काठमाडौं । अस्ट्रेलियाले वर्षाले अवरुद्ध पहिलो एकदिवसीय खेलमा भारतलाई ७ विकेटले पराजित गरेको छ । योसँगै ३ खेलको सिरिजमा घरेलु टोलीले १–० को अग्रता समेत लिएको छ । लगातार चारपटक वर्षाका कारण रोकिएको खेल अन्ततः २६–२६ ओभरमा छोट्याइएको थियो ।
भारतले पहिले ब्याटिङ गर्दै २६ ओभरमा ९ विकेट गुमाउँदै १३६ रन बनायो । डकवर्थ–लुइस नियमअनुसार अस्ट्रेलियालाई १३१ रनको नयाँ लक्ष्य दिइएको थियो । जुन कप्तान मिचेल मार्शको सानदार प्रदर्शनमा २१.१ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । यो जितसँगै भारतको लगातार ८ एकदिवसीय जितको क्रम टुटेको छ । यस वर्ष भारतले पहिलोपटक एकदिवसीयमा हार बेहोर्नुपरेको हो । यो खेलमा भारत शुभमन गिलको कप्तानीमा खेलेको पहिलो एकदिवसीय थियो ।
लक्ष्यको पछ्याउनेक्रममा मार्शले ५२ बलमा २ चौका र ३ छक्कासहित नटआउट ४६ रन बनाए । उनले जोश फिलिपसँग मिलेर टोलीलाई सहज जिततर्फ डोर्याए । फिलिपले ३७ रन बनाएपछि वाशिंगटन सुन्दरको बलमा आउट भए । अन्ततः मार्श र म्याट रेनशले नटआउट रहँदै टोलीलाई जित दिलाए । रेनशले २१ रन बनाए । भारतका लागि अर्शदीप सिंह, अक्षर पट्टेल र वासिन्टन सुन्दरले १/१ विकेट लिए।
भारतका लागि यो खेलमा नितीशकुमार रेड्डीले एकदिवसीय डेब्यु गरे । अस्ट्रेलियाबाट रेनश र मिचेल ओवेनले पहिलो खेल खेले । चौथोपटक खेल सुरु हुँदा ओभर घटाइएर २६ ओभरमा सीमित गरियो। त्यसपछि केएल राहुलले केही आक्रामक ब्याटिङ गरे र स्कोर १०० पार गराए ।
तर, ठूलो सट खेल्ने क्रममा उनी आउट भए । अन्त्यतिर डेब्यु खेलिरहेका नितीशले केही आकर्षक शर्ट खेले र टोलीलाई सम्मानजनक स्कोरमा पु¥याए । उनले ११ बलमा दुई छक्कासहित नटआउट १९ रन बनाए। अस्ट्रेलियाका लागि म्याथ्यु कुह्नेम्यान, मिचेल ओवेन र जोश हेजलवुडले २/२ विकेट लिए । मिचेल स्टार्क र नाथन एलिसले १/१ विकेट लिए।