काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले चैत ८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (चैत २३ गते) अन्तिम दिन रहेको छ ।
कम्पनीले आईपीओ निष्काशन अवधि २०८३ बैशाख ७ गतेसम्म थप गरेको भएपनि मागभन्दा बढी आवेदन परेका कारण निष्काशन बन्द गर्न लागेको बताएको छ । कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको ४० प्रतिशत अर्थात २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ७ करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ७ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो। सो सेयर खरिदका लागि सिन्धुपाल्चोक जिल्लाका जुगल गाउँपालिका वडा नं. १, २, ३, ४, ५, ६ र ७ का स्थानीय बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ। आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुले अधिकतममा ७ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीले सञ्चालन गरेको ७.२७ मेगावाटको याम्बालिङ्ग खोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत १ अर्ब ८७ करोड ११ लाख ५६ हजार ३१५ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २५ करोड ७३ लाख ८० हजार ५११ रुपैयाँ रहेको छ। सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र २५ वर्ष ६ महिना बाँकी रहेको छ। यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि १०.७६ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १९.८७ वर्ष रहेको छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले सिन्धु विकास बैंक र कुमारी बैंकको जुगल गाउँपालिका शाखा र सिन्धु विकास बैंकको चौतारा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, स्थानियबासीहरुले ऐच्छिक रुपमा आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद दरखास्त फाराम प्राप्त गर्नका लागि २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ ।