काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम अवसर आज (भदौ १२ गते) रहेको छ। कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि भदौ १३ गते बुकक्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कारोबार भइ कायम रहेका शेयरधनीले मात्र सभामा सहभागी हुने र लाभांश प्राप्त गर्ने अधिकार पाउनेछन्।
सभाको मिति र प्रस्तावित लाभांश
कम्पनीले १७ औं वार्षिक साधारण सभा आगामी भदौ २५ गते, बुधबार, काठमाडौंस्थित आम्रपाली ब्याङ्क्वेटमा आह्वान गरेको छ। सभामा आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हालको चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६३२ प्रतिशत नगद लाभांश गरी कुल १२.६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ।
कम्पनीको हालको चुक्ता पुँजी रु. १ अर्ब ४१ करोड ५७ लाख रहेको छ। साधारणसभाले प्रस्ताव पारित गरेपछि बोनस र नगद लाभांश दुवै सेयरधनीमा वितरण गरिनेछ।