पाल्पा । वैदेशिक रोजगारीलाई सुरक्षित र उपलब्धिमूलक बनाउने उद्देश्यका साथ सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) कार्यक्रम पाल्पामा प्रभावकारी बन्दै गएको छ । सङ्घीय सरकार र स्वीस सरकारबीचको द्विपक्षीय सम्झौताअन्तर्गत हेल्भेटास–स्वीस इन्टर अपरेशनसको प्राविधिक सहयोगमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा सञ्चालित ‘सुरक्षित आप्रवासन सामी’ परियोजना जिल्लामा प्रभावकारी बन्दै गएको हो ।
तानसेन नगरपालिकाभित्र परियोजना सञ्चालन भएपछि वैदेशिक रोजगारीमा गएका, गएर फर्किएका र जाने तयारीमा रहेका व्यक्ति तथा परिवारका सदस्य यसबाट लाभान्वित भएका छन् । वैदेशिक रोजगारीमा जाने क्रममा, गन्तव्य मुलुकमा पुगेपछि कार्यक्षेत्रमा, कामदारको मृत्युपछि विभिन्न क्षेत्रबाट उद्धार तथा राहत कार्यक्रममा परियोजनाले सहजीकरण गर्दै आएको छ ।
वैदेशिक रोजगारमा श्रीमान् विदेशमा गए पनि सोचेजस्तो कमाई हुन नसकेपछि तानसेन नगरपालिका–२ की मिना खत्रीलाई व्यवहारले पिरोल्दै गयो । श्रीमान् गएको ऋणसमेत तिर्न नभ्याउँदै श्रीमान्लाई स्वास्थ्यमा समस्या देखिएर नेपाल फर्कनुपरेको उनले दुखेसो गरिन् । यो समयमा आफूलाई मनोपरामर्श र परिवार कसरी चलाउने भन्ने ज्ञान नभएको बताउँदै अहिले यो स्थानमा आउन सामी परियोजनाले समनवय गरेको खत्रीले उल्लेख गरिन् । परियोजनाका कारण श्रीमान् आएसँगै आफूहरूले घरमै काम गरेर परिवार चलाउने गरेको उनले सुनाईन् ।परियोजनाले वैदेशिक रोजगारमा गएका परिवारलाई उपचार गर्न भन्दै सहयोग गरेपछि परिवारमा खुसीयाली छाएको उनले बताइन् । खत्री जस्तै यहाँका धेरैले वैदेशिक रोजगारमा भोग्नुपरेको समस्याबाट सहज भएको बताउने गरेका छन् ।
जिल्लामा चालु आर्थिक वर्षको अवधिमा वैदेशिक रोजगारीमा गएका, गएर फर्किएका र जाने तयारीमा रहेका पाँच हजार ६२ जनाले सामी कार्यक्रमबाट सहज सेवा लिएका छन् । विदेश काम गर्न, अध्ययन गर्न गएका र विदेशबाट फर्किएका उक्त सङ्ख्याका व्यक्तिहरूलाई परामर्श दिने र आइपरेका समस्या समाधानमा सहयोग गर्ने काम गरेको कार्यक्रम जिल्ला संयोजक दिनेश घिमिरेले बताए ।
तानसेन नगरपालिकाको आयोजनामा भएको सुरक्षित वैदेशिक रोजगारीका लागि पत्रकार तथा सरोकारवालाहरूसँगको अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रममा संयोजक घिमिरेले सामी कार्यक्रममार्फत प्रदान गरेका सेवाका बारेमा जानकारी गाराउँदै सेवा लिने बढ्दै गएको बताए ।
उनले वैदेशिक रोजगारीमा जान लागेका, आप्रवासमा रहेका र तिनका परिवारलाई आइपर्ने समस्या र कानुनी सहायता प्रदान गरिदै आएको उल्लेख गरे । संयोजक घिमिरेले भने, ‘वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका र शव झिकाउनुपर्ने २४ वटा समस्या चालु आवमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका छन् । तीमध्ये आठ वटा ठगी र शव झिकाउने मुद्दाका समस्या समाधान गर्न सफल भएका छौँ ।’ उनका अनुसार अहिले चार ठगी र १२ वटा क्षतिपूर्तिका मुद्दहरू समाधानका लागि प्रक्रियामा छन् ।
यस्तै परामर्श लिनेमध्येका एक सय ११ जनाको थप जानकारी लिने काम भइरहेको घिमिरेले बताए । चालु आर्थिक वर्षमा तानसेनबाट एक हजार ३८ जना वैदेशिक रोजगारीमा गएको उनले जानकारी दिए । यो सङ्ख्या वडा नं १, २, ३, ४, ५ का नागरिकको तथ्याङ्क हो । उनीहरू श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकाहरू हुन् । यहाँबाट अध्ययनका लागि ३२९ र रोजगारका लागि ५५९ जना विदेश गएका छन् । हालसम्म ५० जना भने विदेशबाट फर्किसकेका छन् ।
नगर प्रमुख सन्तोषलाल श्रेष्ठले वैदेशिक रोजगारीमा गएकाहरूलाई राहत र उद्धारका साथै पीडितलाई न्याय र राज्यकोतर्फबाट थप प्रभावकारी रणनीतिको खाँचो रहेको बताए । उनले रोजगारीमा जानेहरूलाई सुरक्षित बनाउने कार्यमा सामी कार्यक्रम प्रभावकारी बन्दै गएको उल्लेख गरे ।स्थानीय सरकारले स्थानीय स्रोतसाधनको अधिकतम उपयोग गरी साना तथा घरेलु उद्यम, तरकारीखेती, पशुपालन, कृषिलगायत क्षेत्रमा गुरुयोजनासहित काम गर्ने योजनासहित अगाडि बढेको नगर प्रमुख श्रेष्ठले बताए ।