत्तरी र दक्षिणी प्रवेशद्वारमा दुई प्राविधिक भवनसमेत निर्माण हुने आयोजनाले जनाएको छ । ८ वर्षअघि नै स्विस कम्पनीले गरेको अध्ययनले सिद्धार्थ राजमार्गको बर्तुङ–चिडियाखोला सडकखण्डको सिद्धबाबादेखि दोभान चौकीसम्मको २ हजार ७ सय मिटर सडकक्षेत्र जोखिमयुक्त रहेको निष्कर्ष निकालेर सोहीअनुसार सरकारलाई सुझाव दिएको थियो । अध्ययन प्रतिवेदनअनुसार नै सिद्धबाबामा सुरुङमार्ग निर्माण गर्ने गरी ग्लोबल टेन्डर आह्वान गरिएको थियो ।