काठमाडौं । खेलको अन्तिम समयमा पुनरागमन गरेको पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले टोटनहमलाई टाइब्रेकर ४–३ ले हराउँदै युइएफए सुपर कप जितेको छ । स्पर्स खेलको ८४औँ मिनेटसम्म २–० ले अगाडि थियो । खेल सकिन केही सेकेन्ड मात्र बाँकी हुँदा जित नजिक पुगेको थियो ।
तर पिएसजीका वैकल्पिक खेलाडी गोंकालो रामोसले इन्ज्युरी समयको चौथो मिनेटमा हेडमार्फत बराबरी गोल गर्दै खेललाई पेनाल्टीमा पु¥याए । पेनाल्टीमा पिएसजीका भिटिन्हाले पहिलो प्रहार बाहिर हाने । तर टोटनहमका लागि पहिलो गोल गरेका मिकी भ्यान डे भेनको पेनाल्टी प्रयास पिएसजी गोलरक्षक लुकास शेभालिएरले रोकिदिए ।
टोटनहमा माथिस टेलले पनि सट बाहिर हाने । त्यसपछि नुनो मेन्डेसले दबाबको क्षणमा पेनाल्टीमा गोल गर्दै युरोपियन च्याम्पियन पिएसजीलाई जित दिलाए। टोटनह्यामले तीन महिनाभित्र दोस्रो युरोपियन उपाधि जित्ने मौका गुमायो । मे महिनामा युरोपा लिग फाइनलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले हराएर उपाधि जिताएपछि तत्कालीन प्रशिक्षक एन्ज पोस्टेकोग्लु १६ दिनमै बर्खास्त भएका थिए । त्यसपछि टोटनहम सम्हालेका थोमस फ्राङ्कको पहिलो प्रतिस्पर्धात्मक खेल हो ।
इटालीको उदिनमा भएको खेलको ३९ औं मिनेटमा भ्यान डे भेनको गोलमा टोटनहमले अग्रता लिएको थियो। उनले रोबाउन्डमा गोल गरेका थिए । गियानलुइजी डोनारुम्मालाई बाहिर राख्दै पहिलो रोजाइमा गोल पोस्ट सम्हालेका शेभालिएरले दोस्रो हाफको सुरुवात मै अर्को गोलको सामना गर्नुपरेको थियो। ४८ औं पेड्रो पोरोको फ्रि–किकपछि क्रिस्टियन रोमेरोको हेड मार्फत गोल गर्दै टोटनहमको अग्रता २–० बनाएका थिए ।
जुलाईमा अमेरिकामा भएको क्लब विश्वकपको फाइनलमा चेल्सीसँग पराजित भएको पिएसजी एक साता अघि मात्र प्रशिक्षणमा फर्केको थियो। त्यसका बाबजुद पनि पिएसजीले शानदार पुनरागमन गर्न सफल रहेको थियो। ८५ औं मिनेटमा पिएसजीका ली काङ–इनले २० यार्ड टाढाबाट उत्कृष्ट प्रहार गर्दै खेललाई रोमान्चक मोडमा पुर्याएका थिए। त्यसपछि रामोसले इन्ज्युरी समयमा नाटकीय गोल गर्दै खेललाई पेनाल्टीमा पु¥याएका थिए र टोली च्याम्पियन बनेको थियो।