काठमाडौं । इरानी ड्रोन खसाउन अमेरिकी रक्षा मन्त्रालयले युक्रेनसँग सस्तो हतियार खरिद गर्ने प्रयास थालेका छन्। युक्रेनले निकै सस्तोमा साहिद डड्रोन खसाउने इन्टरसेप्टर बनाइरहेको छ।
तर, अमेरिका र खाडी मुलुकहरूले अहिले इरानको साहिद ड्रोनको आक्रमण रोक्न अमेरिकामा निर्मित महँगो प्याट्रियट क्षेप्यास्त्र प्रणाली प्रयोग गरिरहेका छन्। त्यसैले उनीहरूको सो हतियार भण्डार रित्तिँदै गइरहेको छ। जसकारण खाडी मुलुक पनि सस्तो विकल्पको खोजीमा छन्।साहिद ड्रोनको मूल्य प्रतिगोटा ३० हजार डलर पर्न जान्छ। तर, त्यसलाई रोक्न प्रहार गरिेन प्याट्रियट क्षेप्यास्त्रको दाम १ करोड ३५ लाख डलर छ।
रुसले इरानी साहिद ड्रोनलाई मोडिफाइ गरेर युक्रेनमा आक्रमण गर्दै आएको छ। त्यसलाई रोक्ने हतियार युक्रेनले केही हजार डलर प्रतिगोटामै तयार गरेको छ। साहिद ड्रोन प्रतिघण्टा १८५ किमिका दरले उड्छ। युक्रेनले बनाएको इन्टरसेप्टर भने २५० किमि प्रतिघण्टाका दरले उड्न सक्छ। युक्रेनमा यस्तो हतियार बनाउने कम्पनी नै एक दर्जन रहेको बताइन्छ।
त्यसैले अमेरिका र केही खाडी मुलुकले युक्रेनी हतियारमा चासो दिएका हुन्। ‘साहिद ड्रोनलाई एकदम सस्तोमा खसाउन सक्ने युक्रेनी इन्टरसेप्टरका लागि चासो बढेको छ,’ एक युक्रेनी अधिकारीको भनाइ फाइनान्सियल टाइम्सले उधृत गरेको छ। युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले मंगलबार कतारी राजा र यूएईका राष्ट्रपतिसँग् कुरा गरेको बताएका छन्।
उनले साहिद ड्रोन रोक्ने विज्ञता आफूहरूसँग सबैभन्दा बढी रहेको, तथापि त्यस्तो सहकार्य युक्रेनको प्रतिरक्षा क्षमता नघटाइकन मात्र गरिने बताएका छन्। विज्ञहरूका अनुसार इरानले दसौँ हजार साहिद ड्रोन बनाइसकेको छ। अमेरिका र इजरायलले आक्रमण गरेयता उसले सयौँ ड्रोन हमला गरिसकेको छ। जसले खाडी मुलुकहरूमा ठूलो क्षति पुगेको छ र आर्थिक गतिविधिमा धक्का लागेको छ।