बक्यौता उठाउनु नै मेरो बर्खास्थिको कारण हो : कुलमान घिसिङ

काठमाडौं । आफूले बक्यौता रहेको विद्युत महसुल असुल गर्ने निर्णय गरेका कारण आफूलाई पदबाट हटाइएको आरोप लगाएका छन् । सरकारले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएपछि शुक्रबार पत्रकार सम्मेलन आयोजना गरेर उनले यस्तो बताएका हुन् ।

महसुल नतिर्नेहरुले दबाब दिएर आफूलाई हटाउन सफल भएको उनको भनाइ छ । आफूले लोडसेडिङ हटाएको र अहिले बाँकी बक्यौता उठाउन खोज्दा आफ्नो पद गुमेको भन्दै उनले आफू आमनागरिकको सेवाका लागि सधैं लागिरहने बताए । आमनागरिकको घरघरमा विद्युत पुर्याउन आफ्नो कार्यकाल सफल भएको उनको भनाइ थियो ।

विकट बस्तीमा पुगेर विद्युतीकरणका लागि प्राधिकरणले काम गरिरहेको उनको भनाइ छ । विद्यार्थीले सहज रूपमा अध्ययन गर्न पाउनुका साथै अस्पतालमा पनि सहज रूपमा सेवा लिने अवसर पनि विद्युतका कारणले सहज भएको उनको दाबी छ ।

विद्युत निर्यातमा पनि उल्लेख्य काम भएको भन्दै उनले सार्वजनिक दायित्वबाट कोही कसैले छुटकारा नपाउने दाबीसमेत गरे । ‘अहिले मलाई हटाएर केही समयका लागि त केही पक्ष रमाएको होला । तर उनीहरु आमरूपमा जनताको कठघरामा उभिनु पर्ने छ,’ उनले भने ।

सरकारले रकम नदिएको अवस्थामा पनि आफ्नै खर्चमा विद्युत पुर्याउनका लागि आफ्नो कार्यकालमा कामहरु भएको उनको भनाइ छ । विपन्न वर्गकलाई निःशुल्क रूपमा मिटर उपलब्ध गराइएको उनको भनाइ थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार