लन्डन । एनआरएनए युके अध्यक्षमा राजेन्द्र पुडासैनी निर्वाचित भएका छन् । अध्यक्षका दुई प्रतिस्पर्धी गोविन्द खरेल र मनिष खत्रीलाई पराजित गर्दै पुडासैनीले संस्थाको नेतृत्व सम्हाल्ने जिम्मा पाएका हुन् । अध्यक्ष पदमा विजयी पुडासैनीले १ हजार ४८२ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धीहरू गोविन्द खरेलले ९७७ र मनिष खत्रीले ४९६ मत पाए ।
खुला उपाध्यक्षमा उज्ज्वल कार्कीले १ हजार ८८४ र डा रक्षा थापाले १ हजार ७२७ मत पाएर विजयी भए । शम्भु अर्याल र ज्ञानेन्द्र आलेले क्रमशः १ हजार १९६ र ९६१ मत पाएर उपविजेता बने । स्कटल्यान्डबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षमा रामप्रसाद कँडेल १ हजार ६०८ प्राप्त गर्दै विजयी बने । शशी कार्की १ हजार १७४ मतसहित उपविजेता बने । महासचिवमा विजयी दिवाकर पाण्डेले १ हजार ६६० मत पाए भने उपविजेता पुण्य रेग्मीले १ हजार २०१ मत पाए ।
खुला सचिवमा डिएन खराल १ हजार ८७९ र कृष्ण देवकोटा २ हजार ३०९ मतसहित विजयी बने भने भूपाल कार्की १ हजार ३५६ मतसहित उपविजेता बने । शनिबार सम्पन्न एनआरएनए युके निर्वाचनमा ३ हजार १२ मत खसेको थियो । खसेको यो मत जम्मा ३ हजार ५ सय १ मतदाताको ८६ दशमलव ०३ प्रतिशत हो ।
अढाई दशकदेखि बेलायतमा बस्दै आएका पुडासैनी नुवाकोटको साबिक जिलिङ गाउँपालिका २, हाल बेलकोटगडी नगरपालिका ८ का स्थायी बासिन्दा हुन् । विगत डेढ दशकदेखि उनी बेलायतको स्वास्थ्य सेवा अन्तर्गत कार्यरत छन् ।
उनी बेलायतको विभिन्न सामाजिक संघसंस्था जस्तै यती नेपाली एसोसिएसन युकेको दुईपटक महासचिव, प्रवासी नेपाली मञ्च बेलायतको अध्यक्ष लगायत विभिन्न संघसंस्थाको सल्लाहकार हुँदै एनआरएनए अन्तर्राष्ट्रिय कमिटीको २०२१–२३ मा सदस्य समेत थिए ।