कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ स्थित धार्मिक तथा पर्यटकीय क्षेत्र मणिका धाम (मुडका)मा लाग्ने परम्परागत मेला (जाँत)को तयारी पूरा भएको छ ।
यही फागुन १३ र १४ गते आयोजना हुने मेलाका लागि मन्दिर परिसरमा सरसफाइ, सडक मर्मत तथा व्यवस्थापनका कार्य सम्पन्न गरिएको हो । वैजनाथ धार्मिक तथा पर्यटकीय विकास समितिका अनुसार मेला व्यवस्थित र सुरक्षित बनाउन पूर्वतयारीलाई तीव्रता दिइएको छ । मन्दिर परिसरभन्दा तल्लो क्षेत्रमा व्यापारिक प्रयोजनका लागि पसल राख्न मैदान सम्याउने, झाडी सरसफाइ गर्ने र आवश्यक संरचना मिलाउने कार्य सम्पन्न गरिएको समितिले जनाएको छ । दर्शनार्थीको सहज आवागमनका लागि सवारीसाधन पार्किङस्थल निर्धारण गरिएको छ ।
“मन्दिर परिसर र त्यस आसपास क्षेत्रलाई दर्शनार्थीका लागि छुट्याएका छौँ”, समितिका अध्यक्ष पुरन हमालले भने, “मेला क्षेत्रमा मदिरा पूर्ण रूपमा निषेध गरिएको छ ।” दर्शनार्थीका सवारीसाधन आवतजावत गर्ने सडक मर्मतको कार्य अगाडि बढाइएको अध्यक्ष हमालले जानकारी दिए । खानेपानीको पनि उचित प्रबन्ध गरिएको उनको भनाइ छ । शान्ति, सुरक्षालाई प्राथमिकतामा राख्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग समन्वय गरिएको जनाइएको छ । मेला अवधिभर अवाञ्छित गतिविधि हुन नदिन सुरक्षा व्यवस्था कडा पारिने उनले उल्लेख गरे ।
ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र महिलालाई मन्दिरमा दर्शनका लागि प्राथमिकता दिने निर्णय गरिएको समितिका कोषाध्यक्ष डम्बरबहादुर ऐरले बताए । हरेक वर्ष फागुन शुक्ल पक्षको नवमीको राति र दशमीको दिन दिउँसो मुडकामा मेला लाग्ने परम्परा छ । मेलाका अवसरमा स्थानीय सरकारले सार्वजनिक बिदा दिने गरेको छ । धार्मिक तथा पर्यटकीय दृष्टिले जिल्लाकै महत्त्वपूर्ण गन्तव्यका रूपमा मुडकालाई लिइन्छ ।
मुडकास्थित बैजनाथ बाबाको दर्शन गरेमा इच्छित फल प्राप्त हुने जनविश्वास रहिआएकाले मेलामा नेपाल र भारतका हजारौँ दर्शनार्थी सहभागी हुने गर्दछन् । यस अवसरमा व्यापारीको ठूलो जमघटसमेत हुने गर्दछ । मुडका क्षेत्रमा सिद्धबाबाको प्राचीन मन्दिर तथा मन्दिर नजिकै तलाउ छ । मन्दिर परिसर नजिकै हाल रु दुई करोड बढीको लागतमा आधुनिक शैलीको भजनघर निर्माण गरिएको छ । पहिलोपटक मन्दिर क्षेत्रमा विद्युत् सेवा विस्तार गरिएको छ ।
पूर्वपश्चिम राजमार्गबाट झण्डै ११ किलोमिटर उत्तर चुरेको फेदीमा अवस्थित यो क्षेत्र प्राचीनकालदेखि नै पहाडी क्षेत्रबाट चौपायासहित हिउँदमा बसाइँ सर्नेहरूको आश्रयस्थलका रूपमा परिचित रहेको स्थानीय बासिन्दा बताउँछन् ।