
कैलाली । भजनी नगरपालिका–७ मा रहेको पुरैना ताल पुनस्र्थापनाको काम सुरु भएको छ । गत वर्ष सामुदायिक वन समन्वय समिति, नापी कार्यालय, जिल्ला प्रशासन कार्यालयलगायत निकायबिच समन्वयमा अतिक्रमण हटाइएपछि ताल पुनस्र्थापनाको काम अगाडि बढेको हो ।
यहाँ ताल वरिपरि १० फिट चौडा र पाँच फिट अग्लो पर्खाल (ड्याम) निर्माण गरिएको थियो, तर स्थानीयले पुनः अतिक्रमण गरी खेतीपाती गरेका थिए । हाल तालको सुरक्षणका लागि ठुलो पर्खाल निर्माणको काम भइरहेको डिभिजन वन कार्यालय पहलमानपुरका डिभिजन वन अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए । उनका अनुसार तालको वरिपरि दुई मिटर उचाइ र दुई मिटर चौडाइको गाडी गुड्ने गरी डिल निर्माणको कार्यसमेत सुरु गरिएको छ ।
मोहना नदीमा विसं २०६४ मा आएको बाढीले ५६३ बिघा क्षेत्रफलमा फैलिएको पुरैना ताललाई बगरमा परिणत गर्न सुरु गरेको थियो । त्यसपछि २०६८, २०७२ र २०७५ सालमा आएको बाढीले ताललाई पुरेर बगरमा बनायो । पछि स्थानीयले त्यसमा खेती लगाउन सुरु गरेका हुन् । ताल बालुवाले पुरिँदै गएपछि स्थानीयले दिनप्रतिदिन जग्गा बढाउँदै गएकाले ताल पूरै खेतमा परिणत भएको कँडेलले बताए । “यो ताल क्षेत्र वसन्ता जैविक मार्गसँग जोडिएकाले जैविक विविधताका दृष्टिमा महत्त्वपूर्ण छ । पहिले यो ताल क्षेत्र जलचर र विभिन्न प्रजातिका आगन्तुक तथा रैथाने चराको वासस्थानका रूपमा थियो”, उनले भने, “बाढीले अतिक्रमण गरेपछि त्यो हटाउनुको सट्टा स्थानीयले नै थप अतिक्रमण गर्दै गएको देखिन्छ । हाल सबैको सहयोगमा यसको संरक्षणका लागि अगाडि सरेका छौँ ।”
जानकारहरूका अनुसार यस तालको ऐतिहासिक तथा सांस्कृतिक महत्त्व छ । पुरैना भनेको थारु भाषामा कमलको फूल हो । स्थानीय थारु समुदायमा पूजाआजा गर्दा यही तालको कमलको फूल र पातको प्रयोग अनिवार्य मानिन्थ्यो । विगतमा पुरैना तालको पर्यटकीय महत्त्व पनि धेरै थियो ।
यो ताल क्षेत्र बसाइँ सर्ने घुमन्ते चराहरू वासस्थान पनि हो । साइबेरिया, रुसबाट आएका चरा यहाँ बच्चा कोरलेर फर्किने गर्थे । ताल विनाश भएपछि भने त्यो चक्र खलबलिएको छ। यस्तै ताल विनाश भएका कारणको प्रभावले पनि होला हाल घोडाघोडी ताल क्षेत्रमा पनि आगन्तुक चराहरूको सङ्ख्या घटिरहेको छ । पक्षी संरक्षण सङ्घका फिल्ड अधिकृत हिरुलाल डगौरा पुरैनालगायत प्राकृतिक ताललाई आफ्नै स्वरूपमा फर्काएर समस्या समाधान गरिनुपर्ने बताउँछन् ।
उनी भन्छन्, “५ सय ६३ बिघा क्षेत्रफलमा फैलिएको पुरैना ताललाई प्राकृतिक र सांस्कृतिक रूपमा पनि महत्त्वपूर्ण छ । त्यसको विनाशले सामाजिक प्रभाव मात्रै होइन, प्राकृतिक रूपमा पनि जैविक विविधता खलबलिएको छ । अब यसको संरक्षण गरेर पुरानै अवस्थामा फर्काउन सबैले सहयोग गर्नुपर्छ ।”













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
हर्मुजमा अलपत्र परेका जहाजहरू ‘सुपर-स्प्रेडर’ बन्न सक्ने चेतावनी
अप्पर सोलु हाइड्रोले एक वर्षमा कमायो २० करोड ८७ लाख नाफा, इपीएस कति ?
पञ्चकन्या माई हाइड्राको वित्तीय अवस्था : करिब ७ करोडको नोक्सानी पुरा गरि ६ करोड ६८ लाख नाफामा
२८८ प्रतिशतले बढ्यो तेह्रथुम पावर कम्पनीको नाफा, अन्य सूचक कस्ता ?
अन्तर्राष्ट्रिय हवाई भाडा कम गर्न माग
देशका विभिन्न भागमा सडकमा यातायात प्रभावित, कुन कुन राजमार्गमा रोक ?
गिद्ध संरक्षणसँगै जैविक विविधता जोगाउन विद्यार्थीको सक्रियता
सोलुखुम्बुमा पहिरोका कारण दुई वडा कार्यालय जोखिममा, ११ परिवार विस्थापित
विदेशबाट भाइले पठाइदिएको मोबाइलले खिचेको तस्बिर बन्यो उत्कृष्ट