काठमाडौं । इन्टरनेट सेवालाई थप सहज, छिटो र अवरोधरहित बनाउन सिंहदरबार क्षेत्रको इन्टरनेट पूर्वाधारसम्बन्धी निकाय एकीकृत ‘डाटा’ व्यवस्थापन केन्द्रलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले निर्देशन दिएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले केन्द्रका प्रमुख प्रमुख मनिष भट्टराईसँगको छलफलमा सिंहदरबार र आसपासका सरकारी निकायमा सूचना प्रविधि पूर्वाधारलाई थप सुदृढ र प्रभावकारी बनाउन निर्देशन दिए ।
आज मन्त्रालयमा भएको छलफलका क्रममा सञ्चारमन्त्री तिमिल्सिनाले सिंहदरबारभित्रका सम्पूर्ण निकायमा गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्नुपर्नेमा जोड दिए । इन्टरनेट सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नहुने स्पष्ट पार्दै उनले सेवा प्रदायक र सम्बन्धित निकायहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिए । सेवामा अवरोध आउन सक्ने सम्भावित कारणहरूको पहिचान गरी त्यसलाई समयमै समाधान गर्नुपर्ने उनको भनाइ थियो ।
डिजिटल सेवाको गुणस्तर सुधार नगरी प्रभावकारी प्रशासन सम्भव नहुने उल्लेख गर्दै उनले प्रविधिमा आधारित सेवा प्रवाहलाई सरकारको प्राथमिकतामा राखिएको जानकारी दिए । प्राविधिक तथा मानवीय त्रुटिका कारण पनि समस्या उत्पन्न हुनसक्ने भएकाले दक्ष जनशक्ति व्यवस्थापनमा उनले जोड दिए । नेपाल टेलिकमबाट दक्ष प्राविधिकसहितको टोली परिचालन गरी सम्भावित समस्या तत्काल समाधान गर्ने व्यवस्था मिलाउन उनले निर्देशन दिए ।
एकीकृत डाटा व्यवस्थापन केन्द्रका कार्यालय प्रमुख भट्टराईले सिंहदरबारभित्र इन्टरनेट सेवासम्बन्धी विद्यमान अवस्थाबारे जानकारी गराएका थिए । उनका अनुसार हाल केही कार्यालयमा इन्टरनेट सुस्त हुने तथा कहिलेकाहीँ सम्पर्क टुट्ने समस्या देखिएको छ ।
सिंहदरबारभित्र नेपाल टेलिकममार्फत १ जीबीपीएस क्षमताको ब्रोडब्यान्ड सेवा सञ्चालनमा रहेको छ भने ‘जी–क्लाउड’ सञ्चालनका लागि २५० एमबीपीएस क्षमताको अतिरिक्त ब्रोडब्यान्ड प्रयोग भइरहेको छ । इन्टरनेट सेवामा देखिने समस्या प्रायः अप्टिकल फाइबरमा हुने अवरोधका कारण उत्पन्न हुने गरेको भट्टराईले बताए । विशेषगरी सडक तथा अन्य पूर्वाधार निर्माणका क्रममा फाइबर काटिने वा क्षति पुग्ने समस्या देखिने गरेको उनको भनाइ थियो ।
सिंहदरबार परिसरमा बाह्य इन्टरनेट जडानको व्यवस्थापन केन्द्रको जिम्मामा रहे पनि कार्यालयभित्रको आन्तरिक सर्भर र नेटवर्क व्यवस्थापन सम्बन्धित निकायकै जिम्मेवारी हुने हुँदा प्रत्येक मन्त्रालय र निकायमा सूचना प्रविधिसँग सम्बन्धित दक्ष जनशक्ति खटाइनुपर्ने आवश्यकता पनि उनले औंल्याए ।