
पर्वत । आलु खेतीको क्षेत्रफल विस्तारसँगै अनुकूल मौसमका कारण यस वर्ष जिल्लामा आलु उत्पादन वृद्धि हुने अनुमान गरिएको छ । आलु उत्पादनमा जिल्लालाई आत्मनिर्भर बनाउने उद्देश्यले गत वर्षदेखि सुरु भएको खायन आलु विस्तार कार्यक्रमअन्तर्गत यही हिउँदमा एक हजार ४५० हेक्टर क्षेत्रफलमा आलुखेती गरिएको थियो । यस वर्ष प्रतिहेक्टर १५ मेट्रिक टनका दरले आलु उत्पादन हुने कृषि ज्ञान केन्द्रको अनुमान छ ।
जसअनुसार हिउँदमा मात्र करिब २२ हजार मेट्रिक टन आलु उत्पादन हुने कृषि ज्ञान केन्द्रका प्रमुख परशुराम अधिकारीले जानकारी दिए । सरदर प्रतिकेजी रु ४० का दरले किसानले आलु बिक्री गर्दा करिब रु ८७ करोड आम्दानी हुने अनुमान छ । जिल्लामा गत आर्थिक वर्ष २०८०÷८१ मा एक हजार ३९० हेक्टर क्षेत्रफलमा आलुखेती गर्दा २० हजार ३३० मेट्रिक टन आलु उत्पादन भएको थियो । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सोविता सुवेदीका अनुसार विभिन्न पकेट क्षेत्रमा ६१ वटा कृषक समूहलाई आलु उत्पादनमा रु एक करोड ४७ लाख अनुदान वितरण गरिएको छ ।
बीउ खरिदमा ७० प्रतिशत, यान्त्रिकीकरणमा ५० प्रतिशत, सिँचाइ पूर्वाधारमा ८५ प्रतिशत र बजारीकरण तथा ‘प्याकेजिङ’मा ७५ प्रतिशत अनुदान दिइएको सूचना अधिकारी सुवेदीले बताइन् । जलजला गाउँपालिकाका १६ कृषक समूहले आलु उत्पादनमा अनुदान लिएका छन् । अनुदान पाउन कम्तीमा कृषक समूहले ३० रोपनी बढी क्षेत्रफलमा सामूहिक आलुखेती गरेको हुनुपर्छ । मोदी गाउँपालिकाका–४, ५, ६, ७, ९ स्थित लेसपार, क्याङ, छापा, बाजुङलगायत करिब ४५० रोपनी क्षेत्रफलमा आठ कृषक समूहले खायन आलुखेती गरेका छन् ।
कुश्मा नगरपालिकाका आलु पकेट क्षेत्र पाङ, खुर्कोट, आर्थरलगायतमा २२५ रोपनी बढी क्षेत्रफलमा कृषकहरुले आलु गरिरहेका छन् । फलेवास नगरपालिकाको मुडिकुवा, शङ्करपोखरी, कुर्घा, लिमिठाना, चिर्दीखोलालगायतका किसानले २२० रोपनी क्षेत्रफलमा सामूहिक आलुखेती गरेका छन् । यसैगरी, दक्षिण पर्वतको पैयूँ गाउँपालिकाको हुवास क्षेत्र, महाशिला गाउँपालिकामा ६ वटा कृषक समूह आलुखेती गरिरहेका छन् । कृषि ज्ञान केन्द्र प्रमुख परशुराम अधिकारीले गत वर्षभन्दा यस वर्ष आलु उत्पादन वृद्धि हुने बताए । हाल कृषकहरु आलु खन्ने चटारोमा रहेकाले अबको एक महिनापछि आलु उत्पादनको यकिन तथ्याङ्क प्राप्त हुने उनले जानकारी दिए ।













समाचार
मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण
तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर
माहुत समुदायः परम्परागत पेसा छुट्यो, अभाव र सङ्कट घटेन
डोको बुन्दै, सीप सिकाउँदै
नयाँ बसपार्कमा टिकट लिन रातिदेखि यात्रुको लाइन
शिक्षकबाट कृषिउद्यमी बनेका फेन्चु अरुका लागि अनुकरणीय
पाकिस्तानलाई १.२ अर्ब डलर सहयोगमा आईएमएफको सहमति
बाढीले पुलमा क्षति पुर्याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर
कांग्रेस १५औँ महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान
मनसुनी वायुको प्रभाव कायमै, ती प्रदेशमा भारी वर्षाको सम्भावना