काठमाडौं । ब्राड्ली बार्कोलाको गोलमा पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले अक्सेर्रेलाई १–० ले हराउँदै लिग वानको शीर्ष स्थानमा फर्किएको छ । खेलको ७९औँ मिनेटमा उस्मान डेम्बेलेको पासमा बार्कोलाले गोल गर्दै पिएसजीलाई जित दिलाए । यो जितसँगै पिएसजी लेन्सलाई पछि पार्दै तालिकाको पहिलो स्थानमा पुगेको छ ।
पहिलो हाफमा पिएसजीले धेरै अवसर बनाएको थियो। तर अक्सेर्रेका गोलकिपर डोनोभान लियोनले उत्कृष्ट प्रदर्शन गर्दै बार्कोला, गोन्सालो रामोस र ख्विचा क्वारात्स्खेलियाका प्रयास रोके । दोस्रो हाफमा पनि पिएसजीले दबाब कायम राख्यो। केही अवसर खेर गए पनि अन्त्यतिर बार्कोला गोल गर्न सफल भए।