भारतलाई तेस्रोपटक टी–२० विश्वकपको उपाधि, न्यूजिल्यान्ड पराजित

काठमाडौं । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलिएको आईसीसी टी–२० विश्वकपको फाइनलमा भारतले न्यूजिल्यान्डलाई हराउँदै च्याम्पियन बनेको छ । यससँगै भारत टी–२० विश्वकप तीन पटक जित्ने पहिलो देश बनेको छ । भारतले सन् २००७, २०२४ र अब २०२६ मा टी–२० विश्वकप जितेको हो ।

भारतले न्यूजिल्यान्डलाई जितका लागि २ सय ५६ रनको लक्ष्य दिएको थियो । तर न्यूजिल्यान्ड १९ ओभरमा १ सय ५९ रनमै अलआउट भयो । यसरी भारतले न्यूजिल्यान्डलाई ९६ रनले हराउँदै लगातार दोस्रो पटक टी–२० विश्वकप जित्ने टोली पनि बन्यो । फाइनलमा भारतका ब्याट्सम्यान र बलर दुवैले उत्कृष्ट प्रदर्शन गरे । जसप्रीत बुमराहले चार ओभरमा मात्र १५ रन दिँदै चार विकेट लिए । त्यस्तै अक्षर पटेलले तीन ओभरमा २७ रन दिँदै तीन विकेट लिएर भारतको जितमा महत्वपूर्ण भूमिका खेले । त्यसअघि सञ्जु सामसन, इशान किशन र अभिषेक शर्माको आक्रामक ब्याटिङका कारण भारतले २० ओभरमा २ सय ५५ रनको ठूलो स्कोर बनाएको थियो ।

जसप्रीत बुमराहलाई उत्कृष्ट प्रदर्शनका लागि ‘प्लेयर अफ द म्याच’ घोषित गरियो । लगातार तीन अर्धशतक बनाएका सञ्जु सामसन ‘प्लेयर अफ द टूर्नामेन्ट’ बने । २ सय ५६ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएका न्यूजिल्यान्डका ओपनर टिम सिफर्ट र फिन एलेन सुरुदेखि नै दबाबमा देखिए । पहिलो ओभरमा अर्शदीप सिंहविरुद्ध न्यूजिल्यान्डले केवल ४ रन मात्र बनायो । दोस्रो ओभरमा भने हार्दिक पाण्ड्याको बलिङमा टिम सिफर्टले २१ रन बनाए । तर तेस्रो ओभरको चौथो बलमा अक्षर पटेलले फिन एलेनलाई आउट गर्दै भारतलाई पहिलो सफलता दिलाए ।

चौथो ओभरको पहिलो बलमा जसप्रीत बुमराहले रचिन रविन्द्रलाई आउट गरे। पावरप्लेमा न्यूजिल्यान्डले ५२ रन बनाउँदा ३ विकेट गुमायो । टिम सिफर्टले २३ बलमा अर्धशतक बनाए पनि नवौँ ओभरमा वरुण चक्रवर्तीले उनलाई आउट गरे । त्यसबेला न्यूजिल्यान्ड ७२ रनमै ५ विकेट गुमाइसकेको थियो । पछि कप्तान मिचेल स्यान्टनर र ड्यारिल मिचेलले साझेदारी गर्दै इनिङ्स अघि बढाए । तर १३औँ ओभरमा अक्षर पटेलले ड्यारिल मिचेललाई आउट गर्दै यो साझेदारी तोडे ।

१६औँ ओभरमा जसप्रीत बुमराहले लगातार दुई बलमा जिमी निसम र म्याट हेनरीलाई आउट गरे । त्यसपछि १८औँ ओभरमा उनले मिचेल स्यान्टनरलाई बोल्ड गरे । अन्ततः १९औँ ओभरको अन्तिम बलमा अभिषेक शर्माले जेकब डफीलाई बोल्ड गर्दै न्यूजिल्यान्डलाई १ सय ५९ रनमै समेटे । यो इनिङ्समा न्यूजिल्यान्डका फिन एलेन (९ रन), रचिन रविन्द्र (१ रन) र ग्लेन फिलिप्स (५ रन) जोड्दै चाँडै आउट भए । सुरुआती विकेट छिट्टै गुमाए पनि ओपनर टिम सिफर्टले एक छेउ सम्हालेर खेले। उनले २६ बलमा ५२ रनको अर्धशतकीय पारी खेले । उनका अलावा कप्तान मिचेल स्यान्टनरले ४३ रन बनाए । तर पनि उनीहरूले टोलीको हार टार्न सकेनन् । अन्ततः न्यूजिल्यान्ड १९ ओभरमा १ सय ५९ रनमै अलआउट भयो ।

भारतका लागि ओपनिङ सञ्जु सामसन र अभिषेक शर्माले गरे । चार ओभरमै भारतले बिना विकेट गुमाएर ५० रन पार गर्‍यो । अभिषेक शर्माले १८ बलमा अर्धशतक बनाए । पावरप्लेमा भारतले ९२ रन बनायो, जुन टी–२० विश्वकप इतिहासकै सबैभन्दा ठूलो पावरप्ले स्कोर हो । पछि रचिन रविन्द्रले अभिषेकलाई आउट गरे । उनले २१ बलमा ५२ रन बनाए । त्यसपछि इशान किशन र सञ्जु स्यामसनले रनको गति कायम राखे । सञ्जुले ३३ बलमा अर्धशतक पूरा गरे र लगातार तेस्रो फिफ्टी बनाए । १४औँ ओभरमा उनले रचिन रविन्द्रविरुद्ध लगातार तीन छक्का प्रहार गरे ।

इशान किशनले २३ बलमा अर्धशतक पूरा गरे । दोस्रो विकेटका लागि ४५ बलमा १०० रनको साझेदारी भयो । १५ ओभरमै भारतको स्कोर २०० रन पार गरिसकेको थियो । १६औँ ओभरमा जिमी निसमले तीन विकेट लिएर न्यूजिल्यान्डलाई खेलमा फर्काउने प्रयास गरे । उनले सञ्जु सामसन (८९), इशान किशन (५४) र कप्तान सूर्यकुमार यादवलाई आउट गरे। हार्दिक पाण्ड्या पनि १३ बलमा १८ रन बनाएर आउट भए । तर अन्तिम ओभरमा शिवम दुबेले जिमी निसमविरुद्ध २४ रन बनाए र भारतको स्कोर २ सय ५५ रन पुर्‍याए । उनी ८ बलमा २६ रन बनाएर नटआउट रहे ।

भारतीय टोलीले पछिल्ला २० महिनामा तेस्रो आईसीसी उपाधि जितेको हो । जुन २०२४ मा भारत टी–२० विश्वकप च्याम्पियन बन्यो, मार्च २०२५ मा आईसीसी च्याम्पियन्स ट्रफी जित्यो र अब २०२६ मा फेरि टी–२० विश्वकप पनि आफ्नो नाममा गर्‍यो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार