
काठमाडौं । गुल्मीको रेसुङ्गा विमानस्थलमा अबदेखि सातामा तीनपटकमात्र हवाई उडान गरिने भएको छ । नेपाल वायु सेवा निगमले यसअघि गुल्मीमा बिहीबार हुँदै आएको हवाई उडानको तालिकामा परिवर्तन गरेको हो ।
नेपाल वायु निगमले यसअघि आइतबार, मङ्गलबार, बिहीबार र शनिबार गरी सातामा चारपटक उडान गर्दै आएको थियो । उडान तालिकामा परिवर्तन गरेसँगै अबदेखि आइतबार, मङ्गलबार र शनिबार गरी सातामा तीन पटकमात्र उडान हुने भएको रेसुङ्गा विमानस्थल गुल्मीका स्टेसन प्रमुख सुमन थापाले जानकारी दिए।
नेपाल वायुसेवा निगमका हाल तीन मात्र ट्वीनअटर जहाज रहेको र उक्त जहाज समय–समयमा मर्मत गर्नुपर्ने भएका कारण जहाजको अभावमा केही समयका लागि निगमले यसअघिको नियमित तालिकामा परिवर्तन गरेको उनले बताए। वर्षात्को समय, खराब मौसम र बाक्लो हुस्सुका कारणबाहेक पछिल्लो तीन महिना रेसुङ्गा विमानस्थलमा नियमित रूपमा हवाई उडान हुँदै आइरहेको छ ।
रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमले १८ सिट क्षमताको ट्वीनअटर जहाजबाट काठमाडौँदेखि बिहान ६ः३० बजे र रेसुङ्गा विमानस्थलदेखि बिहान ७ः३० बजे उडान गर्दै आइरहेको छ । निगमले काठमाडौँबाट गुल्मीका लागि सात हजार ५०० र गुल्मीदेखि काठमाडौँका लागि सात हजार ३०० रुपैयाँ भाडादर निर्धारण गरेको छ । रेसुङ्गा विमानस्थलमा दिउँसोको समयमा अत्यधिक हावाको चाप हुने भएकाले प्राविधिक दृष्टिकोणले बिहानको समयमा मात्र उडान हुने गर्दछ ।
जिल्लामा हवाई उडान सुरु भएसँगै जिल्लामा आउने आन्तरिक एवं बाह्य पर्यटकहरूको सङ्ख्यामा समेत वृद्धि हुँदै गएको छ । अठार घण्टा लामो यात्रा गरेर राजधानी पुग्नुपर्ने बाध्यता रहेको यस क्षेत्रका नागरिकले आकाशमार्गबाट ४५ मिनेटमै सहज रूपमा गुल्मीबाट राजधानी आवतजावत गर्न सहज बनेको छ ।
जिल्लामा हवाई सेवा लिने नागरिकको चाप पछिल्लो समयमा बढ्दै गएको छ । तर यात्रुहरूको चाप बढे पनि उडान सङ्ख्या थोरै हुने र उडान तालिकामा परिवर्तन भइरहने भएका कारण यस क्षेत्रका नागरिक समस्यामा परेका छन् । जिल्लामा नेपाल वायुसेवा निगमले २०८० वैशाख २९ गतेदेखि व्यावसायिक हवाई उडान सेवा सुरुआत गरेको थियो ।













समाचार
कमजोर बन्दै कृषि विकास बैंक, नाफासँगै वितरणयोग्य मुनाफामा पनि गिरावट
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
देशभर मनसुन सक्रिय, कस्तो रहला आजको मौसम ?
बाँकेमा पर्खाल भत्केर दुई कामदारको मृत्यु
बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी विमानस्थलबाट पक्राउ
अर्थमन्त्री र राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच छलफल, वित्तीय संकटबाट नागरिक र निजी क्षेत्रलाई उकास्न अर्थमन्त्रीको पहल
स्टक ब्रोकर एसोसिएसनको आगामी निर्वाचनमा अध्यक्षका लागि कृष्ण गिरीकाे उम्मेदवारी घाेषणा
नाट्टा निर्वाचनका लागि भरत जंग पाण्डेको नेतृत्वमा प्यानल घोषणा
बिनाकागजात वैदेशिक रोजगारीमा गएकाहरूको उद्धार गर्दै मन्त्रालय
‘फ्री भिसा–फ्री टिकट’ नीति कागजमै सीमित व्यवहारमा कार्यान्वयन हुन सकेन : श्रममन्त्री यादव