सेयर संरचना परिवर्तन गर्दै विजय लघुवित्त

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सेयर स्वामित्व संरचनामा परिवर्तन गर्ने प्रक्रिया अघि बढाएको छ । संस्थाले हाल कायम रहेको संस्थापक समूहको ७० प्रतिशत र सर्वसाधारण समूहको ३० प्रतिशत सेयर अनुपातलाई संशोधन गर्दै संस्थापकतर्फको केही सेयर सर्वसाधारणतर्फ रूपान्तरण गर्ने निर्णय गरेको हो ।

कम्पनीका अनुसार साविक विजय लघुवित्त वित्तीय संस्था लिमिटेड र नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड एकआपसमा गाभिएपछि बनेको विजय लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर संरचना परिवर्तन गर्न लागेको हो । यसअन्तर्गत साविक विजय लघुवित्ततर्फका संस्थापक सेयरधनीहरूको नाममा कायम रहेको संस्थापक सेयरमध्ये एकीकृत संस्थाको कुल चुक्ता पुँजीको ९.२२ प्रतिशत बराबरको ७ लाख २९ हजार ६०० कित्ता सेयर सर्वसाधारण समूहमा परिवर्तन गरिने भएको छ । यो परिवर्तनपछि संस्थाको सेयर संरचनामा संस्थापकतर्फ ६०.७८ प्रतिशत र सर्वसाधारणतर्फ ३९.२२ प्रतिशत हिस्सा कायम हुनेछ ।

यो निर्णय सञ्चालक समितिको २०८२ माघ २३ गते बसेको ३७ औं बैठकले गरेको हो। उक्त निर्णय बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ११ को उपदफा ४, प्रचलित कानुन, नेपाल राष्ट्र बैंक बाट जारी निर्देशन तथा अन्य तोकिएका शर्तअनुसार गरिएको कम्पनीले बताएको छ । साथै यससम्बन्धी आवश्यक स्वीकृति नेपाल राष्ट्र बैंकबाट प्राप्त भइसकेको पनि बताएको छ ।कम्पनीले साविक विजय लघुवित्तका सम्पूर्ण संस्थापक सेयरधनीलाई आफूले धारण गरेको सेयर सर्वसाधारण समूहमा परिवर्तन गर्ने वा नगर्ने विषयमा स्पष्ट निर्णय दिन आग्रह पनि गरेको छ । यदि कुनै संस्थापक सेयरधनीले आफ्नो शेयर सर्वसाधारण समूहमा परिवर्तन गर्न नचाहेको भए अबको ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालयमा लिखित निवेदन दिनु पर्नेछ । साथै ईमेलमार्फत पनि निवेदन पठाउन सकिने व्यवस्था गरिएको जनाएको छ ।

कम्पनीले तोकिएको म्यादभित्र कुनै निवेदन प्राप्त नभएमा सम्बन्धित सेयरधनीले आफ्नो संस्थापक सेयर सर्वसाधारण समूहमा रूपान्तरण गर्न सहमति दिएको मानिने र त्यसअनुसार आवश्यक प्रक्रिया अघि बढाइने स्पष्ट पारेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार