
सुनसरी । जिल्लाको बराहक्षेत्र नगरपालिका–६ का अधिकांश किसान कोदोखेतीप्रति आकर्षित भएका छन् । यहाँका किसानले हाल धान र मकै लगाउने खेतबारीमा चारैतिर कोदो लगाएका छन् ।
स्थानीय अम्मरबहादुर विश्वकर्माले सात कठ्ठा जग्गामा बर्सेनि कोदो रोप्ने गरेको बताए । अरु कृषिबालीको तुलनामा कोदोखेती लगाउन सहज र उत्पादन पनि राम्रो हुने भएको आफू यसतर्फ आकर्षित भएको उनको भनाइ छ । ‘विगत १७ वर्षदेखि कोदोखेती गर्दै आएको थिए । पछिल्लो समय यसैबाट घर खर्च पुग्ने गरी यही खेती गरिरहेको छु । व्यावसायिक रूपमा उत्पादन सुरु गरेपछि सन्तोषजनक आम्दानी भइरहेको छ’, विश्वकर्माले भने । उनले कोदोको बहुउपयोगिताका कारण पनि किसानहरू यसतर्फ आकर्षित भइरहेको सुनाए ।
विश्वकर्माका अनुसार कोदोबाट कतिपय किसानले घरेलु मदिरा, तोङ्बा बनाएर बिक्री गरेर लाखौँ आम्दानी गरिरहेका र त्यो नगर्नेहरूले पनि पारिवारिक उपभोग तथा बिक्री गरेर राम्रो आम्दानी गरिरहेका छन् । अर्का किसान शान्ता घिमिरेले पनि मकै र धान खेतीमा जोड दिन छोडेर आफू पनि कोदो खेतीमा लागेको सुनाइन् । ‘धान र मकैमा जत्ति दुःख गरिन्छ, त्यसअनुसार उत्पादन हुँदैन । रोग, किरा लागेर कहिलेकाही मेहनत त्यसै खेर जान्छ तर कोदोमा खासै त्यस्तो हुँदैन । पछिल्लो समय रोग लागेको छैन, उत्पादन राम्रो भएको छ । त्यसैले आम्दानी राम्रै हुने गरेको छ । एक कठ्ठा जग्गामा एक सय २० किलोग्रामभन्दा बढी उत्पादन हुने गरेको छ । बिक्रीका लागि समस्या पनि हुँदैन । स्थानीय बजारलगायत इनरुवा, इटहरी, धरानमा बिक्रीका लागि पठाउने गरेकी छु,’ उनले भनिन् ।
किसान नारायण विक पनि १६ कठ्ठा जग्गामा कोदोखेती गर्दै आएका छन् । उनले मकै, धानलगायत खेती लगाउन छोडेर यस खेतीतर्फ लागेको पाँच वर्षभन्दा बढी भयो । ‘कोदोखेती गरेर पछुताउनुपरेको छैन । राम्रो आम्दानी भइरहेको छ । कोदो बिक्री गर्नाका साथै घरेलु मदिरा, तोङ्बा बनाएर बिक्री गर्दै आएको छु’, विश्वकर्माले भने, ‘कोदो बिक्रीका लागि इनरुवा, इटहरी, धरान जाने गरेको छु । प्रतिकेजी रु ७० देखि एक सयमा बिक्री हुन्छ । तोङ्बा बनाएर रु एक सय ५० मा एक तोङ्बा बिक्री हुन्छ भने कोदोको रक्सी एक बोतलको रु दुई सयमा घरैबाट बिक्री हुन्छ । त्यसैले कोदो उत्पादन गर्न सक्यो भने राम्रो आम्दानी हुन्छ ।’
उनले कोदोखेती गर्ने किसानलाई स्थानीय तथा प्रदेश सरकारले आर्थिक अनुदान र प्रोत्साहन गर्नसके थप सहज हुने बताए । कम्तीमा बीउ मात्रै उपलब्ध गराए पनि किसानलाई सहयोग पुग्ने विश्वकर्माको भनाइ छ । हाल बराहक्षेत्र–६ मा मात्र १५ परिवारभन्दा बढी कोदोखेती गर्ने किसान रहेका छन् । स्थानीय अर्जुन विष्टले कोदोखेतीतर्फ राम्रो प्रगति भएको सुनाए । सुनसरीमा हाल चार सय ५८ हेक्टर क्षेत्रफलमा कोदोखेती हुदै आएको जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकृत प्रविनलाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार पछिल्लो समय कोदोखेती गर्नेको संख्या समग्रमा घट्नै गएको र त्यसले मूल्य वृद्धि हुँदा हाल यसमा लागेका किसानले राम्रो आम्दानी गरेको छ । ‘कोदोमा धुसिजन्य रोग लागेन भने सुनसरीमा कोदोको उत्पादन राम्रो हुने गरेको छ । पछिल्लो समय कोदोबाट विशेष गरी घरेलु मदिरा, तोङ्बा र पिठो बनाएर प्याकेजिङ गरेर बिक्री गर्ने गरेकाले राम्रो आम्दानी भइरहेको हो’, सूचना अधिकारी श्रेष्ठले भने ।
यहाँ धरान उपमहानगरपालिकाका वडा नं ४, ५, ६ र २० र बराहक्षेत्र नगरपालिकाका वडा नं १, ६ र ५ लगायतका ठाउँहरूमा बढी कोदोखेती हुने गरेको छ । कोदोमा प्रशस्त मात्रामा क्याल्सियम, म्याग्नेसियम, भिटामिन बी, टिप्टोफेन, एन्टिअक्सिडेन्टलगायतका थुप्रै तत्व पाइनाका साथै कोदोको पिठोको प्रयोगले मुटुसम्बन्धी रोग नियन्त्रणसँगै पेटलाई स्वास्थ्य बनाउने भएकाले यसलाई राम्रो बाली मानिन्छ ।













समाचार
सेबोनको नयाँ आईपीओ मापदण्डको प्रस्तावमा इप्पानको आपत्ति, जलविद्युतलाई छुट्टै व्यवस्था गर्न माग
जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा
प्रसारण लाइन निर्माणः प्रभावितलाई दश करोड ३३ लाख मुआब्जा
रोयल इन्फिल्डको ‘वान राइड’मा देशभरबाट १ हजार ५ सयभन्दा बढी सहभागी
भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि
रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति
प्रधानमन्त्री बालेन्द्र शाह यूएन महासभामा भाग लिन अमेरिका प्रस्थान, असोज ८ मा सम्बोधन गर्ने
“सीप र रोजगारी : साझा जिम्मेवारी” भन्ने मूल नाराका साथ रोजगार मेला, २०८३ हुँदै
नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान
सडक निर्माणको ठेक्का प्रक्रियामा मिलेमतो, ७३ लाख ६१ हजार बिगोसहित ८ जनाविरुद्ध मुद्दा