योगको उद्गम थलो नेपाल कि भारत ? कसरी बन्यो विश्वव्यापी ?

शनिवार ११ औँ अन्तराष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम गरी मनाइदैछ । नेपालमा पनि यो दिवस विशेष महत्व दिएर मनाइयो । प्रधानमन्त्री, मन्त्री लगायतका उच्चपदस्थहरुले योग दिवसमा आयोजित विभिन्न कार्यक्रमहरुमा सहभागि हुँदै योगको महत्वको बारेमा ब्याख्या गरेका छन् । योग, प्राचीन पूर्वीय दर्शन र जीवनशैलीको अभिन्न अंग हो । मानव जीवनलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सन्तुलित बनाउने एउटा समग्र अभ्यासको रुपमा योग स्थापित छ ।। योगको अर्थ संस्कृत शब्द युजबाट आएको हो । जसको अर्थ हुन्छ जोड्नु वा एकताबद्ध गर्नु । यो शरीर, मन र आत्माबीचको एकताको प्रतीक हो । योगले तनाव व्यवस्थापन, शारीरिक लचकता, मानसिक शान्ति र आध्यात्मिक उन्नतिलाई प्रोत्साहन मात्रै गर्दैन यसले व्यक्तिलाई आत्म–अनुशासन, ध्यान र स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्छ । योगको नियमित अभ्यासले जीवनमा सकारात्मक परिवर्तन ल्याउँने हुनाले व्यक्तिगत र सामाजिक कल्याणमा योगदान पु¥याउँछ ।

योगको विकास कसरी भयो ?
योगको उत्पत्ति हजारौं वर्षअघि प्राचीन भारतीय उपमहाद्वीपमा भएको मानिन्छ । वेद, उपनिषद् र भगवद् गीताजस्ता ग्रन्थहरूमा योगको उल्लेख पाइन्छ । पतञ्जलिको योगसूत्रले योगलाई व्यवस्थित रूपमा प्रस्तुत ग¥यो । यसमा अष्टांग योग अन्तर्गत यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधिको अवधारणा समावेश छ । प्राचीन कालमा योग साधु–सन्तहरूको आध्यात्मिक साधनाको सर्वोत्कृष्ट माध्यम थियो । समयक्रमसँगै योगको विकास र विस्तार पनि हुँदै गयो । मध्यकालमा हठयोग र भक्तियोगजस्ता विभिन्न शाखाहरू पनि विकसित भए । आधुनिक युगमा स्वामी विवेकानन्द, टी. कृष्णमाचार्य र बी.के.एस. अयङ्गार, रामदेवजस्ता योग गुरुहरूले योगलाई विश्वव्यापी बनाउन महत्वपूर्ण योगदान दिए ।

योग र पूर्वीय सभ्यताको अन्तरसम्बन्ध
योगलाई पूर्वीय सभ्यताको मेरुदण्ड रहेका हिन्दु, बौद्ध, जैन धर्म र दर्शनको अभिन्न हिस्सा मानिन्छ । यी मुख्य धर्म र दर्शनले योगलाई शारीरिक अभ्यास मात्रै नभई जीवनको समग्र दृष्टिकोणको रूपमा ग्रहण गरेका छन् । योगले व्यक्तिलाई प्रकृतिसँग जोड्न, आत्मसंयम सिकाउन र आन्तरिक शान्ति प्राप्त गर्न सहयोग गर्छ । पूर्वीय दर्शनमा योग र ध्यानलाई मोक्ष वा निर्वाण प्राप्तिको सबैभन्दा उत्तम मार्गको रुपमा लिइन्छ । योगको महत्वलाई उल्लेख गर्दा ध्यानलाई पनि छुटाउन मिल्दैन । योग र ध्यान एकअर्कासँग गहिरो रूपमा जोडिएका छन् । योग र ध्यान दुवैले शारीरिक, मानसिक तथा आध्यात्मिक स्वास्थ्यलाई सन्तुलनमा ल्याउन महत्वपूर्ण भूमिका खेल्छन् । योगले शारीरिक अभ्यास अन्तर्गत आसन, प्राणायाम र ध्यानलाई समेट्छ । त्यसैले ध्यान योगकै एउटा महत्वपूर्ण हिस्सा हो ।
योगले शारीरिक लचकता, शक्ति र सन्तुलन बढाउँछ भने ध्यानले मानसिक स्पष्टता, तनाव व्यवस्थापन र भावनात्मक स्थिरता प्रदान गर्छ । त्यसैले योग र ध्यान एक सिक्काका दुई पाटा हुन् ।

योगको विश्वव्यापी उडान
अहिले योग विश्वव्यापी बनेको छ । १९ औं शताब्दमा स्वामी विवेकानन्दले पश्चिमी देशहरूमा योगलाई पु¥याए । संयुक्त राष्ट्र संघको इतिहासमै अत्याधिक सह–प्रस्तावक राष्ट्रहरूको समर्थन प्राप्त गर्ने प्रस्तावहरू मध्ये विश्य योग दिवस घोषणा गर्ने प्रस्ताव पर्दछ । सन् २०१४ मा संयुक्त राष्ट्र संघ महासभामा २१ जुनलाई अन्तर्राष्ट्रिय योग दिवस घोषणा गर्ने प्रस्ताव हूँदा १७७ देशले समर्थन गरेका थिए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यो प्रस्ताव संयुक्त राष्ट्र संघको महासभामा प्रस्तुत गरेका थिए । जुन २१ लाई संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय योग दिवस घोषणा गरेपछि त योगको महत्व र लोकप्रियता झन बढ्यो । आज विश्वभर योग शिविर र प्रशिक्षण केन्द्रहरू स्थापना गरिएका छन् । कोरोना महामारीपछि डिजिटल प्रविधिमा विश्व अभ्यस्त बन्दा अहिले अनलाईनबाटै विश्वका विभिन्न कुना कन्दरामा योग कक्षाहरु सञ्चालन हुन थालेका छन् । विश्वका विविध संस्कृति अन्तर्गतका समाज वा राष्ट्रहरूले पनि योगलाई आफ्नो जीवनशैलीमा समावेश गरेका छन् । यसले गर्दा पनि आज योगले विश्वव्यापी उडान मात्रै भरेको छैन यसको स्वीकार्यता र प्रभाव पनि विश्वव्यापी नै बनेको छ ।

योग किन यति धेरै लोकप्रिय ?
योग मानशिक सन्तुलनका लागि मात्रै नभएर हाम्रो स्वास्थ्यसँग पनि प्रत्यक्ष जोडिएको छ । त्यसैले पनि अहिले योगको अपरिहार्यता बढेको हो र यो दिनप्रतिदिन लोकप्रिय बन्दै गएको हो । योग र स्वास्थ्यबीच गहिरो सम्बन्ध छ । योगले शारीरिक स्वास्थ्यलाई सुधार गर्छ । योगको नियमित अभ्यासले मांसपेशीको लचकता, रक्तसञ्चार, रोग प्रतिरोधक क्षमता र पाचन प्रणालीको सुदृढीकरण हुन्छ । प्राणायाम र ध्यानले मानसिक स्वास्थ्यमा सुधार ल्याउने हुँदा तनाव, चिन्ता र डिप्रेसनलाई कम गर्छ । वैज्ञानिक अध्ययनहरूले पनि योगले उच्च रक्तचाप, मधुमेह र हृदयरोगजस्ता समस्याहरूलाई नियन्त्रण गर्न सहयोग पुग्ने तथ्यहरु पुष्टि गरिसकेका छन् ।

योग र नेपालको प्राचीन सम्बन्ध
योग र नेपालबीच वैदिककालदेखि नै विशिष्ट सम्बन्ध छ । विशेष गरी नेपालको हिमालय क्षेत्र प्राचीन कालदेखि नै योग, ध्यान र आध्यात्मिक साधनाको केन्द्र रहेको छ । योगको उत्पत्तिको बारेमा वैदिक साहित्य ऋग्वेद, उपनिषद्हरुमा पाइन्छ । ती धार्मिक ग्रन्थहरुमा वर्णन भएअनुसार नेपाल वैदिक सभ्यताको एक महत्वपूर्ण भूमि र योगको सुरुवाती साधनास्थल थियो । काठमाडौँ उपत्यका र हिमालय क्षेत्रमा ऋषिमुनिहरूले योग र ध्यानको अभ्यास गर्थे । पतञ्जलिको योग सुत्र अघि नै नेपालमा योगको अभ्यास प्रचलित थियो । नेपालको हिमालय क्षेत्रका मुक्तिनाथ, गोसाइँकुण्ड, कालिन्चोक लगायतका स्थानहरु योगी, सिद्धगुरु र तपस्वीहरूको साधनास्थल थियो । नेपालमा शैव र बौद्ध तान्त्रिक परम्पराले योगलाई समृद्ध बनाएको छ भने बुद्धमार्फत् ध्यान र योगको बौद्ध दृष्टिकोण विश्वमा फैलियो । यसबाहेक विशेषगरी जनकपुर अर्थात मिथिला क्षेत्रमा पनि वैदिक युगमै योगको उल्लेख्य विकास भइसकेको थियो । राजा जनक र योगी याज्ञवल्क्यको सम्बन्धले पनि यो भूमिमा योगको प्रारम्भिक विकास भएका पुष्टि हुन्छ । पशुपतिनाथलाई योगीहरूको देवता आदियोगी शिव मानिन्छ । यसले पनि यहाँको साधना परम्पराले नेपाललाई निर्विकल्प योगको पवित्र भूमि भन्ने स्थापित गर्छ ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार