
कैलाली । भजनी नगरपालिका–७ मा रहेको पुरैना ताल पुनस्र्थापनाको काम सुरु भएको छ । गत वर्ष सामुदायिक वन समन्वय समिति, नापी कार्यालय, जिल्ला प्रशासन कार्यालयलगायत निकायबिच समन्वयमा अतिक्रमण हटाइएपछि ताल पुनस्र्थापनाको काम अगाडि बढेको हो ।
यहाँ ताल वरिपरि १० फिट चौडा र पाँच फिट अग्लो पर्खाल (ड्याम) निर्माण गरिएको थियो, तर स्थानीयले पुनः अतिक्रमण गरी खेतीपाती गरेका थिए । हाल तालको सुरक्षणका लागि ठुलो पर्खाल निर्माणको काम भइरहेको डिभिजन वन कार्यालय पहलमानपुरका डिभिजन वन अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए । उनका अनुसार तालको वरिपरि दुई मिटर उचाइ र दुई मिटर चौडाइको गाडी गुड्ने गरी डिल निर्माणको कार्यसमेत सुरु गरिएको छ ।
मोहना नदीमा विसं २०६४ मा आएको बाढीले ५६३ बिघा क्षेत्रफलमा फैलिएको पुरैना ताललाई बगरमा परिणत गर्न सुरु गरेको थियो । त्यसपछि २०६८, २०७२ र २०७५ सालमा आएको बाढीले ताललाई पुरेर बगरमा बनायो । पछि स्थानीयले त्यसमा खेती लगाउन सुरु गरेका हुन् । ताल बालुवाले पुरिँदै गएपछि स्थानीयले दिनप्रतिदिन जग्गा बढाउँदै गएकाले ताल पूरै खेतमा परिणत भएको कँडेलले बताए । “यो ताल क्षेत्र वसन्ता जैविक मार्गसँग जोडिएकाले जैविक विविधताका दृष्टिमा महत्त्वपूर्ण छ । पहिले यो ताल क्षेत्र जलचर र विभिन्न प्रजातिका आगन्तुक तथा रैथाने चराको वासस्थानका रूपमा थियो”, उनले भने, “बाढीले अतिक्रमण गरेपछि त्यो हटाउनुको सट्टा स्थानीयले नै थप अतिक्रमण गर्दै गएको देखिन्छ । हाल सबैको सहयोगमा यसको संरक्षणका लागि अगाडि सरेका छौँ ।”
जानकारहरूका अनुसार यस तालको ऐतिहासिक तथा सांस्कृतिक महत्त्व छ । पुरैना भनेको थारु भाषामा कमलको फूल हो । स्थानीय थारु समुदायमा पूजाआजा गर्दा यही तालको कमलको फूल र पातको प्रयोग अनिवार्य मानिन्थ्यो । विगतमा पुरैना तालको पर्यटकीय महत्त्व पनि धेरै थियो ।
यो ताल क्षेत्र बसाइँ सर्ने घुमन्ते चराहरू वासस्थान पनि हो । साइबेरिया, रुसबाट आएका चरा यहाँ बच्चा कोरलेर फर्किने गर्थे । ताल विनाश भएपछि भने त्यो चक्र खलबलिएको छ। यस्तै ताल विनाश भएका कारणको प्रभावले पनि होला हाल घोडाघोडी ताल क्षेत्रमा पनि आगन्तुक चराहरूको सङ्ख्या घटिरहेको छ । पक्षी संरक्षण सङ्घका फिल्ड अधिकृत हिरुलाल डगौरा पुरैनालगायत प्राकृतिक ताललाई आफ्नै स्वरूपमा फर्काएर समस्या समाधान गरिनुपर्ने बताउँछन् ।
उनी भन्छन्, “५ सय ६३ बिघा क्षेत्रफलमा फैलिएको पुरैना ताललाई प्राकृतिक र सांस्कृतिक रूपमा पनि महत्त्वपूर्ण छ । त्यसको विनाशले सामाजिक प्रभाव मात्रै होइन, प्राकृतिक रूपमा पनि जैविक विविधता खलबलिएको छ । अब यसको संरक्षण गरेर पुरानै अवस्थामा फर्काउन सबैले सहयोग गर्नुपर्छ ।”













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि