दमास्कस । इजरायलले बुधबार सिरियाको राजधानी दमास्कसमा ठुलो हवाई आक्रमण गरेको छ । यसको दृश्य लाइभ टेलिभिजन प्रसारणको क्रममा प्रत्यक्ष रूपमा क्यामेरामा कैद भएको छ। सिरियाली स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा कम्तीमा ३ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन्। इजरायली सेनाले सिरियाको रक्षा मन्त्रालयको भवनलाई लक्षित गर्दै आक्रमण गरेको पुष्टि गरेको छ ।
एक सिरियाली टेलिभिजन च्यानलको फुटेजमा एक महिला समाचारवाचक (एंकर) प्रत्यक्ष प्रसारणमा समाचार पढिरहेको देखिन्छ, त्यही बेला उनको पछाडि रहेको रक्षा मन्त्रालयको भवनमा हवाई हमला भएको थियो । भवन विस्फोटसँगै भत्किएको देखिएपछि एंकर डरले स्टुडियोबाट भागेकी थिइन्, र त्यो दृश्य पनि अन–एयर प्रसारणमा समावेश भयो । यस्तै, अर्को भिडियोमा रिपोर्टर रिपोर्टिङ गर्दै गर्दा ठ्याक्कै त्यही समयमा आक्रमण भएको देखिन्छ। यस्ता लाइभ फुटेजहरू अहिले सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेका छन् ।