काठमाडौं । साताको सेयर कारोबार हुने तेस्रो दिन मंगलबार सेयर बजार राताम्य भएर बन्द भएको छ । तीन दिनको ओरालो यात्रा पछि सोमबार केही बढेको बजार आज ४१.७८ अंकले घटेर २८३३.५७ विन्दुमा पुगेको हो । यो अघिल्लो दिनको भन्दा १.४५ प्रतिशतले कम हो ।
आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ६.५१ अंकले घटेर ४८८.६५ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ११ वटाको मूल्य घटेको छ भने २ वटाको मात्रै बढेको छ । आज सेयर बजारमा २०४ कम्पनीको सेयर मूल्य घटेको छ भने ४६ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ ।
आज परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन करिब ११ अर्बको कारोबार भएको बजारमा आज भने कारोबार रकम १० अर्ब भन्दा पनि तल झरेको छ । आज सेयर बजारमा ३२५ कम्पनीका २ करोड २२ लाख ७ हजार १४२ कित्ता सेयर १ लाख ३० हजार ९५३ पटक खरिद बिक्री हुँदा ९ अर्ब ३३ करोड ३९ लाख ८८ हजार ४८१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सेयर बजारमा २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एउटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।