
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा माटो सुहाउँदो बालीका लागि सम्भाव्यता अध्ययन अगाडि बढाइएको छ । नगरपालिकाको कृषि विकास शाखाले खाद्यान्न, तरकारी, उखु, फलफूल, मौरीपालन, बगरखेती लगायतका लागि सम्भाव्यता अध्ययन गरेको हो ।
‘कुन माटोमा कुन बाली फस्टाउन सक्छ भनेर अध्ययनको कार्य गरेका छौँ’ कृषि विकास शाखाका प्रमुख करन सिंह बुढाऐरले भने, ‘सोही अनुसार कार्यक्रम तयार गरी लागू गर्छौँ ।’ प्रत्येक वडाको माटोको नमुना परीक्षण गरी सुक्ष्म तत्वका आधारमा बालीका लागि वडागत रूपमा सम्भाव्यता अध्ययनको कार्य गरिएको उनले बताए ।
‘गत वर्ष घुम्ती माटो परीक्षण टोलीलाई नगरपालिका क्षेत्रमै बोलाएर नमुना परीक्षणको कार्य ग¥यौँ’ उनले भने, ‘त्यसपछि कुन वडामा कुन बाली फस्टाउन सक्छ, किसानले लगाएको कुन बालीले बढी उत्पादन दिन थालेको छ, भनेर निरीक्षण, अवलोकनको कार्य गरेपछि वडागत रूपमा बालीको वर्गीकरण गरेका छौँ ।’
उनका अनुसार वडा नं १,२, ३, १२ मा उखुखेती, वडा नं २,३,७,८ र ९ तरकारी खेती र वडा नं ५,६,७,८,९ मा फलफूल, माहुरीलगायत प्राङ्गारिक खेतीका लागि उपयुक्त रहेको छ । यसैगरी, खाद्यान्न बालीका लागि वडा नं ३,४,५,६,९,१०,११ र वडा नं ३,११ र १२ बगर खेतीका लागि उपयुक्त मानिएको छ । सम्भाव्यता अध्ययन गरिएका वडामा आवधिक तीन वर्षे योजना बनाएर लागू गर्ने योजना अघि सारिएको छ ।
सम्भाव्यता अध्ययनको कार्य अनुसार मूल तथा स्रोत बीउमा आधारित धान, गहुँ, तोरी, मुसुरो बालीमा अनुदान, लक्षित वर्गका लागि मागमा आधारित च्याउ, फलफूल, तरकारी, आलु खेतीसँगै माहुरी, कुखुरा, माछा हाँसपालन कार्यक्रम, स्थानीय थारु आलु प्रवद्र्धन, प्याकेजिङ, ब्राण्डिङ, स्टोरेज लगायतका कार्यक्रम सञ्चालन गरिने छन् ।
खाद्यान्नबाली, तरकारी, च्याउ, मुसुरो, तोरी, बालीको उन्नत बीउ वितरण, प्राङ्गारिक खेती प्रणाली अपनाइ प्राङ्गारिक गाउँ स्थापना गर्ने, व्यावसायिक किसानलाई अनुदानमा कृषियन्त्र र उपकरण सहयोग गर्ने कार्यसँगै बगर खेतीमा आधारित कार्यक्रम सञ्चालन गरिने योजना बनाइएको शाखा प्रमुख बुढाऐरले बताए ।
‘व्यावसायिक फलफूलखेती गर्ने किसानलाई जग्गा भाडामा अनुदान, नयाँ बगैँचा स्थापना, पुरानो बगैँचा सुदृढीकरण गर्ने कार्यक्रम अघि सारिएको छ’ उनले भने, ‘नहर नपुगेका ठाउँमा साना सिँचाइ कार्यक्रम लागू गर्ने र किसानले उत्पादन गरेका कृषिजन्य वस्तु राख्नका लागि दुई सय मेट्रिक टन क्षमताको कोल्डस्टोर स्थापना गर्ने कार्यक्रम योजना रहेको छ ।’
नगरपालिकामा कूल खेतीयोग्य जमिन पाँच हजार दुई सय ३७ दशमलव ०५ हेक्टर रहेको छ । किसानले खेती गरिरहेको जग्गाको क्षेत्रफल पाँच हजार एक सय हेक्टर रहेको छ । कृषि पेसामा निर्भर किसान ९० प्रतिशत रहेका छन् । कूल सिञ्चित क्षेत्रफल तीन हजार पाँच सय ४० हेक्टर रहेको छ ।













समाचार
शेखरले एसियाली आईटीएफ खेल्ने
पोल्ट्री व्यवसायीलाई प्रशिक्षण
राष्ट्रपतिसमक्ष एनआरएनएको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
वीरगञ्ज नाकाबाटको २ खर्ब ३८ अर्ब पेट्रोलियम पदार्थ आयात
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल
सामाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल
साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार
नेपाली पर्वतारोहीको उद्धारका लागि परराष्ट्र मन्त्रालयद्वारा पाकिस्तानसँग समन्वय